दिवान्विता अर्थात् उज्ज्यालोको पर्व तिहारसँग पनि अन्य पर्वजस्तै विभिन्न मिथक जोडिएका छन् । चन्द्रमान पात्रोनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्मका ५ दिनसँग कालका देव यमराज र बहिनी यमुनाबीचको पवित्र सम्बन्ध अनि स्नेह जोडिएको छ । यमपञ्चकसमेत भनिने यी पाँच दिनले मृत्युलाई प्रेमले जित्ने सार्थक सन्देश प्रवाह गर्छ भने काग,कुकुर,गाई–गोरु तथा गोवद्र्धन पर्वतको पूजाले चराचर जगतका जीवजन्तु तथा प्रकृतिसँगको अन्योन्याश्रित सम्बन्ध दर्शाउँछ । प्रमुख अन्नबाली धान भिœयाउनुपूर्व मनाइने तिहारको अवसरमा बन्ने सेलरोटी र अन्य परिकारले नेपालको खाना संस्कृतिसमेत झल्काउँछ । मानिस यस धर्तीको सबैभन्दा बुद्धिमान प्राणी हो, अपितु चराचुरुङ्गी र जीवजन्तुविना मान्छेको अस्तित्वको अर्थ रहँदैन ।सहअस्तित्वले नै संसार टिकेको छ ।
यहाँ रहेका हरेक जीव, कीटपतङ्ग र पक्षीहरुले प्राकृतिक सन्तुलन कायम राख्न आ–आफ्नो ठाउँबाट योगदान दिइरहेका छन् । उनीहरु बिना यो संसारको प्राकृतिक सन्तुलन कायम हुनै सक्दैन । अहिलेको प्रविधिलाई बिर्सने हो भने हिजो कृषिमा आश्रित मान्छेको दैनिकी नै पशुपक्षी र जीवजन्तुमाथि निर्भर थियो । तिहारलाई चराचर जगतमा रहेका हितकारीप्रति कृतज्ञता ज्ञापन गर्नु र उनीहरुको अस्तित्व स्वीकार्ने पर्वको रुपमा पनि अथ्र्याउन सकिन्छ । धनकी देवी लक्ष्मीको उपासना दसैंपछिको दोस्रो ठूलो शारदीय पर्व तिहारको अर्को विशेषता हो । लक्ष्मीको आराधनाको क्षणमा दीप प्रज्ज्वलन गरिन्छ । झिलिमिली बत्ती बालिने भएकाले यमपञ्चकलाई दीपावली पनि भनिन्छ । दीपावली भारतमा पनि मनाइन्छ । तर,देउसी र भैलोसहितको तिहार नेपालीले मात्र मनाउँछन् । त्यसैले तिहार नेपालको मौलिक चाड हो । तर,अन्य चाडपर्वजस्तै तिहारमा पनि विकृत बन्दै गएको छ ।
नेपालीपन बोकेको देउसी–भैलोभित्र छाडा संस्कृति पसेको छ । दाजुभाइ र दिदीबहिनीबीच माया,प्रेम,स्नेह तथा सद्भाव प्रकट गर्ने चाडलाई महँगा उपहार दिने–लिने रुपमा हेर्न थालिएको छ । यो सांस्कृति विचलनले मौलिकता मासिने चिन्ता थपिएको छ। असल संस्कार र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भने रुढीवादलाई त्याग्न सक्नुपर्छ । तिहारको सामाजिक र सांस्कृति पक्ष यति बलियो हुँदाहुँदै पनि यसभित्र समाहित रहेको मौलिकतालाई बिर्सनु भनेको आफ्नोपन बिर्सनु हो । तिहारको मौलिकतालाई कायम राखौँ । आयातित संस्कृतिभन्दा रैथाने पुरातन संस्कृतिले नै नेपालीको पहिचान उँचो हुन्छ भन्ने मनन गरौँ । आफ्नोपन जोगाउँदै गर्दा उज्ज्यालोको पर्वले देशलाई उज्यालो दिशामा प्रविष्ठ गराओस् भन्ने चाहना राख्नु स्वभाविक हुन्छ । देश प्राकृतिक विपत्तिबाट थला परेको छ । विपत्तिबाट मुक्तिका निम्ति विस्थापितकोपुनस्र्थापना र भौतिक पुनर्निर्माण जरुरी छ । नागरिकको मुहारमा उज्यालो ल्याउनका लागि सरकारले तत्काल यी काममा ध्यान केन्द्रित गरोस् ।
उज्ज्यालोको अर्को अर्थ पारदर्शीता,जवाफदेहिता र जिम्मेवारी पनि हो । तिहार निशाचरको नभएर उज्ज्यालोमा रमाउनेहरूको पर्व हो । अँध्यारोमा रमाउनेहरुले अर्कालाई खुसी दिन सक्दैनन् । खुसी बाँड्न उज्ज्यालो जरुरी हुन्छ । दुई तिहाइ नजिकको शक्तिशाली सरकारले यो कुरा मनन गरोस् । उज्ज्यालो अर्थात पारदर्शीताबाट सरकार विचलित नबनोस् । अँध्यारो कोठामा बसेर निर्णय गर्ने प्रवृत्ति नबढोस् । तिहारको सबैमा शुभकाना !




