पोखरा/लायन्स क्लब अफ पोखराले स्थापनाको ५०औं वर्ष पूरा गरेको अवसरमा आगामी मंसिर ५ गतेस्वर्ण महोत्सव समारोह आयोजना गर्ने भएको छ।वि.सं. २०३३ मा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चलको पहिलो क्लब हो ।
पाँच दशकदेखि शिक्षा, स्वास्थ्य, मानवीय सहायता, सामाजिक सचेतना तथा सामुदायिक विकासका क्षेत्रमा योगदान पु¥याउँदै आएको क्लबले आफ्नो सेवायात्रालाई ऐतिहासिक उत्सवका रूपमा मनाउन लागेको स्वर्ण महोत्सव मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले बताए ।
लायन नवराज पटेल तथा उनको टोलीको पहलमा पोखरामा लायन्स क्लब स्थापना गर्ने अभियान सुरु भएको थियो । प्रारम्भमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्षका रूपमा प्रस्ताव गरिए पनि उहाँ शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले पोखराका व्यवसायी फणीन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई औपचारिक रूपमा अगाडि बढाइएको थियो ।
स्वर्ण महोत्सव समारोहमा नेपालका सार्वजनिक तथा व्यवस्थापकीय क्षेत्रका विशिष्ट व्यक्तित्व, लायन्स नेतृत्व, संस्थापक सदस्य, पूर्वअध्यक्ष, वरिष्ठ लायन्स सदस्य, व्यवसायी तथा समाजसेवीको सहभागिता रहनेछ ।
समारोहमा क्लब स्थापनादेखि विभिन्न समयमा नेतृत्व प्रदान गर्ने संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा समाजमा विशिष्ट योगदान पु¥याउने अग्रजलाई सम्मान गरिनेछ। पोखरा तथा आसपासका क्षेत्रबाट संस्थापक सदस्य, पूर्वअध्यक्ष, लायन्स नेतृत्व, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्तित्व र शुभेच्छुकसहित १ हजार २ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
समितिका मुख्य संयोजक गोशलीले पाँच दशकको सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक योगदानको समीक्षा तथा अग्रजहरूको सम्मानका रूपमा समारोह आयोजना गर्न लागिएको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका डिस्ट्रिक्ट गभर्नर प्रजापति बास्तोला र पूर्व डिस्ट्रिक्ट गभर्नर मिलन थापा, क्लबका संस्थापक सदस्य मेहरमान श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम क्लबअध्यक्ष डामाधवबाबु तिवारीको अध्यक्षतामा भएको हो ।





