
पोखरा/शान्त, मनोरम र सुन्दर तालमा नौका विहार, स्वदेशी र पाहुना चराको चिरबिर, पानीमा प्रष्ट देखिने हिमालको प्रतिबिम्ब अहिले रुपातालका विशेषता हुन् । पोखरा महानगर र रुपा गाउँपालिकाको सीमामा रहेको यस्तो रुपाताललाई ४ अर्ब ५२ करोड ८८ लाख खर्चेर कायाकल्प गरिँदै छ ।
सिचाइँ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा अन्तर्गत निर्माणाधीन रुपाताल परियोजना सकिँदा यो क्षेत्र आकर्षक गन्तव्य बन्ने छ । तालको बिचमा आकर्षक मन्दिर, दक्षिण र पश्चिमतर्फ लोभलाग्दो पैदलमार्ग, उत्तरतिर खुलेको हिमालले नामझैं रुपाको सौन्दर्य अझ प्रखर बन्नेछ ।
अहिले एक सय २२ हेक्टरमा रहेको तालले बाँध बनेपछि एक सय ८३ हेक्टर ढाक्नेछ । खोलाको छेउमा पाँच सय ९० मिटर माटोको र ४५ मिटर कंक्रिटको बाँध बनिसकेको छ । ६ मिटर अग्लो बाँध आवश्यकता अनुसार ४५ मिटरसम्म चौडा छ ।
फराकिलो बाँधमाथि आर्कषक पार्क बनाइनेछ । सो पार्क हुँदै पश्चिमतर्फको वन छेउबाट साइकल लेनसहितको पैदल मार्ग बन्नेछ । त्यहाँ बिच भलिबल कोर्ट बनाएर बिच भलिबल पनि खेलाउने लक्ष्य छ । तालको बिचमा फेवातालको तारबाराहीकै झल्को दिने गरी मन्दिर बनाइनेछ ।
१२ मिटर तलबाट पिलर उठाएर बनाइएको सो क्षेत्रमा मन्दिर, पार्कसहितका आकर्षक संरचना बन्ने सिचाइँ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले बताए । तालको पूर्वतर्फ आठ किमी सडक बनिसकेको छ । परियोजनाका लागि चाहिने वन क्षेत्रका रुख काट्ने र वन क्षेत्र प्रयोगको अप्ठेरो भने अझै सुल्झिइसकेको छैन ।
२०८१÷०८२ मा सकिनुपर्ने आयोजनाको काम सक्न अझै दुई वर्ष लाग्ने देखिएको छ । यो परियोजनाको काम ७० प्रतिशत सकिइसकेको छ । परियोजनाले रुपाताल क्षेत्रलाई पर्यटन राजधानीको अर्काे गन्तव्यका रुपमा चिनाउने उनको भनाइ छ ।
गुरुङले भने, ‘जलाधारका साथै ताल संरक्षण, लोपोन्मुख जलचर र जलीय वनस्पति संरक्षणसँगै पर्यटन प्रवर्धनबाट राष्ट्रिय आयमा टेवा पु¥याउने आयोजनाको मुख्य लक्ष्य हो ।’
रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारीका अध्यक्ष रामबहादुर थापा रुपातालको परियोजनाबाट आशावादी छन् । यो सहकारीले गत वर्ष विभिन्न जातका माछा बेचेर एक करोड ४० लाख आम्दानी गरेको छ । उनी भन्छन्, ‘हामीले सहकारी बनाएर व्यावसायिक माछापालन गरेका छौँ । १ हजार एक सय ५४ सेयर सदस्य हुनुहुन्छ । परियोजनाले हामीलाई अझ सशक्त बनाउने अपेक्षा गरेका छौँ ।’
किनारमा मापदण्डले सकस
परियोजना बनेपछि प्रत्यक्ष फाइदा पाउनुपर्ने स्थानीयलाई तालको मापदण्डले सकस पार्ने देखिएको छ । पोखरा महानगर क्षेत्रमा रुपातालको मापदण्ड किनारबाट एक सय मिटर छ भने रुपा गाउँपालिकामा ५० मिटर छ ।
बाँध बनेपछि तालको क्षेत्रफलसमेत बढ्छ । रुपा गाउँपालिकाका तर्फ ५० मिटर नै कायम गर्दा चार, पाँच घरमात्र हटाउनुपर्ने अवस्था छ । एउटै तालमा दुई खालका मापदण्डलाई समान बनाउन र स्थानीयलाई अधिकतम लाभ लिने अवसर दिन पहल भइरहेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा बताउँछन् ।
‘यो मापदण्ड अवैज्ञानिक छ । यसलाई उचित खालको बनाउन पहल गरिरहेका छौं,’ उनले भने, ‘ताल परियोजनाले पर्यटन प्रवर्धनसँगै स्थानीयको आयआर्जन र जीविकोपार्जनमा पनि सघाउनुपर्छ ।’ पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेल तालको मापदण्ड पुनर्विचार गर्नुपर्नेमा जोड दिन्छन् ।
मापदण्डभित्रको सय मिटर नै खाली गराउने हो भने तालवेंशी र सिमलटुँडाका धेरै घर हटाउनुपर्ने हुन्छ । परियोजना तयार भएपछि यसको सञ्चालन कसले गर्ने भन्ने मोडालिटी यकिन भएको छैन । जलकुम्भीले कुरुप बनेको ताललाई संरक्षण गर्दै माछापालन गरिरहेका स्थानीयको सम्बोधन पनि अर्काे विषय बन्ने देखिन्छ ।





