सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८३, सोमबार

काठमाडौं / साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको हो । लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो ।

यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन ।

लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले १७.२ ओभरमा ८७ बनाउँदै अलआउट भयो ।

खेलमा सुदूरपश्चिमका मुख्य आशा गरिएका खेलाडीले सन्तोषजनक प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । जुन व्यक्तिगत रूपमा ब्याटरले बनाएको सर्वाधिक रन बन्यो ।

अनिल खरेलले १५ रन बनाए । ओपनर सैफ जैबले १३ रनमै रोकिए । अर्का ओपनर विनोद भण्डारीले नौ रन बनाएर पभेलिएन फर्किए । इशान पाण्डेले सात, अभिनाश बोहराले तीन, ब्रान्डन म्याकमुलेनले दुई, शेरफन रदरफोर्डले एक बनाउँदा आरिफ शेख, हेमन्त धामी र स्कट कुगेलेइन ‘डक’ आउट भएका थिए ।

लुम्बिनीले दोस्रो सिजन जित्दा फाइनलमा गरेको प्रदर्शनको झल्को दिलायो । गत सिजन लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा रोक्दै उपाधि जितेको थियो ।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न किशोर महतो र शेर मल्लको जोडी चम्कियो । किशोरले टोलीका लागि चार विकेट लिए । चार ओभर बलिङ गर्दा किशोरले २२ रन खर्चिएका थिए ।

शेरले भने तीन विकेट लिए । शेरले चार ओभर बलिङ गर्दा ११ रन खर्चिए । त्यसैगरी, तिलक भण्डारी, कप्तान रोहत पौडेल र शाड्ली भान शाल्विकले समान एक विकेट लिएका थिए ।

खेलमा यसै संस्करण पहिलो पटक प्रयोग गरेको डीआरएस प्रणालीको प्रयोग भयो । जसमा कूल पाँच अपिल भएको थियो ।

जितसँगै लुम्बिनीले प्रतियोगितामा दुई अंक जोडेको छ । अब लुम्बिनीले दोस्रो खेलमा आगामी अक्टोबर ३१ मा चितवन राइनोजविरुद्ध खेल्ने तालिका छ ।

खराब सुरुआत गरेको सुदूरपश्चिमले भने अक्टोबर २८ मा पोखरा एभेन्जसविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->