पोखरा/पोखरामा नेपाल र जापानबीचको सांस्कृतिक, शैक्षिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘नेपाल–जापान एक्सचेन्ज कन्सर्ट–२०२६’ हुने भएको छ ।
कास्की पोखरा समाज जापानको आयोजनामा हुने उक्त कार्यक्रममा जापानबाट आएका कलाकार र नेपाली कलाकारबीच सांगीतिक तथा सांस्कृतिक प्रस्तुति आदानप्रदान गरिनेछ । संगीत तथा संस्कृतिमार्फत नेपाल र जापानका नागरिकबीच आपसी सद्भाव, समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित पोखरा र जापानको कोमागाने नगर बिच भगिनीसम्बन्ध कायम भएको २५ वर्ष पुरा भएको सन्दर्भमा यो सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
मंसिर ४ गते दिउँसो पोखरामा सभागृहमा हुने कार्यक्रम पोखरा महानगरपालिका र विभिन्न संघ, संस्थाको सहयोग रहनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षमा पोखरामा क्रियाशील विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा तयारी बैठक भएको छ । बैठकमा नगर प्रमुख आचार्यले नेपाल र जापानबीचको सम्बन्ध केवल कूटनीतिक तहमा मात्र सीमित नभई नागरिकस्तरको आत्मीयता, संस्कृति, शिक्षा र आपसी सहयोगमा समेत आधारित रहेको उल्लेख गरे ।





