पोखरा / डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना कैदी फरार भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर फरार भएका हुन् ।
फरार हुनेमा पाँचजना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका र तीनजना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति छन् ।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा रहेका छन् ।
उनीहरू सबै जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए ।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका-९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका-३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन् । उनीहरू चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कैदीबन्दीले ४.६३ मिटर लामो सुरुङ खनेर र कारागारको पर्खाल भत्काएर भागेका हुन् । फरार कैदीबन्दीको खोजी सुरु भइसकेको प्रहरीले जनाएको छ ।





