पोखरा/नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला २०८३ पोखरामा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा भएको मेलापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुरुआत गरे ।
प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजारको प्रवद्र्धनमा लाग्न पुष्प कृषक र व्यवसायीलाई सुझाव दिए ।
‘पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ । स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ । उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक छ,’ नगर प्रमुख आचार्यले भने । पोखरा महानगरपालिका क्षेत्रमा करिब २ सय रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पुष्प कृषकलाई प्रोत्साहन गर्दै पुष्प व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए ।
मेलामा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका पुष्पजन्य उत्पादन तथा सजावटी फूलहरूको प्रदर्शनी, बिक्रीवितरण गरिने आयोजकले जनाएको छ। मेलाले पुष्प व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन तथा फूलप्रति आम नागरिकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
पुष्प व्यवसायमा संलग्न कृषक तथा व्यवसायीलाई एउटै थलोमा आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै पोखराको पुष्प व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।





