नेपालमा हरेक वर्ष हिउँद सुरु भएसँगै तापक्रम घट्ने, चिसो हावा चल्ने, बिहान–बेलुका अत्यधिक जाडो हुने तथा तराईका विभिन्न जिल्लामा शीतलहर (Cold Wave) चल्ने समस्या देखिन्छ । विशेषगरी पुस र माघ महिनामा चिसोको प्रभाव अझ बढी हुने गर्दछ । हिमाली तथा पहाडी क्षेत्रमा हिमपात र अत्यधिक चिसोको जोखिम रहन्छ भने तराईका जिल्लामा बाक्लो हुस्सु , कुहिरो र शीतलहरका कारण मानिसहरूको स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू आउने गर्दछ ।
चिसो मौसम सामान्य मौसमी परिवर्तन मात्र होइन, यसले मानव स्वास्थ्यमा विभिन्न प्रकारका प्रतिकूल असर पार्नसक्छ । समयमै सावधानी नअपनाउँदा सामान्य रुघाखोकीदेखि निमोनिया (Pneumonia), दम (Asthma), मुटुरोग (Cardiovascular Diseases), हाइपोथर्मिया (Hypothermia) तथा शीताङ्ग (Frostbite) जस्ता गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छन् । त्यसैले चिसो बढेसँगै स्वास्थ्य सुरक्षा, रोकथाम र जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनु आवश्यक छ ।
चिसो मौसममा देखिने प्रमुख स्वास्थ्य समस्याहरू
रुघाखोकी :
चिसो मौसममा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने र शरीर दुख्ने समस्या बढी देखिन्छ । इन्फ्लुएन्जा (Influenza) अर्थात् मौसमी भाइरल फ्लु श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने साना थोपाबाट सर्नसक्छ । बालबालिका, ज्येष्ठ नागरिक तथा immunity power कमजोर भएका व्यक्तिमा यसको असर बढी पर्नसक्छ ।
दम तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग :
दम (Asthma) भएका व्यक्तिमा चिसो हावाका कारण श्वासनली खुम्चिने (Bronchoconstriction) समस्या हुन सक्छ। यसले खोकी, स्याँस्याँ हुने (Wheezing), छाती कस्सिने र सास फेर्नमा असहज/ कठिनाइ उत्पन्न गराउँछ ।
त्यस्तै, दीर्घ अवरोधात्मक फोक्सो रोग (Chronic Obstructive Pulmonary Disease–COPD) भएका व्यक्तिमा चिसो मौसमले रोगको अवस्थामा थप जटिल बनाउन सक्छ । धुवाँ, धुलो र वायु प्रदूषणले पनि स्वास्थ्य समस्या बढाउन सक्छ ।
मुटु तथा रक्तचापसम्बन्धी समस्या :
अत्यधिक चिसोमा शरीरको तापक्रम सन्तुलित राख्न रक्तनली खुम्चिने प्रक्रिया (Vasoconstriction) हुन्छ । यसले रक्तचाप (Blood Pressure) बढाउन सक्छ । विशेषगरी उच्च रक्तचाप (Hypertension), मुटुरोग तथा मधुमेह (Diabetes Mellitus) भएका व्यक्तिमा मुटुसम्बन्धी जटिलता र हृदयाघात (Heart Attack) को जोखिम बढ्न सक्छ ।
हाइपोथर्मिया :
शरीरको आन्तरिक तापक्रम 95°F (35°C, डिग्री सेल्सियस)भन्दा कम हुनु हाइपोथर्मिया हो । लामो समयसम्म अत्यधिक चिसो वातावरणमा बस्दा यस्तो अवस्था आउन सक्छ । शरीर काँप्ने (Shivering), अत्यधिक थकान हुने, बोली अस्पष्ट हुने, अलमलिने, निद्रा लाग्ने तथा बेहोस हुने यसका लक्षण हुन् ।
शीताङ्ग :
अत्यधिक चिसोका कारण हात, खुट्टा, कान र नाकजस्ता शरीरका खुला भागका तन्तुमा क्षति पुग्नुलाई शीताङ्ग भनिन्छ। प्रभावित भाग सुन्निने, संवेदना हराउने (Numbness), छाला फिक्का वा नीलो हुनसक्छ ।
छाला तथा जोर्नीसम्बन्धी समस्या :
