
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा नेपालले मागिरहेको ‘एयर रुट’ प्रमुख एजेन्डा बन्ने निश्चितप्रायः भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने तयारीमा छन्।
एयर रुटकै विषयमा द्विपक्षीय छलफल गरी मतैक्य बनाउनका लागि नेपाली प्रतिनिधि मण्डल नयाँ दिल्ली पुगेर फर्किएको छ। नयाँ दिल्लीमा भारतको नागरिक उडड्यन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग प्रतिनिधि मण्डलले नेपाललाई आवश्यक परेको हवाई रुटको विषयमा छलफल गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखाका प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल एयर रुटकै विषयमा छलफल गर्न नयाँ दिल्ली पुगेका थिए।
नेपालले वर्षौंदेखि पश्चिमतर्फको एयर रुट माग्दै आए पनि भारतले दिएको छैन। नेपालले विशेषगरी, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरका लागि हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ।
यस पटक दिल्लीमा भएको छलफलपछि भारत महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्नेगरी एयर रुट दिन सकारात्मक भएको दिल्ली पुगेर आएका एक अधिकारीले बताए।
‘छलफल निकै सकारात्मक भएको छ। कर्मचारीकै तहमा निर्णयमा पुग्ने विषय यो होइन। हामीले हाम्रो आवश्यकता र प्राविधिक पक्षबारे छलफल गरेर आएका छौं,’ ती अधिकारीले भने, ‘उच्चस्तरीय तहमा हुने छलफलपछि निर्णय हुने विषय हो। महेन्द्रगरबाट एयर रुट दिने विषयमा भारतीय पक्ष निकै सकारात्मक पाएका छौं।’
भारतीय पक्षले सीमावर्ती क्षेत्रमा रहेका सैन्य संरचना र वायुसेनाका गतिविधिलाई कारण देखाउँदै कम उचाइमा हुने नागरिक उडानलाई अनुमति दिन आनाकानी गर्दै आएको छ।
तर, यस पटक प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रमुख एजेन्डामध्ये एयर रुटलाई राखेर नेपालले भ्रमणकै प्रतिष्ठाको विषय बनाएपछि भारत त्यसमा सहमत देखिएको जनाइएको छ।
हवाई रुटको विषयमा छलफल गरेर टुंगो लगाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेल मंगलबार भारत जाने तयारीमा छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटको विषयमा द्विपक्षीय सहमति खोज्ने प्रयास पौडेलले गर्ने पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन्।
नयाँ दिल्लीमा मंसिर ४ देखि ६ (नोभेम्बर २० देखि २२) सम्म आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को सिभिलाइजेशन डाइलग फोरममा सहभागी हुन पौडेल मंसिर १ मै भारत जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।
हवाई रुटको विषयमा करिब १२ वर्षयता नेपालले भारतसँग निरन्तर ताकेता गर्दै आएको छ। २०७१ साउन १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा पनि नेपाललाई पश्चिमतर्फबाट हवाई रुट दिने विषयमा सहमति भएको थियो।
त्यतिबेला, दुवै देशका अधिकारीलाई ६ महिनाभित्र हवाई रुटको विषय टुङ्ग्यान भनिएको थियो। त्यसयता १२ वर्ष वितिसक्दा पनि भारतले नेपाललाई नयाँ हवाइ रुट दिएको छैन।
पछिल्ला वर्षमा नेपाल-भारतबीच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाई रुटको विषय उठ्ने गरेको छ। सबैजसो छलफलमा भारतले रुट उपलब्ध गराउने सहमति पनि जनाउँदै आएको छ। तर, सहमतिको कार्यान्वयन भने गरेको छैन।
२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा पनि मुख्य एजेन्डामा हवाई रुटको विषय समावेश थियो। त्यसबेला प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच हवाई रुटका विषयमा छलफलपछि भारत थप हवाई रुट दिन तयार भएको थियो।
