सामान्यतया राजनीतिमा पहिले पार्टी बन्छ। पार्टीले संघर्ष गर्छ, दुःख गर्छ। वर्षौं, दशकौंको संघर्षपछि त्यसको आदर्श, सिद्धान्त, दर्शन, दृष्टिकोण र उद्देश्य स्थापित हुन्छ। त्यसपछि पार्टी र त्यसका नेतामाथि विश्वास गरेर जनताले मत दिन्छन्।
लामो संघर्षपछि कुनै दल देशकै सर्वाधिक ठूलो राजनीतिक शक्ति बन्न पुग्छ। हामीले सुनेको र पढेको राजनीतिक इतिहास सामान्यतया यही हो। तर हाम्रो सन्दर्भमा फरक भयो।
हामीले पार्टी बनाउँदै गर्दा नेपाली जनताले हामीलाई अपार समर्थन दिए। लगभग दुईतिहाइ बहुमत दिएर सरकार चलाउने जिम्मेवारी सुम्पिए।
अर्थात्, पार्टी पूर्ण रूपमा बनिसक्नुभन्दा पहिले नै बलियो सरकार बनाउन सक्ने जनमत र विश्वास हामीलाई प्राप्त भयो। यसका केही चुनौती छन्।
हामी समाजका विभिन्न तह र तप्काबाट आएका मानिस हौं। हामीमध्ये कतिपयले विभिन्न राजनीतिक दलमा प्रशिक्षण प्राप्त गरेका छौं। समाजबाट सिकेका छौं। फरक–फरक राजनीतिक पृष्ठभूमि र संस्कार बोकेर आएका छौं।
तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै राजनीतिक प्रशिक्षण सञ्चालन गर्न पर्याप्त समय पाएन। त्यसैले हामीले सिक्नुपर्ने धेरै कुरा बाँकी छन्। राजनीतिक अनुशासन र संस्कारका कतिपय कक्षाहरू छुटेका छन्।
जनताले हामीलाई एकै पटक आठ कक्षामा भर्ना गरिदिएका छन्। तर छुटेका कक्षाहरू नपढी आठबाट नौ कक्षामा पुग्न सकिँदैन। ती कक्षाहरू हामीले पढ्नैपर्छ।
हामीले राजनीतिलाई एउटा चुनावदेखि अर्को चुनावसम्मका लागि मात्र बनाएका होइनौं। हामी राजनीतिमा प्रवेश गर्दा चुनाव जित्छौं कि जित्दैनौं भन्ने पनि थाहा थिएन। कति सिट जित्छौं भन्ने पनि थाहा थिएन। त्यही अन्योलबीच हामी राजनीतिमा आयौं। जनताले हाम्रो प्रवेशलाई स्वीकार गर्नुभयो। देशभर घन्टी बज्यो।
कतिपयले यसलाई हुरी भने। कतिपयले लहर र आँधीका रूपमा व्याख्या गरे। हाम्रो सफलतालाई केही राजनीतिक विश्लेषक, अन्य राजनीतिक दल र समाजका कतिपय मानिसले उपहास गरेको वा होच्याएको महसुस पनि हामीले गरेका छौं। मैले पनि त्यस्तो महसुस गरेको छु।
तर यसका लागि म कुनै राजनीतिक विश्लेषक, दल वा सञ्चारमाध्यमलाई दोष दिन चाहन्नँ। यसको जिम्मेवारी हामीले नै लिनुपर्छ। म लिन चाहन्छु।
किनभने, समाजले हाम्रो मूल्यांकन हाम्रै व्यवहार, गतिविधि र तौरतरिकाका आधारमा गर्छ। समाजले गरेको विश्लेषणका कारण समाजमाथि नै जाइलाग्नु सही बाटो होइन।
समाजले हामीलाई ऐना देखाएको छ। ऐनाले हाम्रो अनुहार देखाएको छ। आफ्नो अनुहार देखिएपछि ऐना देखाउनेमाथि झम्टिनु राजनीतिक चरित्र होइन।
हामी त्यो चरित्रभन्दा माथि उठ्नुपर्छ।
जनताले मुलुकको जिम्मेवारी हाम्रो हातमा सुम्पिसकेपछि हामीबाट उच्च राजनीतिक चरित्र अपेक्षा गरिएको छ। त्यो अपेक्षामा हामी खरो उत्रिनुपर्छ। तर के हामी त्यसमा खरो उत्रिएका छौं?
