बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

यान्त्रिकीकरणले रैथाने सीप नमासियोस्

यान्त्रिकीकरणले रैथाने सीप नमासियोस्

यान्त्रिकीकरणसँगै रैथाने परम्परा र सीपको विनास अर्को डरलाग्दो समस्या बनेर खडा भएको छ । कृषिको यान्त्रिकीकरणबाट मजदूरको रोजीरोटी तथा रैथाने सीप र परम्परा नष्ट हुनु हुँदैन ।


  • Dhorpatan News
  • कार्तिक १२ २०८३, बिहिबार

बाँझो बनेका फाँट,टारी र सुर्काहरुलाई बिर्सने हो भने यतिबेला गाउँतिरका फाँट धान पाकेर पहेँलपुर छन् । अर्थात् गाउँमा धान थन्क्याउने माचो सुरु भएको छ । भनिरहन पर्दैन–गाउँ बुढाबुढी, असक्त र निमुखाहरूको भरमा छ । अर्म–पर्मको परम्परा धेरै गाउँबाट हराइसकेको छ । हलगोरु पाल्ने किसान पाउन मुस्किल छ । खलो खुर्केर लिपपोत गर्ने,कुन्यू बनाउने र दाइँ हाल्ने चलन पनि अतीतको गर्तमा भासिएको छ । समयको चक्रमा पेलिएका किसान केही रहर र धेरै बाध्यताले आधुनिक खेतीमा पुगेका छन् । गोरु नै नभएपछिबाध्यताले सिर्जित यो परिस्थितिमा हलगोरुको काम हाते ट्रयाक्टर वा मिनिटे«लरले लिएको छ; ट्रयाक्टरबाटै दाइँ हाल्ने चलन बढ्दो छ ।

धानखेती गर्न सजिलो छैन । रोप्नकै लागि पनि हलगोरुदेखि ठूलो जनशक्ति चाहिन्छ । गोडमेल र भिœ्याउनेबेला चाहिँने दँदौरेको संख्या पनि कम हुँदैन । यसले लागत बढाउँछ । बढ्दो लागत र जनशक्ति अभावले कृषिकर्मप्रति विकर्षण बढेको बेला यन्त्रको प्रयोगले कृषि पेशालाई सरलसँगै किफायती तुल्याएको छ । धान रोप्नेदेखि,काट्ने र झाँट्नका लागि पनि मेसिन अगाडि सार्न थालिएको छ । अहिले मधेशमा मात्र नभएर पहाडका गह्राहरुमा पनि मेसिनबाटै धान र पराल छुट्याइँदै गरेका दृष्य देखिन थालेका छन् । कृषिमा यान्त्रिकीकरण बढ्दो छ । जनशक्ति नै नहुँदा विकल्प खोज्नु स्वभाविक हो; यन्त्रले मानिसलाई सहजता प्रदान गरेको छ ।

नेपालको पहाडी क्षेत्रको भू–बनोटले मेसिनभन्दा मानवीय शक्तिखोजी गर्छ । भिरालो जमिनमा रहेका साना गह्रामा हाते ट्रयाक्टरभन्दा कोदालो चलाउन सक्ने मान्छेको आवश्यकता पर्छ । अहिले बजारमा उपलब्ध यन्त्रले छिचोल्न नसक्ने गह्रा र खोरिया कसरी पुनः हराभरा बनाउन सकिन्छ; त्यहाँ कस्तो खेती प्रणाली विकास गर्ने भन्नेबारे राज्य र विशेष गरी कृषि मन्त्रालयले सोच्नुपर्छ । अध्ययन र अनुसन्धान गरिनुपर्छ अनि देश सुहाउँदा उपकरण निर्माण गरिनुपर्छ । यान्त्रिकीकरणका बहुआयामिक फाइदा छन् । यसले विकल्प दिएको छ; कामलाई छिटो–छरितो बनाएको छ । पहाडलाई पुनःगुलजार बनाउन यान्त्रिकीकरण जरुरी छ । सरकारले कृषि ज्ञानकेन्द्रमार्फत् गाउँगाउँमा यस्ता मेसिनहरू वितरण गरेको छ ।

आधा अनुदान प्रदान गरिने यस्ता मेसिन वितरण गरिरहँदा दिगोपन र मर्मत केन्द्र स्थापना गर्न ढिला भइसकेको छ । महँगोमा किनिएका यन्त्रहरू त्यत्तिकै बारीको कुनामा मिल्काउनुपर्ने विवशताबाट किसान मुक्त पार्न पनि राज्यले ध्यान दिनैपर्छ । उपयुक्त प्रविधि छनोट, मेसिन सञ्चालनसम्बन्धी सीप, मर्मतसम्भारको व्यवस्था र सहज वित्तीय पहुँचबारे पनि सोच्नै पर्छ ।यसका अलावाएउटा फसल लिँदा त्यसको सह उत्पादन जस्तैः परालको उपयोगिताको पाटोलाई बिर्सन मिल्दैन । धान र पराल छुट्याउने मेसिनका कारण भकारीमा धान त पुग्ने तर टौवामा पराल नपुग्ने अवस्था सिर्जना हुनु हुँदैन । यान्त्रिकीकरणसँगै रैथाने परम्परा र सीपको विनास अर्को डरलाग्दो समस्या बनेर खडा भएको छ । कृषिको यान्त्रिकीकरणबाट मजदूरको रोजीरोटी तथा रैथाने सीप र परम्परा नष्ट हुनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->