मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अर्थमन्त्रीको अनपेक्षित अभिव्यक्ति

अर्थमन्त्रीको अनपेक्षित अभिव्यक्ति


  • Dhorpatan News
  • कार्तिक १० २०८३, मंगलबार

अर्थमन्त्री डा स्वर्णीम वाग्ले यतिबेला आफ्नै अभिव्यक्तिका कारण आलोचित छन् । भारतको मुलधारको टेलिभिजन एनडी टिभीको एक कार्यक्रममा वक्ताकारुपमा सहभागी भएका वाग्लेले ‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो तर त्यो युग अब सकिएको छ’ भनिदिए । यो अभिव्यक्तिसँगै उनले बालेन्द्र शाह नेतृत्वको नेपाल सरकार भारतको विरोधमा नरहेको तर यसअघिका सरकारहरुले त्यस्तो कार्य गरेको संकेत गरे । उनी जुन फोरममा बोल्दै थिए,नेपालको अर्थमन्त्रीको हैसियतबाट यस्तो अभिव्यक्ति अपेक्षित थिएन । भारतको निकट बन्ने लालसाले बाँधिएका अर्थमन्त्रीको अभिव्यक्तिबाट नेपालमा भारतविरोधी राष्ट्रवाद स्थापित भएको तथ्य पेश गरे । उनले अतीत र वर्तमान दुवै बिर्सिए । भावनामा बहकिए अनि गम्भीर गल्ती गरे ।

नेपालको राजनीतिमा भारतीय चासो कतैबाट छोपिएको छैन । २००७ सालको परिवर्तनदेखि नै भारतले नेपालको राजनीतिमा प्रत्यक्ष वा परोक्ष रुपले हस्तक्षेप गर्दै आएको छ । नेपालप्रति बढी चासो हुनुमा भारतको सुरक्षालगायतका विषय छन् । ती चासोआउँदा दिनमा पनि कायमै रहन्छन् । विशाल छिमेकी भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध छ । यही शताब्दीको सुरुवातमा मात्रै युरोपियन देशहरुले युनियनको माध्यमबाट प्रयोगमा ल्याएको सम्बन्ध नेपाल र भारतबीच सदियौँदेखि कायम छ । नेपाल र भारतको सीमामा काँडेतार छैन, एउटा देशको नागरिकले अर्कोदेशमा विना कुनै अवरोध आवागन अनि काम गर्ने सुविधा छ । त्यति हुँदाहुँदै पनि हाम्रो सम्बन्धमा कहीँकतै समस्या छन् । ती समस्या लुकाएर लुक्नेवाला पनि छैनन् ।

काठमाडौंको मेयर हुँदा ग्रेटर नेपालको नक्सामुनि बस्ने वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वकै सरकारले लिम्पियाधुरा र कालापानी मिचिएकोमा कूटनीतिक नोटमार्फत् जनाएको असन्तुष्टिलाई नै त्यसको उदाहरण मान्न सकिन्छ । हो,नेपालमा भारतले गरेका अनेकौं अर्घेल्याइँविरुद्ध नागरिकस्तरमा असन्तुष्टि छ ।संविधान जारी हुनेबखत असन्तुष्ट भारतले गरेको नाकाबन्दीको समयदेखि भारत प्रवेशको क्रममा सुरक्षाकर्मीबाट हुने दुव्र्यवहार अनि नेपाली भूभाग मिचिदा त्यस्तो असन्तुष्टि पोखिन्छ ।

भारतले नेपालको राजनीतिको सूक्ष्म व्यवस्थापन नगरोस् भन्ने भावनालाई भारतविरोधी मान्न मिल्दैन÷हुँदैन । खासमा अमूक देशका गलत कृत्यविरुद्ध सार्वभौम राष्ट्रले असन्तुष्टि जाहेर गर्छ । त्यस्तो असन्तुष्टि हिजो बालेन्द्र शाहले ग्रेटर नेपालको नक्सामार्फत् पनि गरेकै हुन् । एउटा स्वामीमानी नागरिकसँग पनि त्यो अधिकार रहन्छ÷रहनुपर्छ । आफ्ना असन्तुष्टिहरु खुल्लमखुला राख्ने र समाधान खोज्ने हिम्मत देखाउँदा नै स्वाभिमान कायम हुन्छ । तर, अर्थमन्त्रीले त्यो तथ्यलाई बिर्सिए । कूटनीतिक मर्यादाभन्दा बाहिर गई वर्तमान सरकार भारतको अत्यन्तै नजिक रहेको र हिजो राज्यशक्तिमा हुनेहरुले गलत गरेको भाष्य निर्माण गरिदिए । यो नै उनको सबैभन्दा ठूलो गल्ती हो ।एक सामान्य नेपाली नागरिकले नेपालका वामपन्थी शक्तिहरुले आफ्नो दस्तावेजमा लामो भारतलाई ‘विस्तारवादी’ शक्ति करार गरेको तथ्य पेश गर्दै आफ्नो अभिव्यक्तिको बचाउ गर्ने अधिकार राख्ला तर डावाग्ले यतिबेला सामान्य नागरिक वा प्रवुद्ध वर्गको व्यक्ति नभएर राज्यको अर्थमन्त्री छन् । अतः अर्र्थमन्त्रीको अभिव्यक्ति गलत हो र त्यसलाई उनले सच्च्याउनुपर्छ । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस्ता कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनबाट मन्त्रीहरुलाई रोक्नुपर्छ । बेलगाम बोलीले व्यक्ति र राष्ट्र दुवैको भलो गर्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->