सन् २०११ जनवरीमा मोहन खड्कासँग विवाह गरेकी सपनाले त्यही वर्ष नोभेम्बरमा छोरी जन्माइन्। श्रीमान् सन् २०१४ मा डेनमार्क पुगे। त्यसबेला दोस्रो सन्तानको जन्म र हुर्काउने जिम्मेवारीमा रहेकी सपना भने नेपालमै थिइन्। परिवार र बच्चाको जिम्मेवारीका कारण उनको डेनमार्क यात्रा तत्काल सम्भव भएन।
सन् २०१६ मार्चमा उनी डेनमार्क पुगिन्। तर यो यात्रा एक्लै थियो। उनका दुवै सन्तान नेपालमै थिए- छोरी बहिनीको जिम्मामा र छोरा ससुरालीतर्फ। नयाँ देशमा पुगेर उनले काम खोज्न थालिन्, भाषा सिक्न थालिन् र आफ्नो जीवनलाई नयाँ ढंगले अघि बढाउने प्रयास गरिन्। तर दिनभरको व्यस्ततापछि कोठामा फर्किंदा मन भने नेपालमै रहेका बच्चाहरूमा पुग्थ्यो।
‘कामबाट फर्किएपछि बच्चाहरू सम्झेर रुन्थेँ,’ उनी भन्छिन्, ‘बाहिरबाट हेर्दा युरोप आएपछि पैसा कमाउने र राम्रो जीवन बिताउने कुरा देखिन्छ। तर आफ्ना बच्चाहरूबाट टाढा बस्नुपर्दाको पीडा अरूलाई देखिँदैन।’

डेनमार्कमा बस्दै गर्दा उनको सबैभन्दा ठूलो चाहना आफ्ना बच्चाहरूलाई आफूसँगै राख्ने थियो। सन् २०१८ को मेमा नेपाल जाँदा उनले छोराछोरीलाई अब चाँडै डेनमार्क ल्याउने आश्वासन दिइन्। केही महिनापछि, डिसेम्बरमा, त्यो प्रतीक्षा सकियो। उनले दुवै सन्तानलाई डेनमार्क ल्याइन्।
करिब साढे दुई वर्षपछि आमा र छोराछोरी फेरि एउटै घरमा थिए। तर त्यसपछि उनको जिम्मेवारी झन् बढ्यो। बच्चाहरूको स्कुल, घरको काम र आफ्नो रोजगारीसँगै उनले डेनमार्कमा आफ्नै भविष्य पनि बनाउनुपर्ने थियो। यही क्रममा सुरु भयो अर्को संघर्ष- भाषा सिक्ने, सिप खोज्ने र आफूलाई नयाँ कामका लागि तयार गर्ने।
हाउसकिपिङसँगै भाषा सिकाइ
डेनमार्क पुगेको करिब दुई महिनापछि, मे २०१६ तिर सपनाले हाउस किपिङको काम सुरु गरिन्। डेनिस भाषा आउँदैनथ्यो। अंग्रेजीबाट काम चलाउन सकिने भएकाले सुरुवातका दिनमा यही काम सहज विकल्प बन्यो।
तर, कामसँगै उनले भाषालाई आफ्नो पहिलो आवश्यकता बनाइन्। सन् २०१६ को गर्मीयामदेखि डेनिस भाषा कक्षा लिन थालिन्। सुरुमा सातामा दुई दिन, पछि तहहरू पार गर्दै पढाइ अगाडि बढाइन्। सप्ताहन्तमा समेत लामो समय कक्षामा बिताइन्। काम र भाषा सँगसँगै चले।
सपनाको बुझाइमा विदेशमा आफ्नो खुट्टामा उभिन भाषाको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। भाषा नजानेसम्म काम खोज्न, कार्यालयमा कुरा गर्न, तालिम लिन र आफ्नो अधिकार बुझ्नसमेत कठिन हुन्छ। त्यसैले उनले कामसँगै भाषालाई पनि आफ्नो यात्राको अनिवार्य हिस्सा बनाइन्।
करिब २०१८ सम्म उनले हाउस किपिङ गरिन्। त्यसपछि नयाँ सिप सिकेर अर्को क्षेत्रमा जाने सोच बनाउन थालिन्।
बच्चाहरूलाई साथमा ल्याएपछि…
बच्चाहरू डेनमार्क आएपछि सपनाको दैनिक जीवन झन् व्यस्त भयो। छोरीको स्कुल घरबाट करिब तीन किलोमिटर टाढा थियो। छोरा स्कुल जान केही समय कुर्नुपर्षझ। श्रीमान्को कामको समय पनि लामो थियो।
