दमौली / गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन भएकी छन । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अञ्जु दाहाल र अमरराज नहर्की, महासचिवमा बाबुराम सापकोटा तथा कोषाध्यक्षमा रमा वाग्ले चयन भएका छन् । सदस्यमा शुभ पिया, तेजप्रसाद लामिछाने, भवानी अधिकारी खनाल, सुनिता बुढाथोकी र विष्णुबहादुर खड्का क्षेत्री चयन भएको निर्वाचन संयोजक अधिवक्ता चन्द्रकान्त वाग्लेले बताए ।
अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले साहित्यिक गतिविधिलाई निरन्तरता दिन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्न आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रतिष्ठानका संस्थापक संविधान सभा सदस्य रामचन्द्र पोखरेलले गण्डकी वाङ्मय प्रतिष्ठानले तनहुँको गरिमामय साहित्यिक इतिहास बोकेको बताए । उनले २०५३ सालमा प्रतिष्ठानकै आयोजनामा भएको साहित्य सम्मेलन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको स्मरण गरे ।
उक्त सम्मेलनको सभापतित्व आफूले गरेको उल्लेख गर्दै उनले प्रतिष्ठानले स्थापनाकालदेखि नै जिल्लाको भाषा, साहित्य र वाङ्मयको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले ऐतिहासिक विरासतलाई जोगाउँदै नयाँ पुस्तामा साहित्यिक चेतना र सिर्जनशीलता विकास गर्न प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, गण्डकी प्रज्ञा प्रतिष्ठानका भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुख प्रा.डा. ईश्वरचन्द्र वाग्ले, गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्व अध्यक्ष सागर उदास, सल्लाहकार डा. रघुनाथ न्यौपाने र डा. लक्ष्मीकान्त चापागाईं, व्यास नगरपालिका-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत, हरिसिंह गुरुङ, मधुमाया घिमिरे तथा निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक विमल सिग्देललगायतले तनहुँलाई साहित्यको माध्यमबाट राष्ट्रियस्तरमा चिनाउन साहित्यिक संस्थाहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
उनीहरूले नवोदित प्रतिभाको खोजी, प्रोत्साहन र सिर्जनात्मक क्षमताको विकासमा जोड दिँदै भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।
सोही अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानको भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुख नियुक्त हुनुभएका प्रा.डा. वाग्लेलाई सम्मान गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीका अवसरमा खुवा रचना वाचन कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा प्रा.डा. वाग्लेले महाकवि देवकोटाका साहित्यिक कृतिबारे चर्चा गरेका थिए ।





