पोखरा / अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।
यस निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) को शक्ति सन्तुलन निर्धारण हुनेछ । निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ ।
अमेरिकी निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन् ।
यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ । सिनेटका ३३ नियमित सिटसँगै दुई विशेष निर्वाचन पनि हुँदैछन् । त्यस्तै, ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ ।
हाल रिपब्लिकन पार्टीको प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत छ । त्यसैले डेमोक्र्याटिक पार्टीका लागि यस निर्वाचनमा दुवै सदनमा आफ्नो उपस्थिति बलियो बनाउनु मुख्य चुनौती छ ।
प्रतिनिधिसभामा रिपब्लिकनको बहुमत साँघुरो रहेकाले केही निर्वाचन क्षेत्रको नतिजाले पनि सदनको शक्ति सन्तुलन परिवर्तन गर्न सक्छ । सिनेटमा बहुमत प्राप्त गर्न डेमोर्क्याटहरूले चार सिटको खुद वृद्धि गर्नुपर्ने अवस्था छ ।
मध्यावधि निर्वाचनमा सत्तारूढ राष्ट्रपतिको दलले संसदमा आफ्नो बहुमत गुमाउने सम्भावना रहने भएकाले यसलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ ।
यदि डेमोक्र्याटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गरे भने ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय निगरानी र अनुसन्धान बढ्न सक्छ । त्यस्तै, रिपब्लिकनले बहुमत कायम राखेमा ट्रम्पलाई आफ्नो नीतिगत एजेन्डा अघि बढाउन सहज हुनेछ ।
रोयटर्सका अनुसार यसपटकको निर्वाचनमा जीवनयापनको लागत, आर्थिक अवस्था, इरानसँगको युद्ध र ट्रम्प प्रशासनका नीतिहरू प्रमुख चासोका विषय बनेका छन् ।
निर्वाचनको अन्तिम नतिजाले सन् २०२८ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुवै दलको राजनीतिक रणनीति र शक्ति सन्तुलनमा समेत प्रभाव पार्नेछ ।





