शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पक्की बाटोमा किमीकै ३० रुपैयाँ भाडा

पक्की बाटोमा किमीकै ३० रुपैयाँ भाडा

बागलुङमा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरदेखि अरु सडकमा पनि सार्वजनिक सवारीले मनपरी भाडा असुल्छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८३, शनिबार

बागलुङ/नेपाल सरकारले राजमार्गहरूमा गाडीको भाडादर तोकेको छ । बागलुङ पनि राष्ट्रिय राजमार्गमा सूचीकृत छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा गुड्ने सवारीसाधनले सरकारी भाडादर पालना गरेका छैनन् ।

तोकेको भाडादरभन्दा बढी भाडा लिने परिपाटीले यात्री मरमा परेका छन् । मध्यपहाडी लोकमार्गमा सूचीकृत बागलुङ बजारदेखि निसीखोला गाउँपालिकाको पातीहाल्नेसम्मको १ सय ४० किमी खण्डमा तोकेको दर लागू भएको छैन ।

९० किमी पश्चिमको बुर्तिवाङ पुगेको जिप र बसले १ हजार ५ सयसम्म भाडा असुल्छन् । लोकमार्ग बन्नुअघि ग्रामीण सडकका रुपमा रेखांकन भएका बेलाभन्दा अहिले भाडा बढी तिर्नु परेको स्थानीय गुनासो गर्छन् ।

हालै निर्माण भएर सञ्चालनमा आएपनि करिडोरको १० किमी नजिकै रहेको बलेवा स्थित एयरपोर्ट पुगेकोसमेत २ सय ५० रुपैयाँ, १४ किमी परको जैमिनी धाम पुगेको ३ सय भाडा लिने गरिएको छ । यसरी हेर्दा प्रतिकिमी २५ देखि ३० रुपैयाँसम्म लाग्ने गरेको हो । यी सबै कालोपत्र गरिएका सडक हुन् ।

बुर्तिवाङबाट तमान वा निसीतर्फ जानु परेमा थप ५ सय रुपैयाँ बढी भाडा तिर्नु पर्छ । निसीको भलकोट जानु परे पनि लोकमार्गकै खण्डमा समेत थप ५ सय खर्च लाग्छ । काम बिषेशले सदरमुकाम जानु परेमा एकतर्फी १ हजार ७ सयसम्म भाडा लाग्ने गरेको तमानखोला ४ का अध्यक्ष छप्रसाद श्रीर्पालीले बताए ।

दशकअघि यो खण्डमा कच्ची ट्रयाकमात्र थियो । यो खण्ड अब बढीमा ५ घन्टामा यात्रा गर्न सकिन्छ । भाडादर भने घट्नुको साटो बढेको बढ्यै छ । गलकोट पुगेको ६ सय र बडिगाडको खरवाङ पुग्दा ७ सय ५० देखि ८ सयसम्म भाडा तिर्नुपर्ने बाध्यता छ ।

‘मागे जति भाडा नदिए अभद्र व्यवहार हुन्छ, बरु नबोलीकनै तिर्ने गरेको छु’, बडिगाड २ का हर्कबहादुर कुमालले भने, ‘पैसा तिरेर यात्रा गर्दा पनि हामीलाई अपराधी झै व्यवहार हुन्छ ।’ कच्ची सडकमा तोकेको भाडा पक्की भएपछि हेरफेर नै भएको छैन ।

मध्यपहाडी लोकमार्गमा सूचीकृत यो सडक राष्ट्रिय गौरवको आयोजना हो । नेपाल सरकारले गत असार १८ गते नयाँ भाडादर लागू गरेको थियो । डिजेल र पेट्रोलको भाडा बढेकै समयमा गरिएको यो भाडादर कसैले पालना गरेका छैनन् । दररेट अनुसार लोकमार्ग लगायतका राजमार्गमा डिलक्स गाडीको प्रति किमी ४ रुपैयाँ ९० पैसा तोकेको छ । ५ रुपैयाँ लिए पनि यो सडकमा बढीमा ४ सय ५० भाडा पर्छ ।

सुपर डिलक्सका लागि तोकेको प्रतिकिमी ६ रुपैयाँ छ । यसरी लिंदा ५ सय ४० रुपैयाँ पर्छ । जिल्ला भाडादर समायोजन समितिले अहिल सम्म राजमार्गको रुपमा भाडादर कायम गरिदिन सिफारिस गरेको छैन । केन्द्रीय रुपमा आएको भाडादर लागू भए÷नभएको खोजी नगर्ने, स्थानीय रुपमा लागू नगर्दा स्थानीय दोब्बर अर्थात प्रति किमी १५ भन्दा बढी रुपैयाँ तिर्न बाध्य छन् ।

यो रुटमा धेरैजसो जिप चल्छन् भने लामो दूरीका बस पनि चलिरहेका छन् । ती गाडी कसैले पनि तोकेको भाडामा यात्रु चढाउँदैनन् । भाडादर निर्धारण समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र यातायात व्यवस्था कार्यालयका प्रमुख सचिव रहने व्यवस्था छ ।

समितिले सिफारिस गरेमा यातायात व्यवस्था विभागले दररेट समायोजन गराउने प्रावधान छ । बागलुङमा पनि यातायात व्यवस्था कार्यालय छ । यो समितिले यहाँ पनि भाडादर लागू गराउन सक्छ । तर बैठक बसेको छैन । ‘हामीलाई पनि यो भाडादरबारे चासो लागेको छ, बैठक बस्ने योजना बन्दै छ’, यातायात व्वयस्था कार्यालय बागलुङका प्रमुख गोविन्दप्रसाद पौडेलले भने ।

बढी भाडा उठाएको उजुरी आए कारवाही गर्न सकिने बागलुङका प्रहरी प्रमुख फणीन्द्र प्रसाई बताउँछन् । ‘बढी भाडा तिर्ने, उजुरी नगर्ने भइरहेको छ’, उनले भने ।

लोकमार्गमा चल्ने जिप र बसले टिकटसमेत नदिने यात्रुहरुको गुनासो छ । यातायातका समितिहरु खारेजी भएर कम्पनी बने पनि अहिलेसम्म चोकचोकमा बोर्ड राखेर टिकट काउन्टर भने चलिरहेका छन् । यहाँ धौलागिरी यातायात बस तथा जीप व्यवसायी समिति, बागलुङ कालिका भगवती, बुर्तिवाङ यातायात लगायतका समितिमा सूचीकृत सवारी साधन चल्छन् ।

समिति खारेज भएपछिको धौलागिरी यातायात कम्पनीका अध्यक्ष उमेश केसीले भाडादरबारे केही बोलेनन् । उनले गुणस्तरीय सेवा दिन थालेको दाबी गरे । ‘यात्रीलाई गुणस्तरीय सेवा दिएका छौं’, केसीले भने, ‘सेवा अनुसारको भाडा लिएका छौं ।’ बागलुङ सदरमुकामदेखि काठमाण्डौका लागि २ सय ७२ किमीमा १ हजार ६ सय भाडादर छ । जिल्लाभित्र एकतर्फी १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म भाडा लाग्ने रुट छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->