शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

मानिसलाई सुत्ने समय कति ? केहीलाई चारघण्टा काफी !

मानिसलाई सुत्ने समय कति ? केहीलाई चारघण्टा काफी !

करिब ६ लाख ५० हजार वयस्कको तथ्यांक विश्लेषण गरिएको एक अनुसन्धानमा निद्राको अवधिसँग सम्बन्धित २४४ आनुवंशिक स्थान पहिचान गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८३, शुक्रबार

सामान्यतया स्वस्थ वयस्कलाई दैनिक सातदेखि नौ घण्टासम्म निद्रा आवश्यक पर्ने मानिन्छ । तर, केही मानिस भने राति चारदेखि पाँच घण्टा मात्रै सुतेर पनि दिनभर सक्रिय रहन सक्छन् । उनीहरूलाई न थकान महसुस हुन्छ, न थप आरामको आवश्यकता नै पर्छ ।

यस्तो हुनुको कारण के हो भन्ने प्रश्न लामो समयदेखि वैज्ञानिक अनुसन्धानको विषय बन्दै आएको छ । पछिल्ला अनुसन्धानले भने यसको सम्बन्ध मानिसको आनुवंशिक संरचना अर्थात जीनसँग रहेको देखाएका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोकी इम्युनोलोजी प्राध्यापक एमी प्यु बर्नार्ड यसको एउटा उदाहरण हुन् । उनी सामान्यतया राति १० बजे सुत्छिन् र बिहान साढे चार बजे उठ्छिन् । कहिलेकाहीँ पाँच घण्टा मात्रै सुतेर पनि उनी बिहान उठेपछि थकित नभई नियमित काममा सक्रिय हुन्छिन् ।

बिहान उठेर कुकुरलाई डुलाउने, जिममा एक घण्टा व्यायाम गर्ने र आठ बजेअघि नै डेढ घण्टा काम सक्ने उनको दिनचर्या छ । उनको परिवारमा बुबा र भाइ पनि कम सुत्ने भएकाले यो स्वाभाविक पारिवारिक विशेषता हुन सक्ने अनुमान गरिएको थियो ।

सन् २०१९ मा गरिएको अनुसन्धानले उनको कम निद्राको कारण पत्ता लगायो। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका अनुसन्धानकर्ताले निद्राको अवधि छोटो बनाउने आनुवंशिक परिवर्तन पहिचान गरेका थिए । बर्नार्डले पनि आफ्नो रगतको नमुना परीक्षणका लागि पठाउँदा उनमा त्यही आनुवंशिक परिवर्तन रहेको पुष्टि भयो ।

वैज्ञानिकहरूले पुस्तौँदेखि परिवारमा देखिन सक्ने यस्तो अवस्थालाई “फ्यामिलियल नेचुरल शर्ट स्लीप” (एफएनएसएस) नाम दिएका छन् । यो अवस्था भएका मानिसलाई सामान्य व्यक्तिको तुलनामा स्वाभाविक रूपमा कम निद्रा आवश्यक पर्छ । उनीहरू प्रायः राति चारदेखि साढे छ घण्टासम्म मात्रै सुत्छन् ।

कम निद्राले पनि किन असर गर्दैन ?

एफएनएसएससँग सम्बन्धित आनुवंशिक परिवर्तन भएका मानिस कम सुत्दा पनि सामान्य रूपमा सक्रिय रहन सक्नुको कारण वैज्ञानिकहरूका लागि अझै अनुसन्धानको विषय छ । तर, प्रारम्भिक अध्ययनहरूले यी परिवर्तनले निद्राको आवश्यकता घटाउनुका साथै कम निद्राबाट हुने केही नकारात्मक असरबाट समेत जोगाउन सक्ने संकेत गरेका छन् ।

यससम्बन्धी अनुसन्धानको नेतृत्व गरेकी आणविक जीवविज्ञानी यिंग हुई फूका अनुसार, यस्ता मानिसमा स्मरणशक्तिमा कमी आउनेलगायत निद्राको अभावबाट देखिने समस्या कम हुन सक्ने प्रमाण भेटिएका छन् ।

सन् २०१९ मा फूको नेतृत्वमा मुसामाथि गरिएको प्रयोगमा एफएनएसएससँग सम्बन्धित आनुवंशिक परिवर्तन गरिएका मुसाले कम समय सुते पनि स्मरणशक्तिमा उल्लेखनीय नकारात्मक असर देखाएनन्। त्यस्तै, उनीहरूमा अल्जाइमरजस्तो रोगको सम्भावना पनि कम देखिएको थियो ।

सन् २०१४ मा गरिएको जुम्ल्याहा दाजुभाइमाथिको अर्को अध्ययनले पनि कम निद्रासँग सम्बन्धित जीनको प्रभाव देखाएको थियो । अध्ययनमा एक भाइको जीनमा कम निद्रासँग सम्बन्धित परिवर्तन थियो भने अर्को भाइमा थिएन ।

आनुवंशिक परिवर्तन भएको भाइ अर्कोको तुलनामा नियमित रूपमा करिब एक घण्टा कम सुत्थ्यो । दुवैलाई लगातार ३८ घण्टासम्म जागा राखेर परीक्षण गर्दा कम निद्रासँग सम्बन्धित आनुवंशिक परिवर्तन भएको भाइले अर्कोको तुलनामा करिब ४० प्रतिशत कम गल्ती गरेको पाइएको थियो ।

कम सुत्ने भाइको निद्रामा नन्– आरईएम (Non-REM) अर्थात गहिरो निद्राको अवधि पनि अर्को भाइको तुलनामा लगभग बराबर थियो । यसले कम समय सुतेर पनि केही मानिसले आवश्यक गहिरो निद्रा प्राप्त गर्न सक्ने सम्भावना देखाएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

निद्राको अवधिमा जीनको कति प्रभाव ?

