बेगनासतालमा माछा महोत्सव भएको छ । बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन मुख्य ध्येय रहे पनि माछाको व्यावसायिक उत्पादन तथा गुणकारी माछा उपभोग वृद्धिमा टेवा पु¥याउनु महोत्सवको उद्देश्य थियो ।माछाको सेवन स्वास्थ्यका लागि हितकारी भएकोमा द्विविधा छैन । सजिलै पच्ने र शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुने माछा खाने चलन नेपालकानिम्ति नौलो हैन । यहाँका खोला, ताल–तलैया र नदीहरुमा परापूर्वकालदेखि नै रैथाने जातका माछा पाइन्थे । निश्चित समूहले माछा मार्थे; घरघर पु¥याउँथे । ताल नै ताल रहेको पोखरामा माछा मारेर जीवन धान्ने जलारी समुदाय यसको प्रमाण हो ।नदी,पोखरी र खोलामा आफैं हुर्कने र कुनै लगानी गर्न नपर्ने माछाको उपभोगमा भने बढोत्तरी भएन । समुन्द्रसँग जोडिएका र नजोडिएका कयौं देशले माछाबाट ठूलो आर्थिक लाभ लिइरहँदा नेपालले उत्पादन बढाउनेतर्फ ध्यानदिएन । दाना खुवाएर पाल्नुपर्ने कुखुराको प्रवद्र्धन गरिरहँदा राज्यले माछालाई सौतेनी व्यवहार ग¥यो । नेपालमा पर्यटकको आवागमनसँगै माछाको माग त बढ्यो तर स्वदेशी उत्पादनतिर ध्यान नदिएर आयातलाई प्रोत्साहित गरियो । अहिले पनि नेपाल यो नियतिबाट मुक्त छैन ।
२०१८ सालमा ताल विकास केन्द्रको नाममा मत्स्य अनुसन्धान केन्द्र स्थापना भएयता पोखरा र आसपासमा व्यावसायिक माछापालनसुरुवात भएको थियो । तालमा आश्रित जलारीलगायतका जातजातिको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सञ्चालित सो कार्यक्रमपश्चात विश्व खाद्य तथा कृषि संगठन र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी)को सहयोगमा २०३२ देखि २०३६ सालसम्म एकीकृत मत्स्य विकास आयोजना सञ्चालनमा रह्यो । त्यही उपक्रममा यहाँ उन्नत जातका माछा पनि भित्रिए । उन्नत जातका माछाका प्रजातिहरु भित्रियो तर किसानको घरघरसम्म माछापालन पुग्न सकेन । अहिले फेवा,बेगनास,रुपालगायतका तालमा व्यावसायिक माछापालन भइरहेको छ । यसले पोखराको मागलाई थोरै भएपनि धानेको छ ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा१ लाख ३१ हजार टन माछा हुन्छ भने माग धान्न ४ हजार ३ सय टनभन्दा बढी आयात भइरहेको छ । गण्डकी प्रदेश सरकारको कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रतिवेदन अनुसार २०८१/०८२ मा१ हजार ५ सय टन माछा उत्पादन भएको छ । ताल नै तालको सहर पनि माछामा पोखरा परनिर्भर छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराले २०८२ मा प्रकाशन गरेको प्रतिवेदन अनुसार यहाँ माछा उत्पादनमा २.३६ प्रतिशतले घटेको छ । व्यावसायिक माछापालनका निम्ति भुराको उपलब्धता पनि जरुरी छ । तर, मत्य अनुसन्धान केन्द्र बेगनासका अनुसार मागको ५५ प्रतिशत भुरा उत्पादन गण्डकीमै हुन्छ भने बाँकी आयात गरिन्छ ।
माछालाई पोषणको महत्त्वपूर्ण अंग बनाइनुपर्छ । त्यसकालागि उत्पादन र खपत दुवै वृद्धि हुनुपर्छ ।मधेसको गर्मीदेखि चिसोपानीमा हुने रैथाने जातका माछासहित रेम्बो ट्राउटको व्यावसायिक उत्पादनबाट राज्यले ठूलो आर्थिक लाभ लिन सक्छ । भुराको उपलब्धता, सहुलियत, प्राविधिक सहयोग एवं बजारको सुनिश्चितताले माछापालनमा कृषकलाई आकर्षित गर्न सकिन्छ । राज्यले नेपालमै पाइने २ सय ३६ जातका रैथाने प्रजाति संरक्षण गर्दै त्यसको व्यावसायिक उत्पादन थाल्नुपर्छ ।




