काठमाडौं / कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्समाथी सुदूरपश्चिम रोयल्सले सहज जीत हात पारेको छ। पोखराले दिएको १४७ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १७ औँ ओभरको अन्तिम बलअघि नै पूरा गर्यो।
पोखराको जितमा कप्तान ऐरीले अविजित अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए।
७ औँ ओभरमा ५६ रन बनाउँदा ३ विकेट गुमाएको सुदूरपश्चिमलाई इसान पाण्डेसँग किर्तीमानी साझेदारी गर्दै कप्तान ऐरीले जितको बाटो देखाएका थिए।
दिपेन्द्र र इसानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। बंगलादेशी अलराउन्डर मेहदी हसनको बलमा एलबीडब्ल्यु धरापमा पर्नु अघि इसानले ३१ बलमा ३७ रनको योगदान गरे। उनले २ चौका र २ छक्का प्रहार गरे।
राष्ट्रिय टोलीका समेत टी–२० कप्तान रहेका दिपेन्द्रको अर्धशतक जारी एनपीएलको दोस्रो हो। नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो। यसअघि चितवन राइनोजका लागि डाविड मलानले विराटनगरविरुद्ध मंगलबार पहिलो अर्धशतक बनाएका थिए।
१६ औँ ओभरको तेस्रो बलमा इसान आउट हुँदा टोलीलाई मात्रै १६ रन आवश्यक थियो। शेर्फान रदरफोर्ड ४ बलमा ८ रन बनाउँदै नटआउट रहे।
त्यसअघि ओपनर सैफ जैबले १५ र विनोद भण्डारीले ४ रनको योगदान गरे। ब्रान्डन म्याकमुलन १२ बलमा २२ रन जोडेर आउट भए। म्याकमुलन आउट भएसँगै सुदूरपश्चिम केही दबाबमा देखिएको थियो। तर कप्तानले सम्हाल्दै २ अंक जोडे।
पोखराका लागि धनन्जय लक्षन, मेहदी हसन र शकिव अल हसनले एक एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
पोखराका लागि ओपनर दिनेश खरेलले ४ रन मात्रै बनाउन सके। तर अर्का ओपनर मेहदी हसनले २१ बलमा ३२ रन बनाए। कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाउँदा बंगलादेशी क्रिकेटर शकिब अल हसनले १४ रनको योगदान गरे।
त्यसैगरी सदीरा समरविक्रमाले ८, धनञ्जय लक्षणाले ११ बनाए भने किरण ठगुन्ना १ रनमा आउट भए। नटआउट रहेका अर्जुन घर्तीले २५ बलमा ४० रनको सर्वाधिक योगदान गरे। अर्का नटआउट बिपिन खत्रीले ५ रनको योगदान गर्दा पोखराले ९ अतिरिक्त रन पायो।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेइन महंगो साबित भए। उनले ४ ओभरमा ४९ रन दिएर १ विकेट मात्र लिन सके। सुदूरका अनिल खरेलले ३ ओभरमा २३ रन दिएर ३ विकेट लिँदा हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए। अविनाश बोहरा, ईशान पाण्डे र सैफ जैब विकेटविहीन भए।
यसअघि पहिलो खेलमा सूदुरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो। पोखराको यो पहिलो खेल हो।