जनताले हामीलाई १८२ सिट दिए। त्यसपछि कतै हाम्रो भुइँमा खुट्टा छैन कि? हामी मात्तिएका छौं कि? टुप्पिएका छौं कि?
माथिदेखि तलसम्म हाम्रो व्यवहारमा त्यस्तो प्रवृत्ति देखिन थालेको छ। कतै हामीले मानिसलाई मानिस नै गन्न छाडेका त छैनौं?
यसरी हुँदैन।
हिजो कोही नहुँदा एक्लै घन्टी बोकेर हिँड्ने हाम्रा साथीहरूले धेरै अपमान सहनुपर्यो। कतिपय साथीलाई मुद्दा लगाइयो। कतिपयले सिफारिस पाएनन्। व्यापार–व्यवसाय गर्ने साथीहरूको पसल बन्द गराउने, मुद्दा लगाइदिने र अनुगमनका नाममा दुःख दिने काम भए।
तर हिजो हामीमाथि त्यस्तो व्यवहार भयो भन्दैमा आज बदला लिन मिल्दैन।
आज हामीले ‘म त घन्टीको मान्छे हुँ, म त रास्वपाको मान्छे हुँ’ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिन थाल्यौं भने त्यो चरित्रले हामीलाई धेरै टाढा पुर्याउँदैन। हामीले भुइँ टेक्नुपर्छ। कुनै हालतमा भुइँ छाड्न हुँदैन।
हामीले एउटा चुनाव जितेका हौं। हामी कुनै अर्को ग्रहबाट खसेर आएका मानिस होइनौं। हामी यही समाजका मानिस हौं। यही जमिनका मानिस हौं। यो कुरा हामीले बिर्सनु हुँदैन।
जनताले हामीलाई हेरिरहेका छन्। उनीहरूलाई असहज लाग्ने हाम्रा गतिविधि स्वीकार्य हुन सक्दैनन्। जनताले हामीलाई अत्यधिक मत दिएर पठाएको ठालु बन्नका लागि होइन। अझ बढी सेवा गर भन्नका लागि हो। यो कुरा हामीले बुझ्न जरूरी छ।
हाम्रै चितवनदेखि देशभर हामीले नसोचेको उपलब्धि हासिल गर्यौं। सँगै संघर्ष गरेका कतिपय साथीहरू हेर्दाहेर्दै माननीय हुनुभयो। यसबाट पार्टीभित्र दुई किसिमका प्रवृत्ति देखिएका छन्।
हिजो आफूसँगै हिँडेको साथी सांसद भएको देख्दा कतिपयको मनमा इर्ष्या पैदा भएको छ। ‘हामीसँगै हिँड्थ्यो, आज यो कहाँ पुग्यो’ भन्ने भावना देखिन्छ।
अर्कोतर्फ, माननीय भइसकेका कतिपय साथीहरूले आफूभन्दा तलका मानिसलाई देख्दै नदेखे जस्तो व्यवहार गर्न थालेका छन्।
यी दुवै प्रवृत्ति गलत हुन्।
जनताले दिएको अभिमत जनतालाई नै दुःख दिन दुरूपयोग गर्नु हुँदैन। पार्टीले यस्ता गतिविधि नियालिरहेको छ।
जब कसैलाई सर्वाधिक शक्ति प्राप्त हुन्छ, त्यही बेला उसले आफू सर्वाधिक जिम्मेवार भएको अनुभूति हुने गरी बोल्नुपर्छ र व्यवहार गर्नुपर्छ। इतिहासले हामीसँग यही माग गर्छ।
