शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जिल्ला बाल क्लब सञ्जालको पदस्थापना, बाल अधिकारमा रचनात्मक काम गर्ने

जिल्ला बाल क्लब सञ्जालको पदस्थापना, बाल अधिकारमा रचनात्मक काम गर्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८३, शुक्रबार

पर्वत / जिल्ला बाल क्लब सञ्जाल, पर्वतका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको पदस्थापन तथा पहिलो बैठक सम्पन्न भएको छ। बैठकले बाल अधिकारको क्षेत्रमा रचनात्मक काम गर्ने गरि छलफल समेत गरेको छ

जिल्ला बाल क्लब सञ्जाल, पर्वतका अध्यक्ष दिप्सन न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा बाल अधिकारको वर्तमान अवस्था, बालबालिकाले भोगिरहेका समस्या तथा चुनौती, बालमैत्री स्थानीय शासन, बालबालिकाको अर्थपूर्ण सहभागिता, आपसी समन्वय तथा सहकार्य र आगामी दिनमा सञ्चालन गर्न सकिने साझा कार्यक्रमहरूका विषयमा महत्वपूर्ण विचार, अनुभव तथा सुझावहरू आदानप्रदान गरिएको थियो।

बैठकले जिल्ला प्रदेश बाल परिषद्को सदस्यका रूपमा कृषा तिवारी र ललिता मल्ललाई मनोनयन गर्ने निर्णय गरेको छ। साथै बालबालिकाको हक, हित तथा अधिकार संरक्षण र प्रवर्द्धनका लागि आगामी दिनमा विभिन्न रचनात्मक, सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

सो अवसरमा एकीकृत सेवा कार्यालय, पर्वतका कार्यालय प्रमुख जीवन पौडेलले बालबालिका केवल भविष्यका कर्णधार मात्र नभई वर्तमानका सचेत, सक्षम र सक्रिय साझेदार भएको उल्लेख गर्दै बालबालिकाका विचार, भावना र आवाजलाई सम्मान गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । उनले बालबालिकाको नेतृत्व तथा क्षमता विकास, सिर्जनात्मक प्रतिभाको प्रस्फुटन र अधिकार संरक्षणका लागि बाल क्लब तथा सञ्जालहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे ।

बैठकले बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, सहभागिता र अधिकार संरक्षणका लागि जिल्ला बाल क्लब सञ्जाल, पर्वत र एकीकृत सेवा कार्यालयबीच निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->