पोखरा पोखरामा मौलिक देउसीभैलो उत्सव प्रतियोगिता–२०८३ हुने भएको छ। नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो ।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा कात्तिक २३ गते सोमबार गाईपूजाका दिन लेकसाइड स्थित गौरीघाटमा उत्सव हुन लागेको हो ।
परिषद्का अध्यक्ष हरि भुजेलले पर्व तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा त्यसको ऐतिहासिक, धार्मिक र सामाजिक महत्वबारे पनि जानकारी गराउनुपर्नेमा जोड दिए । उनले सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्दा त्यसको महत्व अझ बढ्ने बताए ।
पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले नेपाली समाजभित्रै देउसीभैलोको मौलिकता हराउँदै गएको अवस्थामा यस्ता कार्यक्रमले परम्परागत संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।
पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले उत्सवमा एक दर्जन समूहले मौलिक तथा परम्परागत पोसाकमा देउसीभैलो प्रस्तुत बताए ।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ । प्रतियोगितामा सहभागी हुन समूह दर्ता शुल्क लाग्ने छैन। सहभागी सबै समूहलाई चामल, फलफूल, सेलरोटी, पाँच हजार पाँच सय ५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ।
उत्कृष्ट एक समूहलाई ‘देउसीभैलो च्याम्पियन’ घोषणा गरी २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमस्थलमा सेलरोटी तथा सयपत्री फूलका स्टलसमेत राखिने छन् ।





