बागलुङ/तिहार नजिक आइरहेको छ । तिहारलाइ दिपाबली पनि भनिन्छ । तिहारमा झिलिमिली बत्ती बाल्ने चलन छ । बिजुली सँगै मैन बत्ति पनि लहरै बालेर रमाइलो र घरलाई आर्कषक बनाउने चलन भएपनि अहिले सम्म मैन बत्ती भारतबाट आयात भैरहेको छ ।
तर केही समयदेखि बागलुङ नगरपालिका २ की सुवर्ण सापकोटाले विभिन्न प्रकारका मैनबत्ती बनाएर बजारमा ल्याएकी छिन् । उनको यो मेहेनतले अहिले बजारका विभिन्न पसलमा नयाँ साइज, आकृति र सजावटको रुपमा समेत देखिने गरी मैनबत्ती आएका छन् ।
लामो समय सम्म शिक्षण पेशामा संलग्न भएकी सापकोटा एकाएक बिरामी भइन् । झण्डै चार बर्ष सम्म बिरामी भएर उपचाररत भएकी उनी अझै निको त भैसकेकी छैनन् । तर घरमा बसिरहने समयलाई उनले सदुपयोग गरेकी हुन् । झण्डै ५ लाख लगानी गरेर उनले मैनबत्ती बनाउने घरेलु उद्योग नै चलाएकी छिन् । यस अघि नै उनले एसके ज्वेलरी संचालनमा ल्याईसकेकी थिइन् । यो ज्वेलरीको संचालन पछि उनले सीपको कामलाईपनि सँगै अगाडि बढाउने योजना बनाएपछि मैनबत्तिमा ध्यान दिएकी हुन् ।
दिपावलीकालागि आर्कषक देखिने टिलाईट क्यान्डेल, लड्मु मोडल, मोदक मोडल, रोज मोडल लगायतको मैन बनाएकी छिन् । तिहारमा मात्र नभइ उनको उत्पादन जन्म दिन मनाउने देखि लोड सेडिङको बेला बाल्न पनि मिल्ने खालका छन् । पहिलो चरणमा उनले सामाजिक संजालबाट आफ्नो व्यवसाय गरिरहेकी छिन् । एसके ज्वेयलरबाट परीक्षणको रुपमा काम गरेपनि उनले बजारको माग बढेमा छुट्टै दर्ता गरेर उद्योग संचालन गर्ने बताइन् । ‘फरक फरक रंग, साइज र स्वरुपमा उत्पादन गरेपछि सबै कार्यहरुमा काम लाग्छ’ उनले भनिन्, ‘भारतीय व्यवसायीले मात्र ल्याएर बेच्ने गरेकोमा अब यहीं उत्पादन गर्ने प्रयासमा छु ।’ उनले २०६५ सालमा काठमाण्डौमा गएर मैनबत्ति बनाउने तालिम लिएकी थिइन् । तर क्षमता अनुसारको काम गर्न नपाई बसेकी थिइन् । अहिले भने उनले यो सीपलाई उद्यममा परिणत गर्न पाएको बताइन् ।
यो पेशालाई अगाडि बढाउने उनको बाध्यता पनि हो । शिक्षण पेशा छाडेर बेरोजगार बस्नु परेपछिको आर्थिक अभावबाट सिकेर उपचारखर्चको जोहो गर्न सहयोग पुग्ने गरी व्यवसाय अगाडि बढाउन चाहेको उनले बताइन् । ‘मलाई व्यस्त जीवन र औषधी उपचारकोलागि कमाई समेतको जोहो गर्न उद्यम थालेकी हुँ’ उनले भनिन्, ‘पति उमाशंकरले पनि साथ दिनु भएकोले काममा हौसला थपिएको छ ।’ तिहारमा बाहिर गएर मैन ल्याउन खोज्ने व्यवसायीलाई समेत एकपटक यहींबाटै उपयोग गरेर हेरिदिन आग्रह गरिन् ।
मैनबत्ति बनाउन उनले कच्च मैन, फ्रेम, प्लेबर र रंग समेत ल्याएकी छिन् । उनले लोटस बत्तिलाई १ सय, मोदक र सानो रोजलाई २५ रुपैयाँ तथा एक प्याकलाई १ सय ५० रुपैयाँमा बिक्री गरेको बताइन् । त्यसकालागि उनले नगरपालिकामा दर्ता गरेर व्यवसाय संचालन गर्दै गुणस्तर परीक्षण गर्ने र राज्यलाई कर पनि तिर्ने लक्ष्य सुनाइन् । ज्वेलरीमा भने ल्याएका सामान बेच्ने मात्र गरेकोमा अब भने सीपको काम गरेर व्वयसाय गर्न पाएको उनले बताइन् । उनको यो सीपसँग जोडिएको काम जिल्लामै अहिले सम्म कसैले गरेका छैनन् । उनले उत्पादन गर्ने मैनमा मानवस्वास्यकालागि हितकर फ्लेबर मात्र प्रयोग गर्ने लक्ष्य राखेकी छिन् । साथै मैन बाल्दा कोठामा सुगन्ध आउने र निद्रा लाग्न सहयोग पुग्ने रंग समेत प्रयोग गर्न सकिने उनले बताइन् ।





