
पोखरा/मुस्ताङको मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा जारी छ । रथयात्रा सोमबार दिउँसो पोखरा आइपुगेको रथयात्रालाई यहाँ स्वागत गरिएको थियो ।
चैतको रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाका दिनसम्म महायज्ञ गरी आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा २०८३ आरम्भ भएको हो । मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संकल्पअनुसार अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रप्स एवं नेपाल तीर्थस्थल विकास समितिको संयुक्त आयोजनामा मुस्ताङको मुक्तिनाथ क्षेत्रमा रथयात्रा प्रारम्भ गरिएको हो ।
सबैको आस्था जागोस, जो मुक्तिनाथमा आएका छैनन् उनीहरुको पनि सहभागिता रहोस्, यज्ञमा सहभागी हुन नसकेकाको घरघरमा भगवान मुक्तिनाथको दर्शन गर्ने अवसर प्राप्त होस भन्ने उद्देश्यका साथ मेची–महाकाली मुक्तिनाथ रथयात्रा गरिएको हो ।
बाबाका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार वैदिक सनातन धर्मको संरक्षण, आध्यामिक चेतनाको विकास र राष्ट्रिय धार्मिक एवं सांस्कृतिक एकताका सन्देश प्रवाह गर्ने उद्देश्यले मेची–महाकाली रथयात्रा सुरु गरिएको बताए ।
रथयात्राले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मुख्य धार्मिकस्थल, मठमन्दिर र आश्रम तथा तीर्थस्थलसहित आमनेपालीलाई एकताको सूत्रमा जोड्न प्रेरणा मिल्ने स्वामी प्रपन्नचार्यले बताए । मुक्तिनाथ धामबाट शुभारम्भ भएको मेची–महाकाली गजेन्द्रमोक्ष नारायण धार्मिक रथयात्रा कात्तिक महिनाभरि चल्ने जनाइएको छ । रथयात्राको पहिलो दिन मुक्तिनाथबाट प्रस्थान गरेको रथयात्रा टोली बाग्लुङको पञ्चकोटमा पुगेको थियो ।
त्यहाँबाट पर्वत, कास्की, तनहु, धादिङ हुँदै काठमाडौँ पुग्नेछ । पुनःकाठमाडौँबाट तराईका विभिन्न धार्मिकस्थल हुँदै त्रिवेणीधाममा पुगेर गजेन्द्रमोक्ष धाममा प्रवेश गराइ समापन हुने स्वामी प्रपन्नाचार्यले बताए ।
मेची–महाकाली रथयात्रा समापनसँगै एक महिना लामो गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुनेछ । मुक्तिनाथ बाबाको सङ्कल्पमा आयोजित रथयात्राको माध्यमबाट मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिनाथको महिमालाई उजागर गर्दे समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धन तथा तीर्थस्थलको आपसी सम्वन्धलाई विस्तार गर्ने उद्देश्य छ ।
मुक्तिनाथक्षेत्रमा रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमासम्म ६ महिना लामो महायज्ञ चल्ने गरेको छ । मुक्तिनाथ रथयात्रा सात प्रदेशका ४० जिल्लामा पुग्नेछ । यसका लागि गाउँ र टोलीस्तरीय स्वागत समिति गठन गरिएको छ । मुक्तिनाथबाट प्रारम्भ भएको रथयात्रा सकिएपछि गजेन्द्रमोक्षधाममा विराट महायज्ञ चलाइने छ ।
महायज्ञमा २५ फुट अग्लो मौलो राखेर धान्याञ्चल गरिने छ । धान्याञ्चलमा २५ फुट अग्लो मौलो भर्न २१ हजार कर्ताले एक क्वीन्टल धान अपर्ण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।महायज्ञमा दैनिक सवा पाँच लाख बत्तीको आरती गरिनेछ । प्रत्येक १०८ कन्या र गाईको पुजन हुनेछ । यसरी सुरु हुने रथयात्रा तथा महायज्ञ फेरि रामनवमीदेखि गजेन्द्रमोक्ष धामबाट सुरु भई छ महिनासम्म मुक्तिनाथमा महायज्ञ सञ्चालन हुने स्वामी प्रपन्नचार्यले बताए ।