जाडोमा छाला सुख्खा हुने (Dry Skin), ओठ फुट्ने, हातखुट्टा चिरा पर्ने तथा चिलाउने समस्या देखिन्छ। जोर्नी दुख्ने (Joint Pain) र बाथसम्बन्धी समस्या भएका व्यक्तिमा दुखाइ तथा असहजता बढ्न सक्छ।
चिसोबाट बढी जोखिम
सबै व्यक्तिमा चिसोको असर समान हुँदैन । विशेषगरी निम्न समूहका व्यक्तिमा चिसोको जोखिम बढी हुन्छ ।
- पाँच वर्षमुनिका बालबालिका, विशेषगरी नवजात शिशु ।
- ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक ।
- गर्भवती तथा सुत्केरी महिला ।
- दम, निमोनिया, मुटुरोग, मधुमेह र उच्च रक्तचाप भएका व्यक्ति ।
- शारीरिक रूपमा अशक्त तथा दीर्घरोगी ।
- कुपोषित तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति ।
यी व्यक्तिले स्वास्थ्यको विशेष ध्यान दिनुपर्छ ।
चिसोबाट बच्न को लागि रोकथामका उपाय
शरीरलाई न्यानो राख्ने :
मौसमअनुसार बाक्ला र न्यानो कपडा लगाउनुपर्छ। विशेषगरी बिहान र बेलुका बाहिर निस्कँदा टोपी, मोजा, पञ्जा, मफलर तथा न्यानो जुत्ताको प्रयोग गर्नुपर्छ ।
घरभित्रको वातावरण सुरक्षित बनाउने :
घरका झ्यालढोका आवश्यकताअनुसार बन्द गरी चिसो हावा प्रवेश गर्नबाट जोगाउनुपर्छ। तर कोठा न्यानो बनाउँदा पर्याप्त हावा आवतजावत (Ventilation) हुने व्यवस्था गर्नुपर्छ । बन्द कोठामा कोइला, दाउरा वा ग्यास हिटर बालेर सुत्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । यसबाट कार्बन मोनोअक्साइड विषाक्तता हुनसक्छ। कार्बन मोनोअक्साइड गन्ध र रङ नभएको विषालु ग्यास हो, जसले शरीरमा अक्सिजन आपूर्ति अवरुद्ध गरी बेहोस बनाउने र ज्यानसमेत लिन सक्छ ।
सन्तुलित तथा पोषणयुक्त खाना :
हिउँदमा शरीरलाई आवश्यक ऊर्जा र पोषण उपलब्ध गराउन सन्तुलित आहार खानुपर्छ । दाल, गेडागुडी, हरियो सागसब्जी, मौसमी फलफूल, अण्डा, दूध तथा उपलब्ध पौष्टिक खानेकुरा खानुपर्छ। झोलिलो खाना, सुप, तातो दाल र मनतातो पानी उपयोगी हुन्छन्। शरीरको रोग प्रतिरोधात्मक क्षमता कायम राख्न पर्याप्त पोषण आवश्यक हुन्छ।
पर्याप्त पानी पिउने :
जाडोमा तिर्खा कम लाग्ने भएकाले धेरै मानिसले पानी एकदमै कम पिउने गर्छन् । तर शरीरमा पानीको मात्रा कायम राख्नु हरेक मौसममा आवश्यक हुन्छ। त्यसैले नियमित रूपमा पर्याप्त सुरक्षित पानी पिउनुपर्छ ।
व्यक्तिगत सरसफाइ तथा संक्रमण नियन्त्रण :
खाना खानुअघि, शौचालय प्रयोग गरेपछि र बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । खोक्दा वा हाच्छ्युँ गर्दा मुख र नाक छोप्नुपर्छ । रुघाखोकी वा फ्लुका लक्षण भएका व्यक्तिले आवश्यक दूरी कायम गर्ने, भीडभाडमा मास्क प्रयोग गर्ने र व्यक्तिगत सामग्री साझा बनाउनु हुँदैन ।
नियमित शारीरिक गतिविधि :
चिसोका कारण शारीरिक गतिविधि कम गर्नु हुँदैन । मौसम अनुकूल समयमा घरभित्रै हल्का व्यायाम, योग, स्ट्रेचिङ तथा हिँडडुल गर्न सकिन्छ। नियमित शारीरिक गतिविधिले रक्तसञ्चार र समग्र स्वास्थ्यलाई सहयोग पुर्याउँछ ।
दिर्घरोगीले औषधि नियमित सेवन गर्ने :
दम, मुटुरोग, मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ । आफूखुसी औषधि बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने गर्नु हुँदैन। दमका बिरामीले चिकित्सकले सिफारिस गरेको इनहेलर आवश्यक अवस्थामा उपलब्ध राख्नुपर्छ।
बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह
हिउँदमा बालबालिका तथा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउनु परिवारको महत्त्वपूर्ण जिम्मेवारी हो ।
बालबालिकाका लागि
- मौसमअनुसार न्यानो कपडा लगाइदिने।
- शिशुको शरीरको तापक्रम कायम राख्ने ।
- आमाको दूध नियमित खुवाउने र उमेरअनुसार पोषणयुक्त खाना दिने ।
- राष्ट्रिय खोप तालिकाअनुसार खोप पूरा गर्ने ।
- बच्चालाई धुवाँ, धुलो र अत्यधिक चिसो हावाबाट जोगाउने ।
- सास फेर्न गाह्रो भए, छातीभित्र धस्सिएमा वा दूध खान नसकेमा तुरुन्त स्वास्थ्य संस्थामा लैजाने ।
ज्येष्ठ नागरिकका लागि
- बिहान र बेलुका न्यानो कपडा लगाइदिने।
- चिसो भुइँमा लामो समय बस्न नदिने ।
- पौष्टिक तथा तातो खाना नियमित उपलब्ध गराउने।
- रक्तचाप (BP) र रगतमा चिनीको मात्रा (Blood Glucose) नियमित जाँच गर्ने।
- चिसोमा एक्लै नराख्ने र आवश्यकताअनुसार सहयोग गर्ने।
- अत्यधिक चिसोमा अनावश्यक बाहिर निस्कन नदिने।
- तराईमा शीतलहर र हिमाल तथा पहाडी क्षेत्रमा अत्यधिक चिसोबाट बच्ने उपाय:
नेपालको भौगोलिक विविधताका कारण चिसोको प्रभाव पनि फरक-फरक हुन्छ। तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण बिहान र बेलुका जनजीवन प्रभावित हुन्छ । यस्तो अवस्थामा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई घरभित्र सुरक्षित र न्यानो राख्नुपर्छ । अत्यावश्यक कामबाहेक शीतलहरको समयमा बाहिर निस्कनु हुँदैन । सवारीसाधन चलाउँदा कम दृश्यताका कारण दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्छ ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात, चिसो हावा र अत्यधिक न्यून तापक्रमका कारण हाइपोथर्मिया तथा शीताङ्गको जोखिम रहन्छ। पर्याप्त न्यानो कपडा, सुरक्षित आवास, पोषणयुक्त खाना र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपर्छ ।
चिसोका कारण देखिने खतराका लक्षण र अस्पताल /स्वास्थ्य संस्था जानैपर्ने अवस्था
चिसो मौसममा सामान्य रुघाखोकीलाई बेवास्ता गर्नु हुँदैन। केही लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ।
- सास फेर्न गाह्रो हुनु ।
- छाती दुख्नु वा छाती अत्यधिक कस्सिनु ।
- लगातार उच्च ज्वरो आउनु वा अवस्था बिग्रँदै जानु ।
- बालबालिकाले दूध वा खाना खान नसक्नु ।
- शरीर अत्यधिक चिसो हुनु, लगातार काँप्नु वा अलमलिनु ।
- बेहोस हुनु वा असामान्य रूपमा निद्रा लाग्नु ।
- हातखुट्टा, कान वा नाक सुन्निनु तथा संवेदना हराउनु ।
यस्ता लक्षण देखिएमा घरेलु उपचारमा मात्र भर नपरी तुरुन्त नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा जानुपर्छ। यदि कुनै व्यक्ति बेहोस भएको छ भने उक्त नव्यक्तिलाई खाना वा पानी जबर्जस्ती खुवाउनु हुँदैन ।
हाइपोथर्मियाको शङ्का भएमा बिरामीलाई चिसो वातावरणबाट सुरक्षित स्थानमा सार्ने, भिजेका कपडा हटाएर सुख्खा न्यानो कपडाले छोप्ने र बिस्तारै न्यानो बनाइ राख्नुपर्दछ । अत्याधिक चिसोको कारणले सिताङ्ग भएको व्यक्तिलाई प्रत्यक्ष आगो वा अत्यधिक तातो वस्तुले शरीर तताउने प्रयास गर्नु हुँदैन यस्तो अवस्थामा तत्काल स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी को सहायता लिनुपर्छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको भूमिका