आज हामी ठूलो पार्टी भयौं भन्दैमा ‘हाम्रा हातमा पुलिस छ, हाम्रा हातमा सिडिओ छन्, सबै कुरा हाम्रै हातमा छ’ भन्ने दम्भ राख्नु हुँदैन। त्यो दम्भ त्याग्नुपर्छ।
सँगै संघर्ष गरेको साथी आज सांसद भएको छ भने भोलि तपाईंको पालो पनि आउन सक्छ। त्यसैले पार्टीभित्र एकता चाहिन्छ। संगठनभित्र एकता चाहिन्छ।
सँगै हिँडेको साथीले प्रगति गर्यो भनेर इर्ष्या गर्ने र अर्को साथी पछि पर्यो भनेर खिसिट्युरी गर्ने दुवै प्रवृत्ति सच्याउनुपर्छ।
हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ।
अब चुनाव आउँदै छ। तर यहाँ एउटा समस्या देखिएको छ। हाम्रा साथीहरू वडा अध्यक्ष बन्न चाहँदैनन्। एकै पटक पालिका प्रमुख, मेयर, प्रदेशसभा सदस्य वा त्योभन्दा माथिल्लो पदमा पुग्न खोज्छन्। कसैलाई वडा अध्यक्ष बन्न मन छैन।
मलाई त कहिलेकाहीँ लाग्छ, अब राजीनामा दिएर आफै वडा अध्यक्षको चुनाव लड्नुपर्ला कि!
मैले वडा अध्यक्षका लागि आवेदन दिएको देखेको छैन। सबैलाई एकै पटक मेयर बन्नु छ। प्रदेशसभामा जानु छ। माननीय बन्नु छ। वडा कसले हेर्छ भन्ने मानसिकता देखिन थालेको छ।
देशै बनाउने हो, वडा के बनाउनु भन्ने सोच देखिएको छ।
यसले के देखाउँछ?
हामी अवसरको राजनीतितर्फ गइरहेका छौं। बाहिर देखाउन नखोजे पनि यो कुरा छर्लंग भएको छ।
हामी कुरा निकै ठूला गर्छौं। ‘हाम्रा सभापतिले कत्रो त्याग गर्नुभयो’ भन्छौं। तर भोलि दुई जना साथीमध्ये एक जनाले अर्कोका लागि ठाउँ छाड्नुपर्ने अवस्था आयो भने हानाहान र मारामार हुने स्थिति आउँछ।
यदि मेरो त्यागलाई अनुसरण गर्ने इच्छा छैन भने मेरो त्यागको उदाहरण दिनु पर्दैन। मलाई त्यस्तो झूटो तारिफ चाहिँदैन।
म केही उदाहरण दिन चाहन्छु।
नेपाली कांग्रेस २०१५ सालमा सरकारमा गयो। त्यसपछि २०४६–४७ सालसम्म करिब ३० वर्ष कांग्रेस सरकारमा जान पाएन। तर त्यसका नेता–कार्यकर्ताले संघर्ष छाडेनन्। त्यति शक्तिशाली पञ्चायती व्यवस्था ढल्छ कि ढल्दैन भन्ने उनीहरूलाई थाहा थिएन। तैपनि उनीहरूले निरन्तर संघर्ष गरे।
कम्युनिस्ट पार्टीका नेताहरूको उदाहरण पनि हेरौं। उनीहरू कस्ता कठिन परिस्थितिबाट गुज्रिए!
उनीहरूले पनि आज हामीमध्ये कतिपयले जस्तो ‘टिकट पाइनँ भने पार्टी छाडिदिन्छु, आफ्नै उम्मेदवार हराइदिन्छु’ भन्ने राजनीतिक विचलन देखाएका भए यो देशमा प्रजातन्त्र र लोकतन्त्र आउँथ्यो?
