बागलुङ/सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्न कठिन भएपछि धेरै युवा सहर झरे । कतिपय सहरमै छन्, कोही विदेश हान्निए । गलकोट–६ को दुर्गम भुजुंगे गाउँकी प्रेमकुमारी श्रीष पनि घरमा बस्ने अवस्था नभएपछि सदरमुकाम बागलुङ बजार आइन् ।
एसएलसी उत्तीर्ण गरेपछि पटक पटक माओवादीले जनयुद्धमा लाग्न उनलाई आग्रह र दबाब दिएका थिए । उनले सदरमुकाम झरेर सीप सिकन्, त्यही सीप अहिले जीवन जीउने आधार बनेको छ ।
सशस्त्र युद्धको अवधिमा माओवादीले २०५९/०६० सालतिर युवालाई जनसेनाका लागि धमाधम जंगल लैजान्थ्यो । घरमै बसेको भए उनी पनि युद्धमा जानुपर्ने बाध्यता थियो । पटक पटक जनसेनामा जान आग्रह गर्दै नेताहरु उनको घरमा आइरहन्थे । गाउँका दर्जन युवा सल्लाह वा जबरजस्तीमा जनसेनामा गइसकेका थिए ।
त्यसबाट उनलाई उम्कने बाहनासमेत उनलाई चाहिएका थियो । घरको आर्थिक अवस्था कमजोर भएकाले सदरमुकाम झरेपछि उनलाई आर्जन गर्नुपर्ने वाध्यता थियो । प्रेमकुमारीले एसएलसीसम्म हरिचौर स्थित पृथ्वी माविमा पढिन् । उच्च शिक्षाका लागि पैसा पठाउन उनको परिवारको आर्थिक अवस्था सक्षम थिएन ।
प्रेमकुमारीले २०६० सालमा बजार पस्ने निधो गरिन् । पढ्ने अवस्था नभएकाले आयआर्जन गरी परिवार पाल्ने सोच उनले बनाइन् । सशस्त्र द्वन्द्वको चपेटामा परेको गाउँबाट बजार झर्दा उनलाई डेरा पाउनसमेत समस्या भयो. । बजारमा रहेकी छिमेकीको घरमा आश्रय लिन पुग्दा पनि वरपर के कसो हो भनेर सोध्थे ।
डरैडरको समयमा गलकोटकै हरिकला श्रीषले सञ्चालन गरेको ‘धौलागिरि सिलाई प्रशिक्षण केन्द्र’मा सीप सिकेर अहिले उनी सफल उद्यमी बनेकी छन् । ५ महिनासम्म सिलाइ कटाइ सिकेपछि उनी अहिले जिल्लामा चिनिने व्यवसायी बनेकी हुन् ।
उनी बसेको डेरामा अर्को घटना पनि भयो । म्याग्दी आक्रमणपछि बागलुङमा पनि लडाइ हुने डरले बागलुङका प्रमुख जिल्ला अधिकारी सहितका उच्च अधिकारी पटक पटक उनी बसेको घर छेउमा लुक्न जान्थे । ‘सिडिओको त ज्यान जोखिममा परेको बेला रहेछ, हामी त के बाचिन्थ्यो होला’, उनले भनिन्, ‘द्वन्द्वमा लागिएन, बरु सीप र पेशामा लागियो, त्यसले बाँच्न र बचाउन सिकाएको छ ।’
भाग्यबस बागलुङमा युद्ध नभएकोले उनी बसेको स्थानमा कुनै आक्रमण भएन । द्वन्द्वका बेला सुरक्षाका कारण बजारमा बसे पनि डरैडरमा रात काटेको उनी सम्झन्छिन् । ‘एक्लै काम गर्न सक्छु’ भन्ने लागेपछि उनले गाउँकै अर्की दिदी मिनाको साथ लागेर व्यवसाय थालिन् । एक्लै काम गर्न उनीसँग पुँजी थिएन ।
ऋण खोजेर ५ हजारमा मेसिन किनिन् । त्यही मेसिनले महिलाका कपडा सिलाउने काम थालिन् । त्यसले विस्तारै उनलाई आयआर्जनमा सफल बनायो । घर फर्कन दबाब दिएका बाबु नन्द्रप्रसाद र आमा कोपिलाले १ वर्षपछि छोरीले कमाइ गर्न लागेको देखे । छोरीले पनि काम गरेर बाबाुआमालाई पाल्छन्, घर खर्च चलाउँछन् भन्ने उनले देखाइन् ।
