
गोरखा/ बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता ६ जना अझै फेला परेका छैनन् । गएको असोज २५ गते आइतबार आएको लेदोसहितको बाढीमा बेपत्ता भएकाहरूको अवस्था अज्ञात रहँदा आफन्तको पर्खाइसँगै परिवारको पीडा पनि लम्बिँदै गएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेतका स्थानीय बाढीमा परेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा तेजबहादुर गुरुङ, उहाँकी श्रीमती सोनाम लामा, भोम अजे लामा, सोनामका दाजु कर्मा लामा, छोरा दोर्जे लामा तथा धार्चे गाउँपालिका–४ का काले गुरुङ रहेका छन् । उनीहरूको खोजी भइरहेपनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
बाढीले बुढीगण्डकी नदी आसपासका बस्तीमा ठुलो क्षति पु–याएको थियो । लेदोसहितको तीव्र बहावले नदी किनारका संरचना बगाउनुका साथै ढुंगा, माटो र गेग्रान थुपारेको थियो । विकट भूगोल र बाढीले पु–याएको क्षतिका कारण बेपत्ताको खोजी कार्य समेत कठिन बनेको छ ।
गहिरो खोंच, ठुला ढुंगा र लेदो थुप्रिएको स्थानमा पैदल पुगेर खोजी गर्न सहज नरहेको र कतिपय क्षेत्रमा हेलिकप्टरबाट खोजी गर्नुपर्ने अवस्था रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालेब ताए ।
बुढीगण्डकी बाढीले नदी आसपासका क्षेत्रमा ठुलो क्षति पु–याएको थियो । बाढीले घर, गोठ तथा उत्तरी गोरखाको १० वटा पुलसमेत बगाएर उत्तरी गोरखाबासीलाई आवतजावतमा समेत समस्या सिर्जना गरेको छ ।
प्राकृतिक विपत्तिको कारण बेपत्ता भएका व्यक्तिको अवस्था पत्ता नलाग्दा प्रभावित परिवारले मानवीय पीडासँगै गाँस, बासको समेत सामान गरिरहेका चुमनुब्री गाउँपालिकाले जनाएको छ ।
आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारमा चिन्ता र अन्योल थपिएको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले उत्तरी गोरखाका स्थानीय प्रभावित भएका छन् ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार बेपत्ताहरूको खोजी कार्य जारी छ । तर, बाढी आएको लामो समय बितिसक्दा पनि उहाँहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।