निष्ठामा अडिन सकिँदैन भने राजनीतिमा लाग्नु हुँदैन।
आज हामीले सफलता पाएका छौं। हामीसँग १८२ सिट छन्। तर भोलि दुई सिट मात्र भए पनि, एक सिट मात्र भए पनि राजनीति गरिरहन सक्नुपर्छ।
चुनाव जित्नु मात्र ठूलो कुरा होइन। स्थानीय तहको आगामी चुनावका लागि पार्टीले ‘क्यान्डिडेट क्लब’ को विधि अपनाएको छ। यो विधि र प्रविधि विधिसम्मत तथा पारदर्शी हुनेछ। म यसमा सबैलाई निश्चिन्त हुन आग्रह गर्छु।
तर त्यो विधिबाट आफू छनोट हुन सकिएन भन्दैमा पार्टीलाई धोका दिने सोच राखियो भने हामी कहीँ पुग्दैनौं।
राजनीति एउटा चुनावका लागि मात्र गर्ने होइन। एउटा पुस्ताका लागि काम गर्ने हो। हामी समर्पित भएर काम गर्न आएका हौं। आउने स्थानीय तहको चुनावमा कसले टिकट पाउँछ र कसले पाउँदैन, म भन्न सक्दिनँ। तर घन्टीले नै पाउँछ भन्ने कुरा भन्न सक्छु।
हामीमा राजनीतिक इमानदारी र प्रतिबद्धता चाहिन्छ। पहिले आफै योग्य भएर प्रतिस्पर्धा गर्ने हो। आफ्नो सम्पूर्ण योग्यता र क्षमता लगाउने हो। तर आन्तरिक प्रतिस्पर्धामा आफूले जित्न सकिएन र आफ्नै पार्टीको अर्को साथीले जित्यो भने उसलाई स्वीकार गर्न सक्नुपर्छ।
एक दिन रोइएला। दुई दिन रोइएला। तर तेस्रो दिनदेखि ‘मेरो साथी जिन्दाबाद’ भन्दै उसकै लागि भोट माग्न हिँड्न सक्नुपर्छ। त्यस्तो प्रतिबद्धता हुनुपर्छ।
नत्र आज ताली बजाउने हातहरू भोलि चोकचोकमा विपक्षीसँग मिलेर आफ्नै साथीविरूद्ध लाग्न सक्छन्। यसको सुरूआत यहीँबाट हुन्छ।
हामी चुनावका लागि मात्र राजनीतिमा लागेका हौं भने गलत ठाउँमा छौं। पार्टीले आफ्ना सदस्यलाई यस्तो राजनीतिक प्रतिबद्धताको प्रशिक्षण दिन सकेन। त्यसैले म दोष तपाईंहरूलाई दिन चाहन्नँ। यसको दोष म आफै लिन्छु। तर परिवर्तनको यात्राको निर्णय चुनावले मात्र गर्दैन।
यहाँ आदरणीय जगन्नाथ पौडेल हुनुहुन्छ। उहाँले कुनै चुनाव हार्नुभएको होला, तर राजनीति हार्नुभएको छैन। उहाँप्रति हाम्रो उच्च सम्मान छ।
उहाँले निष्ठा र राजनीतिक प्रतिबद्धताका कारण चुनाव हार्नुभएको होला। तर आज हामी उहाँलाई सम्मान र गर्वका साथ हाम्रो पार्टीमा राख्न पाएका छौं।
उहाँ कुनै अपेक्षा राखेर आउनुभएको होइन। हिजो हामीलाई दुःख र अप्ठ्यारो पर्दा, हामीले खोज्दा पनि साथ दिने मानिस नभेटिने अवस्थामा, त्यति ठूलो व्यक्तित्व र राजनीतिक इतिहास बोकेको मानिसले हामीलाई साथ दिनुभयो।
हामीले यसबाट केही सिक्नैपर्छ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई हामीले व्यवस्थापन गर्न सकेनौं भने समस्या आउँछ। कुनै एउटा पदका लागि २० जना आकांक्षी हुन सक्छन्। तीमध्ये एक जनाले टिकट पाउँछन्, १९ जनाले पाउँदैनन्। यसका लागि विधि बनाउनैपर्छ। अर्को उपाय छैन।