सपनाले नेपालमा कहिल्यै साइकल चलाएकी थिइनन्। तर छोरीलाई स्कुल पुर्याउन साइकल आवश्यक भयो।उनले साइकल सिकिन्।छोरालाई पछाडि राखेर साइकलमा स्कुल पुर्याउन थालिन्। त्यो साइकल नयाँ देशमा आफ्नो जीवन आफैं सम्हाल्न सिकिरहेको एउटा अभ्यास पनि थियो।
त्यसपछि उनले कारको लाइसेन्स निकालिन्। जसले स्कुल, जब सेन्टरका विभिन्न भेटघाट र तालिममा आउजाउ गर्न सहज भयो। साइकलदेखि कारसम्मको यात्रा तय गरिसक्दा पनि बस चलाउने योजना भने उनको मनमा अझै थिएन।
एउटा ६ हप्ते तालिम
सपनाले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने रुचि देखाएकी थिइन्। त्यसका लागि खाना पकाउने तथा होटल-रेस्टुरेन्टसम्बन्धी सिपको तालिम गर्ने योजना पनि बनाएकी थिइन्। तर लामो तालिमका लागि आवश्यक आर्थिक सहयोग पाइनन्। उता, जब सेन्टरबाट पाउँदै आएको सहयोगको अवधि पनि सकिन लागेको थियो।
अब नयाँ सिप सिकेर रोजगारीमा जानुपर्ने दबाब थियो। यही क्रममा ६ हप्ताको तालिमको विकल्प खोज्दा बस चालकसम्बन्धी तालिम अगाडि आयो। तालिम निःशुल्क थियो।
सपनाको बस चालक बन्ने योजना थिएन। तर नयाँ सिप सिक्ने अवसरका रूपमा त्यो तालिम रोजिन्। त्यही ६ हप्ते तालिम उनको जीवनको बाटो बदल्ने मोड बन्यो।
बस चालकको तालिममा पुगेपछि पहिलो चुनौती भाषा बन्यो। सामान्य कुराकानीका लागि प्रयोग हुने डेनिस भाषा र बसका प्राविधिक विषय बुझ्नुपर्ने भाषा फरक थियो। बसका मेकानिकल विषय, सुरक्षा प्रणाली, सडकका नियम र प्राविधिक शब्दावली बुझ्न उनलाई निकै गाह्रो भयो।
बिहान ८ बजेदेखि दिउँसो साढे ३ बजेसम्म सोमबारदेखि शुक्रबारसम्म कक्षा हुन्थ्यो। थ्योरी र प्राक्टिकल दुवै चल्थे। सुरुका दुई हप्ता उनलाई लाग्यो, ‘म सक्दिनँ होला।’
पढाइएको कुरा बुझ्नुअघि अनुवाद गर्नुपर्थ्यो। अनुवाद गर्दागर्दै समय लाग्थ्यो। त्यसमाथि कामको थकान पनि थियो। तर त्यो बेला श्रीमान् मोहन उनको बलियो साथ बने। उनले घरको जिम्मेवारी सम्हालिदिए- बच्चाहरूको स्कुलदेखि खाना र घरायसी कामसम्म।
सपनाले पढाइमा मात्र ध्यान दिन पाइन्। ‘मलाई घर आएर खाना पकाउनेदेखि केही पनि गर्नुपरेन,’ उनी सम्झिन्छिन्, ‘सबै उहाँले सम्हालिदिनु भयो।’
घरको जिम्मेवारीमा श्रीमान्को साथ पाएपछि उनले पढाइलाई निरन्तरता दिइन्।
कार चलाउनु र ठूलो बस चलाउनु फरक थियो। कारमा चालकको सिट अगाडिको पांग्राभन्दा पछाडि हुन्छ। बसमा चालकको सिट नै अगाडिको पांग्राभन्दा अगाडि हुन्छ।
पहिलो पटक प्रशिक्षणमा प्रशिक्षकले ‘अझै अगाडि जा’ भन्दा उनलाई लाग्थ्यो- अब त बस ठोक्किन्छ। बसको अगाडिको भागको अनुमान लगाउन उनलाई समय लाग्यो। तर विस्तारै बसको आकार, मोड र दुरीको हिसाब बुझ्न थालिन्। अभ्यास बढ्दै जाँदा डर पनि घट्दै गयो।
उनले एउटा कुरा बुझिन्- नयाँ काममा पहिलो डर कामको कठिनाइभन्दा पनि आफूले सक्छु कि सक्दिनँ भन्ने मनको डर रहेछ।
पाँच मिनेटमै बिग्रिएको परीक्षा
थ्योरीमा उनले निकै मिहिनेत गरिन्। तर प्राक्टिकल परीक्षा फरक थियो। पहिलो पटक परीक्षा दिँदा करिब पाँच मिनेटमै उनको परीक्षा बिग्रियो।