उनको कमाइबाट भाइ र २ बैनी तथा बाबुआमाको भविष्य बनाउने चुनौती थियो । त्यसैले उनले बाबुआमाले फर्कन भन्दा पनि जोखिम मोलेरै बजारमा मेहेनत गरिरहिन् । रातदिन मेहेनत गर्ने बानी बस्यो । कमाएरमात्र हुँदैन, बचत गर्नुपर्छ भन्ने मान्यता राखेर उनले नियमित बचतसमेत गर्न थालिन् ।
अहिले उनी ४५ वर्षकी भइन् । ‘बाबुआमाले बुढ्यौलीमा अप्ठ्यारो पर्छ, साथी पाउँदिनस् भनेर भन्नुहुन्छ’, उन थप्छिन्, ‘जे जसो होला भनेर बिवाहबारे सोच बनाइनँ ।’ अझै पनि उनी तन्नेरीझै मेहेनत गरिरहेकी छन् ।
कमाइका लागि मात्र नभई समाजका लागि काम गर्ने उनको सोच छ । सिलाइको लेबल २ परीक्षा उत्तीर्ण गरेकी उनी प्रशिक्षकसमेत हुन् । ‘मंगोलियन लेडिज टेलर्स’मा रमाएकी छन् । अहिले उनी सदरमुकाममा एक्लै छिन्, हिजोको जस्तो डर छैन । आर्थिक रुपमा पनि सक्षम भएकी छन् ।
सटर भाडामा लिएर ५ वटा मेसिन राखेकी छन् । तीमध्ये एउटा बागलुङ नगरपालिका र अर्को उद्योग कार्यालयले ८० प्रतिशत अनुदानमा दिएका हुन् । कपडा सिलाएर मनग्ये कमाइसमेत गरिरहेकी छन् ।
सिजनमा उनले तीन जनासम्म कामदार राख्ने गरेकी छन् । उनको मेहेनतकै कारण उद्योग तथा पर्यटन कार्यालय, बागलुङ उद्योग बाणिज्य संघ लगायतले सम्मान र पुरस्कार दिएका छन् । ‘हामीलाई सीप सिकाउनु भयो, काम गर्ने प्रेरणा पनि दिनुभयो’, बागलुङ नगरपालिका १ की उद्यमी लक्ष्मी श्रेष्ठले भनिन्, ‘मेहेनत गर्नुपर्छ भन्ने उहाँकै प्रेरणाले सिकेका हौं ।’
श्रीषकै प्रेरणाले लक्ष्मीले अहिले प्रशिक्षण केन्द्र सञ्चालन गरेकी छन् । श्रीषको अगुवाइमा बागलुङका ४० भन्दा बढी महिला आत्मनिर्भर बन्न पाएको उनले सुनाइन् ।
श्रीषले सिलाइ तथा कपडा व्यवसायी संघको अध्यक्ष भएर दुई कार्यकाल बिताइन् । उनीभन्दा अघि पुरुषमात्रै अध्यक्ष थिए । श्रीष अध्यक्ष भएपछि संघलाई जिल्ला प्रशासन कार्यालय र उद्योग कार्यालयमा दर्ता गराइन् । अहिले सबैले नगरपालिका, उद्योग कार्यालय र कर कार्यालयमा कर तिर्छन् ।
जनसेनामा लैजान खोज्ने केही नेता अहिले उनको पसलमा काम लिएर आईपुग्छन् । उनको मेहेनत र उन्नति देखेर उनीहरु नतमस्तक बन्छन् । ‘त्यो बेला द्वन्द्वमा गएको भए मरिन्थ्यो वा बाँचिन्थ्यो, तर अहिले समाजलाई सेवा गर्न पाएकी छु’, उनले भनिन्, ‘जसले पठाउन खोज्थे, उनीहरुको पनि काम गरिदिन पाएकी छु ।’
श्रीषकै अगुवाईमा सिलाइको भाडादर निर्धारण भयो । अहिले हरेक सिलाइ पसलमा उनको पालाको दररेट नै राखिएको छ । ‘रेडिमेट कपडाको फेन्सीसँग धेरै प्रतिस्पर्धा छ, तर पनि युवा उद्यमी तयार गरेर स्वरोजगार बनाउन पहल गरिरहेका छौं’, श्रीषले भनिन्, ‘बुटिक तालिम र मेसिनका लागि सहयोग खोजीरहेका छौं ।’
धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) उपाध्यक्ष शालिकराम शर्माले उद्यमी विकास गर्न तालिम र मेसिनका लागि सहयोग गर्न सकिने बताए ।