मैले चिनेको, मेरा वरिपरि रहेको वा प्रदेश, जिल्ला र पालिकाका नेताहरूले चिनेको मानिसले मात्रै टिकट पाउने व्यवस्था हामीले बनाएका छैनौं।
नेताको नजिक भएको, विमानस्थलमा लिन आएको, खाना खुवाएको वा होटलमा राखेको आधारमा टिकट पाउने विधि हामीले बनाएका होइनौं।
रास्वपा विधिको शासनमा विश्वास गर्छ। हाम्रा गतिविधिले हामी अपरिपक्व रहेछौं कि भन्ने सन्देश जान दिनु हुँदैन। हामीबाट सत्ता सञ्चालन हुन सक्दैन कि भन्ने संशय पैदा हुने अवस्था आउन दिनु हुँदैन। हामी यसमा सचेत हुनुपर्छ।
हाम्रो व्यवहार, क्रियाकलाप र गतिविधि कानुनी राज्यको मान्यता अनुसार हुनुपर्छ। हामीले कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्छ। किनभने, लोकतन्त्र भनेको परिणाम मात्र होइन, प्रक्रिया पनि हो।
हामीले परिणामसँगै प्रक्रियालाई पनि ध्यान दिनुपर्छ।
हामीलाई अन्य राजनीतिक दलहरूले हेरिरहेका छन्। नागरिक समाजले हेरिरहेको छ। अन्तर्राष्ट्रिय समाजले पनि हेरिरहेको छ। यस्तो अवस्थामा पार्टीले सरकारलाई कहिलेकाहीँ घचघच्याउँदा पार्टी र सरकारबीच ठूलो विवाद भयो भनेर व्याख्या गर्न जरूरी छैन।
दुईवटा फोटो टाँसेर उनीहरूबीच मतभेद भयो भन्ने अर्थ लगाउन पनि आवश्यक छैन।
रास्वपा बोलिरहन्छ। रवि लामिछाने बोलिरहन्छ। डराएर होइन, जिम्मेवारीबोधका साथ बोलिरहन्छ। किनभने, आज यो मुलुकमा लोकतन्त्र प्राप्त गर्न हामीले सम्भवतः सबभन्दा कम योगदान दिएका छौं।
तर कतिपय मानिसका शरीरमा आजसम्म गोलीका छर्रा छन्। कतिपयले अंगभंग हुनुपरेको छ। कतिपयले आफ्ना आफन्तजन गुमाएका छन्। मानिसहरू सहिद भएका छन्। उनीहरूको बलिदान हामी खेर जान दिन सक्दैनौं।
आज हामीले प्राप्त गरेको स्वतन्त्रता, स्वतन्त्र प्रेस, मानव अधिकारको प्रत्याभूति, अदालत लगायत लोकतान्त्रिक संस्थाहरू यसै प्राप्त भएका होइनन्।
यी उपलब्धि घन्टी बजाउँदै हिँडेर वा ‘रवि दाइ हाई’ भन्दै प्राप्त भएका होइनन्। यसका लागि मानिसले ज्यान गुमाएका छन्। रगत बगाएका छन्। त्यसको मूल्य ठूलो छ। त्यसको अवमूल्यन गर्ने वा अपमान गर्ने अधिकार हामी कसैलाई छैन।
त्यसैले म भन्छु, लोकतन्त्रभन्दा ठूलो मेरा लागि केही पनि छैन। यही कुरा हामी सबैले भन्न सक्नुपर्छ।
यो कुनै विद्रोहको संकेत होइन। कुनै विग्रह, फुट वा मतान्तरको संकेत पनि होइन। यो हाम्रो प्रतिबद्धता हो। रास्वपाको प्रतिबद्धता हो।
हामी हाम्रो सरकारको विरोधमा उत्रिएका होइनौं। प्रतिपक्षलाई खुसी हुन मन छ भने खुसी भए हुन्छ। तपाईंहरूको खुसीको ठेक्का पनि हामीले नै लिएका रहेछौं भने हामी यसो अलिअलि बोलिरहन्छौं।
तर म फेरि दोहोर्याउन चाहन्छु, हाम्रो सरकारबाट जनताले गरेको अपेक्षा हामीले बुझ्न जरूरी छ।
(राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा गरेको सम्बोधन।)