तर, शिक्षकले उनको क्षमता देखिसकेका थिए। पास हुन्छिन् भन्ने विश्वास शिक्षकले गुमाएनन्। दोस्रो परीक्षाअघि थप अभ्यास गराए। ‘तिमी पास हुन्छौ’ भन्दै आत्मविश्वास बढाइरहे।
दोस्रो पटक सपना परीक्षा दिन गइन्। यस पटक पास भइन्। त्यो सफलतासँगै डेनमार्कमा बस चालक बन्ने बाटो खुल्यो।

बस चालकका रूपमा पहिलो दिन सपना बिहान ५ बजे उठिन्। ड्युटी करिब बिहान ६ बजेतिर सुरु हुने थियो। ग्यारेज पुगिन्। त्यहाँबाट बस लिएर तोकिएको स्टेसनतर्फ गइन्। त्यसपछि पहिलो पटक यात्रुसहित बस चलाउन थालिन्।
५ वर्षको स्टेयरिङ
सपनले बस चलाउन थालेको अगस्टमा ५ वर्ष पुग्यो। उनीभन्दा अगाडि डेनमार्कमा करिब ३०-३५ जना नेपाली पुरुष बस चालक रहेको उनी बताउँछिन्। तर आफू पहिलो नेपाली महिला बस चालक भएको उनको अनुभव छ।
उनीपछि थप नेपाली महिलाहरू यो क्षेत्रमा आएका छन्। आफूपछि आएका महिलाहरूले आफूलाई हेरेर प्रेरणा पाएको बताउँदा उनलाई खुसी लाग्छ। तर बसको स्टेयरिङ समात्नुअघि उनले पनि डर बोकेकी थिइन्।
उनी विदेशी थिइन्। महिला थिइन्। यात्रुहरूले कसरी हेर्लान्? कसैले दुर्व्यवहार गर्ला कि? तर ५ वर्षको अनुभवले उनको प्रारम्भिक डरलाई गलत साबित गर्यो। उनले यात्रुबाट भेदभाव वा दुर्व्यवहारको अनुभव गरेकी छैनन्। बरु धेरै ठाउँमा सकारात्मक प्रतिक्रिया पाइन्।
कहिलेकाहीँ यात्रुहरू उनलाई देखेर खुसी हुने, अभिवादन गर्ने र प्रशंसा गर्ने गर्छन्। नेपालबाट आएका नेपाली यात्रुहरूका लागि त उनको उपस्थिति अझ विशेष हुने गरेको छ।
सुरक्षाको प्रश्न
सार्वजनिक बस चलाउनुमा रमाइलो मात्र छैन। जिम्मेवारी पनि उत्तिकै ठूलो छ। बिहान सबेरै ड्युटी हुने दिन एक्लै बस चलाउनुपर्दा सुरुमा सपनालाई सुरक्षाको डर लाग्थ्यो। अपरिचित यात्रु, सुनसान सडक र बिहानको अँध्यारोले मनमा प्रश्न उठाउँथ्यो।
कम्पनीले इमर्जेन्सी बटनको व्यवस्था गरेको थियो। समस्या परे तत्काल सहयोग र प्रहरीसम्म सूचना पुग्ने व्यवस्था थियो। त्यो सुरक्षा प्रणालीले आत्मविश्वास बढायो। उनको बुझाइमा सुरक्षा भनेको केवल नियम बनाएर पुग्ने विषय होइन। समस्या परेको अवस्थामा तत्काल सहयोग पाइन्छ भन्ने विश्वास पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
यही अनुभवका आधारमा उनी नेपालमा महिलालाई सार्वजनिक यातायात क्षेत्रमा ल्याउँदा सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँछिन्।
‘महिला होस् वा पुरुष, सुरक्षा चाहिन्छ,’ उनी भन्छिन्, ‘तर महिलालाई अझ बढी सुरक्षित महसुस हुने वातावरण बनाउनुपर्छ।’
डेनमार्कको बस, नेपालका सडक
डेनमार्कमा पाँच वर्ष बस चलाएपछि सपना दुई-तीन पटक नेपाल गएकी छिन्। नेपालमा सार्वजनिक बस चढेकी पनि छन्। त्यहाँको अनुभवले उनलाई दुई देशको सार्वजनिक यातायातबीचको अन्तर अझ स्पष्ट देखायो।
बस कहाँ रोकिने, कहिले रोकिने, समय तालिका, चालकको सुरक्षा र यात्रुको सुरक्षामा उनी ठूलो अन्तर देख्छिन्। चालकले मोबाइल चलाउने, यात्रु जहाँ पायो त्यहीँ चढाउने-ओराल्ने र चालक तथा यात्रुबीच प्रत्यक्ष सम्पर्क बढी हुने अवस्थाले उनलाई सोच्न बाध्य बनाएको छ।
