बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

बागलुङका सबै किशोरीलाई एचपिभी

बागलुङका सबै किशोरीलाई एचपिभी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८३, बिहिबार

बागलुङ/बागलुङका २ हजार १ सय ८२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्वको खोप (एचपिभि) लगाएका छन् । यस वर्ष २ हजार १ सय ९६ जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य थियो ।

असोज महिनाको दोस्रो हप्ताभित्र २ चरणमा गरी विद्यालय जाने कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई एचपिभी लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।

गलकोटका २ सय ६३, जैमिनीका १ सय ७५, ढोरपाटनका ३ सय ६०, बागलुङ नगरपालिकाका ४ सय ६२, काठेखोलाका १ सय २५, तमानखोलाका ९४, ताराखोलाका ६७, निसीखोलाका २ सय ५१, बडिगाडका ३ सय ५ र बरेङ गाउँपालिकाका ८० जना किशोरीलाई खोप लगाइएको छ । यो वर्ष विद्यालय बाहिर रहेका ९ किशोरीलाई पनि घरमै पुगेर स्वास्थ्यकर्मी खोप दिएका छन् ।

यसअघि एचपिभी खोप लगाउन जनस्वास्थ्यले जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई अभिमुखीकरण दिएको थियो । खोप लगाउनुपूर्व पालिकामा स्वास्थ्य संस्थाका प्रमुख र वडा स्तरमा स्वास्थ्यकर्मीबीच अभिमुखीकरण गरिएको थियो ।

जनस्वास्थ्यले यस वर्ष एचपिभी खोप लगाउने जिम्मा स्थानीय तहलाई दिएको थियो । ‘लक्षित किशोरीलाई खोपमा समेट्न स्वास्थ्यकर्मीहरु विद्यालय र घरघरमा पुगेर खोप लगाएका छन्’, खत्रीले भने । बागलुङ जिल्ला प्राकृतिक विपद्ले प्रभावित भएपनि तोकिएकै समयमा सबै किशोरीलाई खोप लगाइएको खत्रीले बताए ।

खोप लगाउन हरेक पालिकामा समय तालिका बनाइएको थियो । गलकोट नगरपालिकामा असोज ४ देखि ७ र ताराखोला गाउँपालिकामा असोज ४ देखि ७ गतेभित्र खोप लगाइयो । असोज दोस्रो हप्तादेखि बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङ, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका खोप लगाइएको थियो ।

आर्थिक वर्ष २०८१÷०८२ मा १० देखि १४ वर्ष उमेर समूहका ११ हजार १ सय ७७ जना र गत वर्ष कक्षा ६ मा पढ्ने बाहेक १० वर्ष उमेर समूहका गरी ३ हजार ३ सय २ जना किशोरीलाई खोप लगाइएको थियो । अभियानमा नियमित खोप लगाउन छुटेका बालबालिकालाई जोड्न स्वास्थ्यकर्मीले घरदैलो गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->