बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

प्राविधिक खराबी र असावधानीले दुर्घटना

प्राविधिक खराबी र असावधानीले दुर्घटना

असोज २३ गते दुर्घटना भएको कालिका बोर्डिङ स्कुलको बसमा सवार ६ जनाको ज्यान गएको थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८३, बिहिबार

पोखरा/दसैंअघि पोखरा–२८, ओख्लेमा भएको स्कुल बस दुर्घटनाको कारण तीव्र गति र गाडीकै गडबडी भएको निष्कर्ष निकालिएको छ । कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

अझै केही विद्यार्थी घाइते छन् । घटनापछि पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिले दुर्घटनाका कारण खोजी गर्दै दुर्घटना रोक्न कडा कदम चाल्न सुझाव दिएको छ । दुर्घटनाको मुख्य कारण प्राविधिक खराबी तथा मानवीय असावधानीदेखाइएको छ । दुर्घटनाग्रस्त बस विद्यालयको आफ्नै स्वामित्वमा नभई भाडामा चलाइएको खुलेको छ ।

उक्त बस २०८२ पुसमा नवीकरण गर्दा अनिवार्य प्राविधिक जाँचपास नै नगरिएको भेटिएको छ । चालक तुलबहादुर गुरुङ विद्यार्थी लिन ढिलो पुगेका कारण गाडी तीव्र गतिमा हुइँक्याएको बयानको क्रममा खुलेको छ ।

तीव्र गतिका कारण गाडीको बायाँ पांग्रा सडकको होचो किनारतर्फ झरेर दुर्घटना भएको समितिको अनुमान छ । चालकले स्टेरिङ बायाँतर्फ मोड्न खोज्दा नसकेको र आत्तिएर नियन्त्रण गुमाउँदा बस भीरमा खसेको समितिको प्रतिवेदनमा उल्लेख छ । सडकको सतह ठीकै भए पनि उकालो र घुम्ती भएको किनारमा छेकबार आवश्यक रहेको समितिले सुझाएको छ ।

चालकले सुरुमा गाडीको अगाडि कालो वस्तु आएर छेकेको बयान दिएका थिए । ३० सिट क्षमताको बसमा चालकसहित १९ जनामात्र थिए । छानबिन समितिले विद्यालय यातायातलाई सुरक्षित बनाउन तत्कालीन र दीर्घकालीन सुझाव दिएको छ ।

विद्यालयका सवारी साधनको नवीकरण गर्दा अनिवार्य प्राविधिक जाँच पास र बिमा भएको कागजात अनिवार्य गरिनुपर्ने सुझाव दिइएको छ । नेपाल सरकारको स्कुल बस निर्देशिकालाई पूर्ण लागू गर्नुपर्ने तथा विद्यालय बस चलाउने चालकहरूको नियमित स्वास्थ्य परीक्षण र योग्यता प्रमाणीकरण अनिवार्य गरिनुपर्ने सुझाव पनि छ ।

समितिले भविष्यमा बालबालिकाको ज्यान जोखिममा पर्न नदिन दीर्घकालीन रणनीतिक सुझाव पनि दिएको छ । विद्यालयका प्रत्येक सवारी साधनको गति र ठाउँ ट्र्याक गर्न जिपिएस प्रणाली तथा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने, विद्यालयले प्रयोग गर्ने प्रत्येक सवारीको मर्मत सम्भारसम्बन्धी छुट्टै फाइल खडा गरी नियमित अभिलेख राख्नुपर्ने सुझाव छ ।

स्कुल बस सञ्चालन तथा व्यवस्थापनसम्बन्धी छुट्टै कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्ने र सरोकारवाला निकायबाट नियमित अनुगमन गर्ने र चालक तथा परिचालकलाई नियमित सुरक्षा तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी, चालक तथा परिचालक सबैको अनिवार्य दुर्घटना बिमा गर्न पनि सुझाइएको छ ।

असोज २३ गते माझठानाबाट कालिका बोर्डिङ स्कुलतर्फ विद्यार्थी लिएर आउँदै गरेको बस ओख्लेको भीरबाट खसेको हो । घटनापछि महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->