
म्याग्दी/म्याग्दीको धवलागिरी गाउँपालिकाले २०८३/८४ को बजेटमा ६ करोड २० लाख रुपैयाँ थप गरेको छ । गत वर्ष खर्च हुन नसकी बाँकी रहेको बजेटलाई चालु वर्षका २७ योजना तथा कार्यक्रममा समावेश गर्दै गाउँपालिकाले बजेटको आकारलाई बढाएर गाउँसभाबाट पारित गरेको हो ।
मंगलबार गाउँपालिकाको केन्द्र मुनामा भएको गाउँसभाको २७ औं विशेष अधिवेशनले बजेट संशोधन गर्दै चालु वर्षको बजेट ४८ करोड ५२ लाख ३ हजारबाट बढाएर ५४ करोड ७२ लाख ३ हजार पु¥याएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गरेको बजेट संशोधन प्रस्ताव र वडा नं. ३ का अध्यक्ष देवेन्द्र रोकाले प्रस्तुत गरेको विनियोजन ऐन संशोधनसम्बन्धी प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको छ ।
थप बजेटबाट पूर्वाधार विकाससँगै कृषि, पर्यटन, शिक्षा, युवा, महिला, नवप्रवर्तन तथा कला–संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष पुनले बताए । गुर्जामा वडा कार्यालय भवन निर्माणका लागि ५० लाख, दरखोलामा बेलिब्रिज निर्माणका लागि ६० लाख, मराङको सानो र ठूलो खोलामा कल्भर्ट पुल निर्माणका लागि ७० लाख तथा मल्कवाङको खालीखोलामा कल्भर्ट पुल निर्माणका लागि ६६ लाख विनियोजन भएको छ ।
गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयमा शौचालय निर्माणका लागि २० लाख, लुलाङमा ढल व्यवस्थापनका लागि २५ लाख, मुना स्वास्थ्य चौकीको घेराबारका लागि २५ लाख र मुदी गाउँमा ढल व्यवस्थापनका लागि ४१ लाख छुट्याइएको छ । हेम नमुना आवासीय माध्यमिक विद्यालयमा खोल्साबाट हुने बाढी नियन्त्रणका लागि ४० लाख विनियोजन गरिएको छ ।
बजेट विनियोजन भएका योजनाहरूको सर्वेक्षण तथा लागत अनुमान तयार पार्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । तिहारलगत्तै उपभोक्ता समिति गठन गरी सम्झौता गर्ने र साना योजनालाई उपभोक्ता समितिमार्फत कार्यान्वयनमा लैजाने गाउँपालिकाको तयारी छ ।