वैज्ञानिकहरूका अनुसार मानिसको निद्राको अवधिमा ३० देखि ६५ प्रतिशतसम्मको भिन्नता आनुवंशिक कारणले हुन सक्छ । हालसम्म जीनका सयौँ स्थानमा हुने सामान्य परिवर्तनले निद्राको अवधिमा प्रभाव पार्ने पाइएको छ ।

करिब ६ लाख ५० हजार वयस्कको तथ्यांक विश्लेषण गरिएको एक अनुसन्धानमा निद्राको अवधिसँग सम्बन्धित २४४ आनुवंशिक स्थान पहिचान गरिएको छ । उक्त अनुसन्धानको निष्कर्ष प्रकाशनपूर्व प्रारम्भिक रूपमा सार्वजनिक गरिएको थियो ।

अनुसन्धानकी मुख्य लेखिका तथा किंग्स कलेज लन्डनकी आनुवंशिक अनुसन्धानकर्ता इसाबेल अस्टिन जिर्मरम्यानका अनुसार, यीमध्ये एउटा सामान्य आनुवंशिक परिवर्तनले निद्राको अवधिमा करिब एक मिनेटको मात्रै फरक पार्छ । तर यस्ता धेरै परिवर्तन एकसाथ हुँदा तिनको संयुक्त प्रभावले निद्राको अवधिमा करिब २० मिनेटसम्मको अन्तर ल्याउन सक्छ ।

तर कम निद्रासँग सम्बन्धित सबै आनुवंशिक परिवर्तनले मानिसलाई त्यसको नकारात्मक असरबाट जोगाउँछन् भन्ने छैन ।

अध्ययनहरूमा सामान्यतया कम निद्रासँग जोडिएका केही आनुवंशिक परिवर्तनको सम्बन्ध निद्रा नलाग्ने समस्या, थकान, एडीएचडी, डिप्रेसनका लक्षण र टाइप–२ मधुमेहसँग समेत देखिएको छ । यद्यपि, यी आनुवंशिक परिवर्तनले नै ती समस्या निम्त्याउँछन् भन्ने निष्कर्ष भने निकालिएको छैन ।

कम सुतेर ठीक महसुस हुँदैमा पर्याप्त निद्रा पुगेको हुँदैन

वैज्ञानिकहरूले कम निद्रा लिएर पनि आफूलाई ठीक महसुस गर्ने सबै मानिसलाई स्वाभाविक रूपमा कम निद्रा आवश्यक पर्ने समूहमा राख्न नहुने बताएका छन् ।

स्वस्थ वयस्कलाई प्रत्येक रात चार वा छ घण्टा मात्रै ओछ्यानमा बिताउन दिइएको एउटा अध्ययनमा समय बित्दै जाँदा उनीहरूको सोच्ने, बुझ्ने र काम गर्ने क्षमतामा गिरावट आएको थियो । तर दुई सातापछि पनि सहभागीहरूले आफूलाई निद्राको कमीले थोरै मात्र असर गरेको बताएका थिए ।

वाशिंगटन स्टेट युनिभर्सिटीको स्लीप एन्ड पर्फर्मेन्स रिसर्च सेन्टरका वैज्ञानिक हान्स भान डोङ्गेनका अनुसार, निद्रा कम हुँदा व्यक्तिको काम गर्ने क्षमता निरन्तर घट्न सक्छ । तर त्यससँगै आफ्नो क्षमतामा आएको गिरावट पहिचान गर्ने क्षमता पनि कमजोर हुँदै जान्छ ।

यसको अर्थ कम सुतेर आफूलाई ठीक महसुस गर्नु र वास्तवमै कम निद्राको असर नपर्नु फरक कुरा हुन् ।

भविष्यमा कम निद्रासम्बन्धी औषधि बन्न सक्ने सम्भावना

कम निद्रासँग सम्बन्धित आनुवंशिक परिवर्तनबारे भइरहेका अनुसन्धानले भविष्यमा निद्रासम्बन्धी रोगको उपचारका लागि नयाँ औषधि विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । औषधि निर्माण गर्ने कम्पनीहरूले पनि यी खोजको सम्भावित उपयोगबारे अध्ययन गरिरहेका छन् ।  सैनिकलगायत कम समय सुत्नुपर्ने अवस्थामा काम गर्ने व्यक्तिका लागि पनि यस्तो अनुसन्धान उपयोगी हुन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ ।

तर यसका लागि पहिले आनुवंशिक परिवर्तनले कसरी कम निद्राको असरबाट मानिसलाई जोगाउँछ भन्ने कुरा स्पष्ट हुन आवश्यक छ । अन्यथा निद्राको आवश्यकता घटाउने औषधिले दीर्घकालमा अल्जाइमर, पार्किन्सन्स वा क्यान्सरजस्ता स्वास्थ्य समस्याको जोखिम बढाउन सक्ने चिन्ता अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->