
बागलुङ/‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्दिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवशको शुरुवात गरिएको छ ।
साता व्यापी रुपमा कर दिवश मनाउने गरी कर सप्ताहका विभिन्न कार्यक्रम मंगलवार शुरु भएको हो । आन्तरिक राजश्व कार्यालयको आयोजनामा पहिलो दिन कर सम्बन्धी सचेतना मूलक नारा र सन्देश प्रवाह गर्दै प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कर तिर्ने सबै नागरिकको कर्तव्य भएको बताए । साथै उनले त्यसकालागि नागरिकलाई कर तिर्ने वातावरण भने राज्यले बनाउने भएकोले आर्कषक कार्यक्रम ल्याउने, प्रोत्साहित गर्ने, अलमलमा परेका नागरिकलाई करको दर, दायारा र अबसर बारे समयमा जानकारी दिने काम भने कार्यालय मार्फत सिकाउनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन शाक्यले कर कहरले नभइ रहरले तिर्ने वातावरण चाहिएको बताए । सबै उद्यमी, व्यवसायी र नागरिकहरुले कर तिर्न चाहेर पनि कतिपय प्रशासनिक समस्याले पछि परेको बताए । उनले जनता धनी बन्ने हो, तर राज्य भन्दा व्यक्ति धनी बन्ने अबस्था आउन नहुने भन्दै पर्याप्त कमाइ गर्ने अबसर राज्यले सिर्जना गर्नुपर्ने तर कमाइ अनुसारको कर तिर्ने अबसर पनि सिर्जना गर्नुपर्ने बताए । बागलुङ उद्योग बाणिज्य संघले सबैलाई कर तिर्न प्रोत्साहित गरेको बताए ।
कर दिवशको अबसरमा कार्यालयले प्रभातफेरी, जनचेतना अभियान, करदाता शिक्षा कार्यक्रम, बजार अनुगमन, करको दायरा फराकिलो बनाउने अभियान पनि संचालन गर्ने भएको छ । कार्यक्षेत्र रहेको बागलुङ सहित पर्वत, म्याग्दी र मुस्ताङ सम्म पुगेर करदातालाई शिक्षा दिने, उनीहरुको कारोवार, व्यवसाय समेतलाई करको दायरामा ल्याउन पहल गर्ने काम गरिरहेको प्रमुख कर अधिकृत कपिल सिलवालले बताए ।
कार्यालयको तथ्यांक अनुसार चार जिल्लामा ७० हजार ३ सय ११ जनाले व्यक्तिगत पाना नम्बर लिएका छन् । व्यवसायिक पान नम्बर बनाउनेहरु ३१ हजार ८ सय १५ छन् भने मूल्य अभिवृद्दि करमा २ हजार ४ सय १५, अन्तशुल्क प्रमाणपत्र लिने २ हजार १ सय २६ र भुक्तानीको श्रोतमा कर कट्टी मात्र गर्ने पाना नम्बर लिनेहरु १ हजार ४ सय ३२ जना छन् । दिवशको अभियानमा पनि करदाता बढाउने लक्ष्य राखिएको छ । कर तिर्न चाहेर पनि दायरामा नआएकाहरुलाई यो अभियानमा ल्याउने समेतको योजना रहेको सिलवालले जानकारी दिए ।
कर दिवशको अबसरमा उद्योगी व्यवसायी, निजामती कर्मचारी र सरोकारवालाहरुको सहभागिता थियो । बजार परिक्रमा गरेको प्रभातफेरी बागलुङ बजारको समीक्षालय स्थित पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।