त्यतिबेला दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा मोदीले थप हवाई रुट दिनेमा भारत सरकार सकारात्मक रहेको बताएका थिए। त्यस्तै, तत्कालीन भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पत्रकारलाई गरेको ‘ब्रिफिङ’मा पनि यो कुरा उल्लेख गरेका थिए।
त्यसबेला, भैरहवामा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) को विषयमा दुई देशको संयुक्त प्राविधिक टोलीको बैठक बस्ने र त्यसले गर्ने सिफारिशको आधारमा निर्णय गर्ने भनिएको थियो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही सातामै नागरिक उडड्यन प्राधिकरणले जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट एयर रुट उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएको थियो। त्यसको जवाफ नेपालले अहिलेसम्म पाएको छैन।
त्यति मात्रै होइन, २०८० पुसमा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आएको बेला पनि हवाई रुटको विषयमा छलफल भएको थियो।
उत्तर प्रदेशको गोरखपुरलगायत सीमावर्ती क्षेत्रमा भारतीय वायुसेनाका आधार शिविर र सैन्य अभ्यास क्षेत्र रहेकाले कम उचाइका हवाई मार्गमा नागरिक उडान सञ्चालन गर्न सुरक्षा चुनौती रहेको तर्क भारतीय पक्षको हुने गरेको नेपाली अधिकारीहरू बताउँछन्। विदेशबाट नेपाल आउने सबै जहाज अहिले बाराको सिमरा टावरलाई पछ्याउँदै नेपाल प्रवेश गर्छन्।

भारतले थप हवाई प्रवेश मार्ग उपलब्ध नगराउँदा नेपालको अन्तर्राष्ट्रिय हवाई उडान अहिले एउटै प्रवेश विन्दुमा निर्भर छ। कतिपय जहाज सिमरा हुँदै बाहिरिनुपर्ने हुँदा हवाई ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण हुने गरेको छ।
पश्चिमी मुलुक र मध्यपूर्वबाट आउने जहाज भैरहवा वा महेन्द्रनगरबाट सिधा प्रवेश गर्न नपाउँदा घुमेर सिमरा हुँदै नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ। यसले उडान समय २५ मिनेटभन्दा बढी लम्ब्याउने र इन्धन खर्चसमेत बढाउने गरेको छ।
अन्तर्राष्ट्रिय उडानका जहाज महेन्द्रनगरबाट नेपाल प्रवेश गर्न पाउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सहज रुपमा व्यवस्थापन गर्न सकिने नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरू बताउँछन्।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाज पनि सिमरा हुँदै घुमेर जानुपर्ने हुँदा ती विमानस्थलमा हुने उडानको समय थप २० देखि २५ मिनेट लम्बिने गरेको छ। जसले गर्दा विदेशी वायुसेवा कम्पनीहरू ती विमानस्थलमा उडान विस्तारको लागि अनिच्छुक हुने गरेका छन्।
यही समस्या समाधान गर्न नेपालले पटकपटक भारतसँग एयर रुट मागिरहेको छ। यस पटक भने अघिल्ला वर्षमा जस्तो एयर रुटको विषय आश्वासनमा मात्रै सीमित नहुने संकेत पाएको दिल्ली गएर फर्किएका अधिकारीहरू बताउँछन्।
भारतको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थल।तर, भारतले पश्चिमतर्फको एयर रुट दिनका लागि नयाँ शर्त अघि सारेको छ। नेपालको पूर्वी सीमा नजिक पर्ने भारतको पश्चिम बंगाल राज्यको सिलीगुडी नजिक रहेको बागडोगरा विमानस्थलबाट बिहारको रक्सौलस्थित विमानस्थलमा उडान गर्न नेपाली आकाश दिनुपर्ने शर्त भारतीय अधिकारीले राखेका हुन्।
‘बागडोगरा र रक्सौलमा हुने उडानको लागि पूर्वी तराई क्षेत्रको आकाश प्रयोग गर्न दिनुपर्ने शर्त आएको छ,’ दिल्लीबाट फर्किएका ती अधिकारी भन्छन्, ‘हामीले त्यस विषयमा छलफल गरेर जवाफ दिने भनेका छौं। अहिले नै सहमत भइसकेका छैनौं।’
अहिले भारतको बागडोगराबाट फारविसगन्ज, दरभंगा र मोतिहारी हुँदै करिब पाँच सय किलोमिटर सडक पार गरेर रक्सौल पुग्नुपर्छ। भारतीय भूमी नै प्रयोग गरेर हुने हवाई उडानमा पनि लामो समय खर्चिनु पर्ने बाध्यता हटाउन नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने माग भारतीय पक्षको रहेको सरकारी अधिकारी बताउँछन्।





