पोखरा/आगामी माघ ७ देखि २३ गतेसम्म आइसिसी यु१९ महिला टि२० विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ । नेपाल र बंगलादेशमा हुने उक्त विश्वकप पोखराले भने गुमाएको छ ।
यसअघि नेपालमा हुने खेलहरु पोखरामा आयोजना गर्ने गरी पहल भएपनि पूर्वाधार अभावका कारण ठूलो अवसर गुमेको हो । गण्डकी प्रदेश क्रिकेट संघले विश्वकप पोखरामा ल्याउनका लागि निकै प्रयास गरेपनि त्यो सम्भव हुन सकेन ।
संघकअध्यक्ष सञ्जयकान्त सिग्देलले स्थानीय तहले आवश्यक कार्य नगरिदिँदा समस्या परेको दाबी गरे । ‘हामीले निकै मिहेनत गरेका थियौं, विशेष गरी पोखरेली क्रिकेट प्रेमीहरूको ठूलो चासो थियो । हामीले पोखरालाई पनि एउटा भेन्युको रूपमा प्रस्तुत गरेका थियौँ र आइसिसीका प्रतिनिधिले आएर यहाँको तयारी र पूर्वाधारको अवस्था पनि अवलोकन गरेका थिए’, उनले भने, ‘तर, इमानदारीपूर्वक भन्नुपर्दा जुन स्तरको तयारी हामीले गर्नुपर्ने थियो, त्यसमा सम्भवतः हामी केही पछाडि प¥यौँ ।
आइसिसी महिला यु१९ विश्वकप नेपाली क्रिकेट इतिहासकै अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता भएको उनको भनाइ छ । उता नेपाल सरकारले भने नेपाल प्रिमियर लिग (एनपिएल) लाई होम एन्ड अवेका आधारमा गराउनका लागि देशभरका ८ सहरमा फ्लड लाइटसहितको क्रिकेट मैदान बनाउने प्रक्रियाको थलानी गरेको जनाएको छ ।
सरकारका भौतिक पूवार्धार विकास मन्त्री सुनील लम्सालले ८ सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना बनाएको बताएका छन् । उनले एनपिएललाई शुभकामना दिँदै आगामी संस्करण सबै प्रदेशमा गर्नका लागि सरकारले प्रक्रिया अगाडि बढाएको बताएका हुन् । मन्त्री लम्सालले एनपिएलका आगामी संस्करण ‘होम एन्ड अवे’का आधारमा खेल्ने व्यवस्थाका लागि आवश्यक काम अगाडि बढाएको बताएका हुन् ।
‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ,’ लम्सालले भने । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपिएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास सरकारले लिएको मन्त्री लम्सालको भनाइ छ ।
उनले भनेका छन्, ‘क्रिकेट संघ (क्यान)ले पनि सोही अनुरूप आवश्यक तयारी अघि बढाओस् ।’एनपिएलमा ८ टिम सहभागी छन् । जसमध्ये पोखरा एभेन्जर्सको होम ग्राउन्ड पोखरा क्रिकेट मैदान हो । यसले पोखरामा क्रिकेट मैदान बन्ने संकेत दिएको छ । पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक सुवोध त्रिपाठीले पोखरामा आगामी सिजनमा एनपिएल हुनेमा आशावादी रहेको सुनाए ।