चिसो मौसममा स्वास्थ्य समस्या बढ्न नदिन स्वास्थ्यकर्मीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्य संस्थाले उपचारात्मक सेवासँगै रोकथाम र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ।
- समुदायमा चिसोबाट हुने स्वास्थ्य समस्याबारे नियमित जनचेतना फैलाउने ।
- जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीको पहिचान र स्वास्थ्यको निगरानी गर्ने ।
- निमोनिया, फ्लु तथा श्वासप्रश्वाससम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्ने ।
- खोप कार्यक्रम तथा नियमित स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्ने ।
- शीतलहर तथा अत्यधिक चिसोको समयमा समुदायलाई पूर्वसूचना र स्वास्थ्य सल्लाह उपलब्ध गराउने ।
- आवश्यक औषधि, उपकरण तथा आपत्कालीन स्वास्थ्य सेवाको तयारी अवस्थामा राख्ने ।
- स्थानीय तह, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय तथा सामुदायिक संस्थासँग समन्वय गरेर जोखिम न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने ।
- घरभित्र धुवाँरहित चुलो, सुरक्षित ताप प्रणाली र पर्याप्त हावा आवतजावतको महत्त्वबारे जानकारी दिने ।
चिसो मौसमसँगै खानपिनमा पनि विशेष ध्यान दिनुपर्ने हुनसक्छ
चिसो समयमा शरीरलाई न्यानो राख्न र रोग प्रतिरोधात्मक क्षमता कायम गर्न खानपिनमा विशेष ध्यान दिनुपर्छ ।
- तातो तथा झोलिलो खाना : दाल, सुप, तरकारीको झोल र मनतातो पानी नियमित सेवन गर्ने ।
- प्रोटिनयुक्त खानेकुरा : अण्डा, दही,दूध, माछा, मासु ।
- मौसमी फलफूल र हरियो सागसब्जी : सुन्तला, अमला, कागती, अम्बा, पालुङ्गो, तोरी,रायोको साग तथा अन्य मौसमी तरकारी खाने ।
- पर्याप्त पानी पिउने : जाडोमा तिर्खा कम लागे पनि शरीरमा पानीको कमी हुन नदिन नियमित पानी पिउने ।
- अत्यधिक चिल्लो, नुनिलो र गुलियो खानेकुरा कम गर्ने : विशेषगरी उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग भएका व्यक्तिले खानपिनमा थप सावधानी अपनाउने ।
- मदिरा र धूम्रपानबाट टाढा रहने : मदिराले शरीर न्यानो राख्छ भन्ने भ्रममा नपर्ने ।
- खानाको सरसफाइमा ध्यान दिने : बासी, दूषित तथा राम्ररी नपकाइएका खानेकुरा नखाने। खाना ताजा र सफा बनाएर खाने ।
विशेष गरी चिसो मौसममा धेरै खाना खानुभन्दा अवस्था र शारीरिक आवश्यकताअनुसार सन्तुलित तथा पोषणयुक्त खाना खानु लाभदायक हुन्छ ।
अन्तमा जाडो समयमा चिसोबाट उत्पन्न हुने स्वास्थ्य समस्या समयमै सावधानी अपनाउन सके धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । चिसो मौसमलाई सामान्य रूपमा लिएर स्वास्थ्यको लापरबाही गर्नु हुँदैन । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीको स्वास्थ्य सुरक्षामा परिवार र समुदाय सबै जिम्मेवार हुनुपर्छ ।
स्वस्थ जीवनशैली, न्यानो कपडा, सन्तुलित पोषण, पर्याप्त पानी, व्यक्तिगत सरसफाइ, सुरक्षित ताप व्यवस्था र समयमै स्वास्थ्य सेवा लिनु नै चिसोबाट बच्ने प्रभावकारी उपाय हुन् । चिसोबाट आफू बचौँ, परिवारलाई बचाऔँ र स्वास्थ्यप्रति सचेत बनौँ, रोग लागेपछि मात्र होइन, रोग लाग्नुअघि नै रोकथाममा ध्यान दिऔँ । धन्यवाद ।
(खड्का शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत छिन् ।)