डेनमार्कमा चालकका लागि छुट्टै सुरक्षित स्थान हुन्छ। गाडी चलाइरहेका बेला अनावश्यक कुराकानी गर्न पाइँदैन। समय तालिकाको पालना अनिवार्य जस्तै हुन्छ। बस ढिलो हुने अवस्था आए कम्पनीलाई जानकारी गराइन्छ।
उनका अनुसार नेपालमा सार्वजनिक यातायात सुधार्ने हो भने चालकको तालिम, चालक तथा यात्रुको सुरक्षा, समयको अनुशासन, निश्चित बस स्टप, बसको अवस्था र नियमित अनुगमनमा ध्यान दिनुपर्छ।
तालिमका क्रममा उनलाई सिकाइएको एउटा कुरा उनले विशेष रूपमा सम्झिन्छिन्- पहिलो प्राथमिकता आफू। सुरक्षित चालकले मात्र यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन सक्छ भन्ने सोच।
उनका लागि यो कुरा केवल डेनमार्कको बस चलाउने नियम होइन, नेपालमा सार्वजनिक यातायातको बहसमा पनि महत्वपूर्ण पाठ हो।
‘काम ठूलो-सानो हुँदैन’
बस चालक बन्ने सपना उनले कहिल्यै देखेकी थिइनन्। उनी यो पेसामा संयोगले आइन्। तर ५ वर्षदेखि यही काममा छिन् र आफ्नो पेसाप्रति सन्तुष्ट छिन्।
उनका लागि बस चलाउनु केवल रोजगारी मात्र होइन। हरेक दिन यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु जिम्मेवारी पनि हो।
कमाइ अन्य धेरै पेसाभन्दा असाधारण रूपमा धेरै नभए पनि नियमित काम, अतिरिक्त समय तथा सप्ताहन्त र बिहान–बेलुकाको पालोको सुविधाले यो पेसालाई आकर्षक बनाउने उनी बताउँछिन्।
सुरुका चार वर्ष एउटा कम्पनीमा काम गरेपछि अहिले उनी घरनजिकैको कम्पनीमा काम गर्छिन्। घरनजिकै काम हुँदा आउजाउ र पारिवारिक जिम्मेवारी व्यवस्थापन गर्न पनि सहज भएको छ।
विदेशमा रहेका नेपाली महिलाका लागि उनको सन्देश सरल छ-पहिले आफ्नो मन र भविष्यको दिशा तय गर्नुपर्छ। भाषा सिक्नुपर्छ। अनि कामलाई सानो-ठूलो भनेर हेर्नु हुँदैन।
‘कुनै पनि पेसा ठूलो वा सानो हुँदैन,’ उनी भन्छिन्, ‘त्यसलाई हेर्ने दृष्टिकोणले नै त्यसलाई विशेष बनाउने हो।’
‘सकिँदो रहेछ’
बागलुङको गाउँबाट डेनमार्क पुगेकी सपना अहिले त्यही देशका सडकमा बस चलाउँछिन्। कहिलेकाहीँ उनको बसमा नेपालबाट आएका नेपाली यात्रु पनि भेटिन्छन्। नेपाली चालक देखेपछि उनीहरू खुसी हुन्छन्, कुराकानी गर्छन्, फोटो खिच्छन्। कतिपयले त आफूले पनि यस्तो काम गर्न सकिने रहेछ भनेर सुनाउँछन्।
त्यस्ता भेटले उनलाई आफ्नो सुरुवाती दिन सम्झाइदिन्छ। डेनमार्क पुगेपछि भाषा नबुझेर काम खोज्दाका दिन, नेपालमा छोडेका बच्चाहरूको सम्झना, साइकल सिक्दाको समय, बसको तालिममा पहिलो पटक स्टेयरिङ समात्दाको डर-सबै कुरा एकैपटक आँखाअघि आउँछन्।
त्यतिबेला बस चलाउने कुरा त परै जाओस्, आफूले नयाँ देशमा कसरी जम्ने भन्ने नै उनको चिन्ता थियो। आज भने बिहान उठेर बसको स्टेयरिङ समात्नु उनको दिनचर्या बनेको छ।
पाँच वर्षअघि जुन काम सुरु गर्दा उनी आफैंसँग सोध्थिन्, ‘म सकुँला र ?’ आज त्यसको जवाफ दिन उनलाई धेरै शब्द चाहिँदैन। ‘सकिँदो रहेछ।’





