
पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७, घिप्लेमा सामान्य विवादमा एक युवाको हत्या भयो । २२ वर्षका राजेन्द्र पौडेलले सामान्य विवादमा आफ्ना साथीलाई आँसीले प्रहार गरेपछि उनीमाथि कुटपिट भएको थियो ।
कात्तिक ९ गते बिहान राजेन्द्रलाई घर नजिकैको बारीको पाटामा मृत अवस्थामा फेला पारिएको थियो ।राजेन्द्र मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ पुगेको प्रहरीले उनको शरीरमा नीलडाम र चोट देखेपछि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकाक्रममा राति झगडा भएको र मृत्यु भएको खुलेको हो ।
उनको हत्या भएको अनुमान लगाउँदै अनुसन्धान गर्दा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले सुनाए । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय विक्रम पुन, २३ वर्षका आशिष गुरुङ, ३० वर्षका महादेव विक, ३० वर्षकै मिलन विक र ३९ वर्षका नीलबहादुर पुन छन् ।
राजेन्द्र पदमार्गमा पर्यटकको भरियाकारुपमा काम गर्थे । उनले काम गरी कमाएको पैसाले साथीहरुसँग बसी मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा राजनले नजिकै रहेको मौरीको गोलामा लात्तीले हानेपछि अरु साथीले उनलाई हकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले जनाए ।
कार्कीका अनुसार राजनसँग आँसी रहेको र सामान्य कुरामै उनले साथी मिलनलाई घाँटीमा र आशीष गुरुङलाई खुट्टामा प्रहार गरेका थिए । मापसेले मात्तिएका उनीहरु सबै घर गए । पछि पुनः आशिषले विक्रम र लीलबहादुर पुनलाई फोन गरी बोलाएका थिए ।
आफूहरुलाई प्रहार गर्नेलाई यत्तिकै छाड्न नहुने भन्दै उनीहरुले राति राजेन्द्र कहाँ पुगी भाटा, मुक्का र लात्तीले हानेका थिए ।घाइते राजेन्द्रलाई उनकी आमाले बारीको पाटामा नै सिरक ओढाइदिएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
राजेन्द्र बिहान उनी मृत फेला परेका थिए । ‘राजेन्द्रले पहिला दुई साथीमाथि आँसीले प्रहार गरेको देखिन्छ । त्यो विषय त्यही सकिन्छ । पछि उनी तीनै साथीहरुसँगै बसेर रातिसँगै मापसे गरेका थिए । त्यत्तिकैमा राजेन्द्रले नजिकै रहेको मौरीको घारमा लात्तिले हानेपछि अरुले हकारेका थिए । त्यही विषयमा राजेन्द्रले आँसीले प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ’, एसपी कार्कीले भने, ‘ती दुवै घटना त्यही सकिएका थिए । तर, राति ११ बजेर ५९ मिनेटमा आशिष गुरुङले विक्रम पुन र लीलबहादुर पुनलाई फोन गरी बोलाए ।’
पाँच जनाले मिलेर राजेन्द्रकै घरमा गई भाटा, मुक्का र लात्ती प्रहार गरी घाइते अवस्थामा घिसार्दै बारीको पाटामा लगी छाडेका थिए । राति राजेन्द्रकी आमाले बाहिर नै उनलाई सिरक ओढाइदिएको कार्कीको भनाइ छ । घरमा आमासहित दुई दाजुभाइ रहेपनि सबै जना मापसे गरी बसेकाले रातको घटनाबारे थाहा नपाएको बयान राजेन्द्रका घरका सदस्यले दिएका छन् । पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको एसपी कार्कीले बताए ।
यसैबीच, कास्की प्रहरीले स्विप अप्रेसनमा ३ सय ८० जनालई पक्राउ गरेको छ । लागुऔषध सेवन, अशान्ति फौलाउने, गुन्डागर्दी गर्ने, अफलाइन राइड सेयरिङ चलाउने लगायतका गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको हो । तीमध्ये १२ जनालाई लागुऔषधी ओसारपसार, ४८ जनालाई अभद्र व्यवहार र ४३ जनालाई ट्राफिक कारवाही गरिएको छ ।





