शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

१३ वर्षदेखि एकै अक्षर लेख्छन् चण्डी

१३ वर्षदेखि एकै अक्षर लेख्छन् चण्डी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८३, शनिबार

पर्वत/कुश्मा नगरपालिका–१, पाङका चण्डीप्रसाद रिजालको दैनिकी निकै अनुशासित र प्रेरणादायी छ । ९५ वर्षीय रिजालको आँखाको ज्योति भने अझै स्पष्ट छ । सुन्ने क्षमता केही कम भए पनि उनको लेखनप्रतिको लगाव र उत्साहमा कमी आएको छैन ।

वि.सं. १९८८ साल माघ १ गते जन्मिएका रिजालनित्यकर्म सकेपछि रामनाम लेखन पुस्तिका लिएर बस्छन् । उनको हातमा कलम र अगाडि पुस्तिका भएपछि एउटै शब्द बारम्बार दोहोरिन्छ–राम, राम, राम ।दिनभरी अलिकति समय मिल्नासाथ उनी रामनाम लेख्न थालिहाल्छन् ।

रिजालका लागि रामनाम लेखन अक्षर लेख्ने काममात्र होइन, यो उनको आस्था, विश्वास र जीवनशैलीको अभिन्न हिस्सा हो । उनले २०६० सालदेखि निरन्तर रामनाम लेख्दै आएका छन् । रामको नाम लेख्दा जप पनि हुने र मनोकामना सिद्धि हुने उनको विश्वास छ ।

यही विश्वासले उनलाई दुई दशकभन्दा लामो समयदेखि एउटै कर्ममा निरन्तर जोडिरहेको छ ।उनले प्रयोग गर्ने रामनाम लेखन पुस्तिकामा एउटा पृष्ठमा ४ सय ८१ पटकसम्म ‘राम’ लेख्न मिल्ने गरी साना–साना कोठा बनाइएका छन् । एउटा पुस्तिकामा करिब १६ हजार पटक रामनाम लेख्न सकिन्छ ।

ती साना कोठाभित्र पनि रिजालले उत्तिकै ध्यान र धैर्यका साथ एउटै शब्द दोहो¥याइरहेका हुन्छन् । उनले अहिलेसम्म कति लाख पटक रामनाम लेखिसके भन्ने यकिन हिसाब छैन । लेखेर भरिएका पुस्तिकाको संख्या यति धेरै भइसकेको छ कि एक भारी पुस्तिका देवघाट धाम लगेर व्यवस्थापन गरिसकिएको छ ।

चण्डीप्रसाद पाङका चर्चित ज्योतिष स्वर्गीय रमाकान्त रिजालका जेठा छोरा हुन् । उनका पिता रमाकान्त तत्कालीन राजदरबारमा समेत राजा–रानीको भविष्यवाणी गर्ने विश्वासिला ज्योतिषका रूपमा परिचित थिए । ज्योतिष विद्यामार्फत् समाजमा पहिचान बनाएका रमाकान्तका छोराहरू पनि समाजसेवामा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->