पोखरा / ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् ।
लमजुङको मर्स्याङ्दीमा होटेल सञ्चालन गर्दा त्यहीँ कार्यरत १६ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले उनलाई ११ वर्ष आठ महिना एक दिन कैद सजाय सुनाएको थियो ।
०८२ साउनमा वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई कास्की स्थानान्तरण गरिएको थियो । तर, सोही वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारमा अशान्त स्थिति सिर्जना भएपछि उनी फरार भएका थिए ।
भदौ २५ गते बेलहिया नाका हुँदै भारत पुगेका घिमिरेले मुम्बई र दिल्लीका होटेलमा परिचय बदलेर काम गरे । दिल्लीमा भेटिएका साथीको सल्लाहमा उनी सोही वर्ष पुसमा नेपाल फर्केर उपल्लो मुस्ताङ पुगेका प्रहरीले जनाएको छ ।
उनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२, चैलेस्थित प्रमिसा होटेलमा नौ महिना र पछि लिबन रेस्टुरेन्टमा पहिचान लुकाएर काम गरिरहेका थिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा खटिएको विशेष टोलीले शुक्रबार (कात्तिक १३) उनलाई लिबन रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो । उनलाई शनिबार (कात्तिक १४) पुनः कास्की कारागारमा बुझाइएको छ ।
कास्कीबाट भागेका ७५३ कैदीमध्ये ११ विदेशीसहित ११० जना अझै फरार रहेकाले प्रहरीले विशेष खोजी अभियान जारी राखेको छ ।





