म्याग्दी / मुस्ताङ भ्रमण र अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकका लागि म्याग्दीको भुरुङ्ग–तातोपानी विश्रामको आकर्षक गन्तव्य बनेको छ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको छेउमै रहेको अन्नपूर्ण गाउँपालिका–२ को प्राकृतिक तातोपानी कुण्डमा दैनिक सयौँ पर्यटकले तातोपानीको पोखरीमा डुबुल्की मारेर यात्राको थकान मेटाउने गर्दछन् । पर्यटकीय सिजन सुरु भएकासँगै तातोपानीमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।
अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी–जोमसोम सडक हुँदै मुस्ताङ आवतजावत गर्ने तथा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने पर्यटकका लागि भुरुङ्ग–तातोपानी आकर्षक विश्रामस्थल बनेको छ । यहाँ पर्यटकको सुविधाका लागि साना ठुला गरेर ३० भन्दा बढी होटलहरु सञ्चालनमा छन् ।
यहाँको प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राका क्रममा भएको थकान मेटिने र शरीरमा स्फूर्ति आउने भएकाले पर्यटकहरू दिभरको यात्रा पछि साँझपख तोतोपानी कुण्डमा स्नान गर्न आउने गरेको कुण्डका सञ्चालक आशिष चोचाङ्गीले बताए ।
दसैँ–तिहार विदाको अवसरमा मुस्ताङ र अन्नपूर्ण आधार शिविरको भ्रमणमा आउने पर्यटकका कारण दिनभर नै कुण्डमा चहलपहल हुने गरेको छ । यस वर्ष बाढीपहिरोको असरका कारण गत वर्ष जस्तो पर्यटक आगमनको नभएको उले बताए । अहिले दैनिक एक सयदेखि दुई सय जनासम्म पर्यटक आउने गरेका छन् ।
कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानी संकलन गरेर दुईवटा पोखरी र नुहानका लागि धारा निर्माण गरिएको छ । कुण्डमा बिहान ६ देखि राति १० बजेसम्म स्नान गर्न पाइन्छ । गाउँपालिकाले स्नान गर्न आउने नेपालीका लागि ५० रुपियाँ र विदेशीका लागि १५० रुपियाँ प्रवेश शुल्क निर्धारण गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ मा भुरुङ्ग-तातोपानी कुण्ड सञ्चालनका लागि दुई महिनाका लागि १६ लाख रुपियाँमा प्रवेश शुल्क संकलन र होटल सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरेको कुण्ड सञ्चालक चोचाङ्गीले बताए । गाउँपालिकाले तातोपानी कुण्डमा भौतिक पूर्वाधार निर्माण गर्न लागेकाले दुईमहिनाका लागि मात्र कुण्ड सञ्चालनका लागि सम्झौता गरेको हो ।
गाउँपालिकाले तातोपानीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न चालु आर्थिक वर्षमा करिब तीन करोड रुपियाँ बजेटबाट पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ ।





