बागलुङ/दुई सय ५० हाराहारीमा गुजुमुज्ज घर भएको गाउँ । सबै घर ढुंगाले छाएका छन् । बाटो पनि ढुंगा छापेर चिटिक्क पारिएको छ । बाटोको दुवैतर्फ नानाथरी फूूलले रंगीचंगी देखिन्छ । पैदल यात्रा गर्दा विरल आनन्द दिने यो पर्वतको मोदी गाउँपालिका वडा नंं ४ को लेसपार गाउँ हो ।
आगन्तुकको मन हर्ने सौन्दर्य भएको यो गाउँ घुम्नपर्यटक नजाने कुरै भएन । पोखरा बागलुङ सडकको पातीचौरबाट पदमार्ग हुँदै र जिप चढेर पनि लेसपार पुग्न सकिन्छ । अर्गानिक खाना, होमस्टेको बसाइर छिटिक्कको गाउँ हेर्न आन्तरिक पर्यटक पुग्छन् भने अर्गानिक खानाकै कारण विदेशी पनि यहाँ पुग्ने गरेका छन् ।
पर्यटकीय क्षेत्रकारुपमा चिनिएको घोरेपानी पुग्ने पर्यटकले पनि लेसपारलाई बास बस्ने मुकाम बनाउन थालेका छन् । लेसपारदेखि पैदल यहाँ बास बस्न आउने विदेशीका कारण पनि यहाँ रौनक थपिएको छ। घोरेपानी पुगेका केही पर्यटक बेनी र बागलुङ बजारसम्म आइपुग्छन् भने धेरैले पदमार्ग हुँदै लेसपार जाने विकल्प रोज्छन् ।
गर्मी याममाघोरेपानीबाट पुनहिल जाने पर्यटकलेचिसो बढेपछि गाउँरोजेको स्थानीय डिलबहादुर पुनले सुनाए । घोरेपानी पुगेका धेरैजसो पर्यटकपर्वतको फलामेडाँडा, शालीजा, हम्पाल र लेसपार हुँदै पातीचौर झर्न रुचाउँछन् । आर्कषक पदमार्ग, बस्तीमा अर्गानिक खाना र स्वागत पाउने भएपछि पाहुनाले गाउँको बाटो छानेका हुन् ।
रैथाने खानाकालागि लेसपार गाउँको बसाइ रोजेको पर्यटकहरु सुनाउँछन् । आन्तरिक पर्यटक त ती गाउँमा लोकगीत गाएर नाच्न पाउने आसले समेत पुग्ने गरेका छन् । ती गाउँमा बास बस्ने, अर्गानिक खाना खाने र पैदल हिडेर रमाउने गर्दै पातीचौरसम्मको पदयात्रा गर्न सहज पदमार्ग बनेको छ ।
केही भने लेसपार गाउँको फेदीबाट गाडी चढेर फर्कन्छन् ।सडक बनिरहेको भएपनि पातीचौरदेखि जिप चढेर एक घन्टामा यहाँ पुगिन्छ ।स्थानीय ज्ञानमाया पुनले पर्यटकलाई अर्गानिक खाना खुवाउने गरेको बताइन् । आन्तरिक पर्यटकहरु फोन गरेर आउने गरेको र अधिकांशले अर्गानिक खान रुचाउने उनको भनाइ छ ।
२ हजार २ सय मिटरमा रहेको लेसपार हेर्दा पनि आर्कषक छ । सरसफाइकायम राख्न टोलटोलमा फोहोर संकलन गरिन्छ । घरहरु एकै रंगका छन् । हरेक घर तरकारी र धान बाहेकका अन्य अन्नमा आत्मनिर्भर छ । यहाँ जंगफुड निषेध जस्तै छ । पाहुनालाई कोदो, फापर, मकैको ढिँडो लगायतका परिकार, साग, लोकल कुखुरा, सिलमको चटनीखुवाउने गरिन्छ ।
स्थानीय सिमी र भटमास यो गाउँका पहिचान हुन् ।स्थानीयले लोकगीत, संगीतले पनि पर्यटक आर्कषक गर्छन् । सिसामा राखिएका मदिरा समेत बिक्री गरिंदैन ।सिंढी मार्गबाटै यो गाउँदेखि हलजुरे डाँडा र हम्पालसम्म पुग्ने पदमार्ग बनाइएको छ ।
स्थानीयले सामूहिक र व्यक्तिगत लगानीमा बाटो, ठाउँठाउँमा चौतारा बनाएका छन् । बाटोमा पानीका धारा र पानी पिउन गिलास र कपसमेत राखिएका छन् ।
डेढ घण्टाको उकालो चढेर २ हजार ५ सय मिटरको हल्जुरे पुगिन्छ भने तीन घण्टाको उकालोमा ३ हजार मिटरभन्दा अग्लो हम्पाल जान सकिन्छ । हम्पाल धार्मिक रुपमा प्रसिद्ध पहाड हो । जडिबुटीकालागि पनि पहाड नामी छ ।
उद्यमीहरूले अल्लो संकलन गरी धागो निकाल्ने र कपडा बुन्नेसमेत गरेका छन् । घुम्न आउनेहरुले यहाँका उद्यमीको सीपसमेत नियाल्न पाउँछन् ।पर्यटकले गाउँ पुगेर सिमी, टिमुर, सिलम लगायतका किनेर लैजान्छन् । उत्पादन खरिद गरेर लैजान्छन् ।स्थानीय रुपमा उत्पादन गरिने मुला, आलु, चरेला, कर्कलो, साग जस्ता तरकारी पाहुनालाई खुवाउने गरिएको छ ।
गाउँमा पर्यटक कति आउँछन् भन्नेतथ्याङ्क भने अहिलेसम्म राखिएको छैन । लेसपार सामुदायिक होमस्टेका सदस्य नर्सिङबहादुरअब यो तथ्याङ्क पनि राख्ने योजना सुनाउँछन् । ‘पाहुनाको चाहना अनुसार आर्कषक शौचालय, नुहाउने कोठा, तातो पानीको व्यवस्थापन गरेका छौं’, उनले भने, ‘गाउँ र समाजको संस्कृति जोगाउन सकियो भने पर्यटक बढाउन सकिन्छ ।’ युवा पुस्तालाई गाउँमा रोकेर पर्यटन क्षेत्रमा सक्रिय बनाउन भने राज्यको थप लगानी आवश्यक भएको उनी औंल्याउँछन् ।





