बागलुङ/नेपाल सरकारले आर्थिक विधेयक २०८३ मार्फत् करको दायरा बढाउने र छुटको व्यवस्थासमेत गरेपछि राजस्व सङ्कलन बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यो संकेत देखिएको हो ।
२०८२÷०८३ मा लक्ष्यको ७० प्रतिशतमात्रै राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय बागलुङले चालु वर्षको पहिलो तीन महिनामा ९५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो । प्रमुख कर अधिकृत कपिल सिलवालले आर्थिक विधेयक २०८३ मार्फत करको दायरा बढाउने र नयाँ कर राजस्वको प्रावधान सुरुवात गर्न विभिन्न करमा छुट दिएपछि सङ्कलनमा वृद्धि भएको जनाए ।
कार्यालयले ३ महिनामा २८ करोड ७८ लाख ८२ हजार रुपियाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २७ करोड ३४ लाख ७६ हजार जम्मा भएको हो । आयकर र अन्तशुल्कमा भने कार्यालयले शतप्रतिशत भन्दा बढी सफलता पाएको छ । चालु वर्षको पहिलो तीन महिनाको आयकरको लक्ष्य १३ करोड ७२ लाख २४ हजार रहेकोमा असोज मसान्तसम्ममा १५ करोड ७४ लाख ६३ हजार रुपियाँ संकलन गरेको छ । यो १ सय १४ दशमलव ७५ प्रतिशत हो ।
अन्तशुल्क २ करोड १३ लाख ३५ हजार लक्ष्य राखिएकोमा असोज मसान्तसम्ममा २ करोड ३९ लाख ८८ हजार सङ्कलन गरी १ सय १२ दशमलव ४४ प्रतिशत कर सङ्कलन गरेको हो । कार्यालयले ब्याजकर, मूल्य अभिवृद्दि कर र बहालकर भने लक्ष्यभन्दा कम सङ्कलन गरेको छ । ‘बैंकहरुमा ब्याजदर गिर्दो अवस्थामा पुगेका कारण कर राजस्व पनि घटेको छ’, सिलवालले भने, ‘मूल्य अभिवृद्धि कर पनि निराशाजनक छ ।’
बयाजकरतर्फ ३ करोड ४९ लाख ९ हजारको लक्ष्यमा २ करोड ३७ लाख ७३ हजार सङ्कलन गरी ६८ प्रतिशत मात्रै प्रगति भएको छ । ८ करोड ९६ लाख ४५ हजार लक्ष्य राखिएको मूल्य अभिवृद्दि करमध्ये असोजसम्ममा ६ करोड ४६ लाख १० हजार रुपियाँमात्रै सङ्कलन गर्न सफल भएको हो । यो ७२ प्रतिशत हो ।
बहाल करका लागि भने जिल्लामा तत्काल तिर्ने बानीको विकास नभएपछि समस्या आएको हो । लक्ष्य ४२ लाख १५ हजार लक्ष्य राखिएकोमा १४ लाख २९ हजार रुपियाँमात्र सङ्कलन भएको छ । यो लक्ष्यको ३३ प्रतिशतमात्रै हो ।
मूल्य अभिवृद्धि कर भने साउन महिनाभित्र तिर्नेलाई छुटको व्यवस्थापन भएकाले पहिलो त्रैमासिकमै लक्ष्यभन्दा धेरै जम्मा भएको छ । गत वर्ष १ अर्ब ८३ करोड ८७ लाख लक्ष्य राखेकोमा असार मसान्तसम्ममा १ अर्ब २९ करोड ३७ हजार मात्रै सङ्कलन गरी ७० दशमलव ४५ प्रतिशत प्रगति भएको थियो ।





