मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

चापाकोटमा व्यावसायिक केरा खेती, वार्षिक एघार लाख आम्दानी

चापाकोटमा व्यावसायिक केरा खेती, वार्षिक एघार लाख आम्दानी

कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८३, मंगलबार
व्यावसायिक रुपमा गरिएको केरा खेती । फाईल तस्वीरः ढोरपाटन

स्याङ्जा / जिल्लाको चापाकोट-१०, आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर वार्षिक एघार लाख रुपियाँ आम्दानी गर्दै आएका छन् ।

एक रोपनी क्षेत्रफलमा १०० केराको बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै उनले अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाएका छन्। कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ। “व्यावसायको क्रममा मैले धेरै क्षेत्रमा हात हाले” पङ्गेनीले भने, “सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ।”

सुरुमा स्थानीय ‘मालभोग’ र ‘जि नाइन’ प्रजातिको केरा लगाएका उनले हाल जिनाइन जातको केरा हटाएर स्थानीय मालभोग मात्रै लगाएका छन् ।

केराबाट राम्रो आम्दानी हुन थालेपछि धान तथा मकै खेती हुँदैआएको जमिनमा केरा खेती विस्तार गरेको बताए । “अन्य खेतीभन्दा केरा खेती सहज लाग्यो, उत्पादित केराको बजारको माग पनि उच्च रहेकाले केरा खेती थालेको हुँ ।,” उनले भने, “आफ्नो १३ रोपनी र बाँकी अरुको जग्गा बन्धकी र भाडामा लिएर ६१ रोपनी क्षेत्रफलमा केरा खेती छ।”

यहाँ उत्पादन भएको स्थानीय जातको मालभोग केरा अन्य केराभन्दा ठुलो, आकर्षक र विषादीरहित तरिकाले पकाएर बिक्री गर्ने भएकाले पनि स्थानीय बजारमा अत्यधिक खपत हुने गरेको छ। विषादी तथा अखाद्य बस्तुको प्रयोग गरेर केरा नपकाउने र अर्गानिक केरा भएकै कारण पनि स्थानीय चापाकोट बजारमा केरा बिक्री हुँदैआएको छ ।

राम्रो र ठुला कोसा भएको केरा प्रतिदर्जन २०० र साना कोसा भएका केरा प्रतिदर्जन १५० का दरले बिक्री हुने गरेको छ । “खेतमा रहेका छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्” उनले थपे, “यी बोटहरुबाट उत्पादन भएका केरा बिक्रीबाट वार्षिक एघार लाख बढी आम्दानी हुँदै आएको छ ।”

खेतमा भएका सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक तीस लाख बढी आम्दानी हुने लक्ष्य उहाँको छ। घरपरिवारले रेखदेख गर्दै आएको उक्त केरा खेतीमा गोडमेल लगायत समयमा भने स्थानीयलाई रोजगारीसमेत हुने गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->