बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

जलजलामा निःशुल्क आँखा शिविर हुने

जलजलामा निःशुल्क आँखा शिविर हुने


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १२ २०८३, बिहिबार

पर्वत/पर्वतको जलजला गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

पर्वत मञ्च हङकङको आर्थिक सहयोगमा आगामी मङ्सिर ५ गते जलजला गाउँपालिका–शालिजामा एक दिने आँखा शिविर आयोजना गर्न लागिएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविरका लागि पर्वत मञ्च हङकङले आर्थिक सहयोग गर्नेछ भने पर्वत पुन मगर समाजले व्यवस्थापन गर्नेछ । त्यसै गरी, हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोग उपलब्ध गराउने र जलजला गाउँपालिकाले समन्वय गर्ने छ । शिविरमार्फत आँखासम्बन्धी समस्या भएका नागरिकको परीक्षण तथा आवश्यक उपचार गरिनेछ ।

शिविरमा मोतिया बिन्दुको समस्या भएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई हिमालय आँखा अस्पताल, घारीपाटन पोखरासम्म लैजाने, खाने तथा बस्ने व्यवस्था र शल्यक्रियापछि घर फर्किने यातायात सुविधासमेत निःशुल्क उपलब्ध गराइने जनाइएको छ । यसले आर्थिक अभाव तथा भौगोलिक कठिनाइका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई ठुलो राहत पुग्ने छ ।

जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना हुन लागेकोमा खुसी व्यक्त गर्दै सहयोगदाता संस्थाहरूप्रति आभार प्रकट गरेका छन् । उनले पर्वत मञ्च हङकङ, पर्वत पुन मगर समाज तथा हिमालय आँखा अस्पताल पोखरालाई धन्यवाद दिँदै यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने बताए ।

अध्यक्ष आचार्यले आँखाको समस्या भएका जलजला गाउँपालिकासहित आसपासका क्षेत्रका नागरिकलाई पनि शिविरको अवसर उपयोग गर्न आग्रह गरेका छन् । “आँखाको समस्या भएर पनि उपचार गर्न नपाएका कोही पनि नागरिक यो अवसरबाट नछुट्नुहोस् । जलजला गाउँपालिकासहित आसपासका क्षेत्रका सबै नागरिकले शिविरबाट लाभ लिन सक्नुहुनेछ । समयमै आँखा परीक्षण गराई आवश्यक उपचार सेवा लिन सबैमा आग्रह गर्दछु,” उनले भने ।

निःशुल्क आँखा शिविरले मोतिया बिन्दुलगायत आँखासम्बन्धी समस्याबाट प्रभावित नागरिकलाई समयमै उपचार प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विशेष गरी आर्थिक अवस्था कमजोर भएका तथा टाढाका अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि शिविर उपयोगी हुने अध्यक्ष आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->