पोखरा/गत वर्षको आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएको न्युरोड स्थित पोखरा महानगरपालिकाको कार्यालय भत्काइँदै छ । असोज २० गतेबाट भत्काउन थालिएको भवनको अगाडिको भाग भत्काइँदै छ ।
यो भवन आन्दोलनमा ध्वस्त भएपछि अहिले नयाँबजारको भाडाको घरबाट नगरपालिकाले सेवा दिइरहेको छ । पहिले मुख्य कार्यालय रहेको स्थानका संरचना हटाई उक्त स्थान खाली गरिँदै छ ।
अब त्यहाँ के निर्माण हुन्छ भन्ने विषयमा चर्चा, परिचर्चा सुरु भएको छ ।महानगरका मेयर धनराज आचार्य सहरको मुख्य भागमा रहेको उक्त स्थानमा बहुतले सार्वजनिक पार्किङसहितको सार्वजनिक भवन निर्माण गर्ने, खुला स्थानका रूपमा संरक्षण गर्ने वा अन्य उपयुक्त संरचना बनाउनेलगायतका सुझाव आएको बताउँछन् ।
उनी भन्छन्, ‘तर, यस विषयमा महानगरपालिकाले हालसम्म कुनै अन्तिम निर्णय गरेको छैन।’ महानगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणका लागि अन्यत्र उपयुक्त जग्गा व्यवस्था हुन नसकेमा न्युरोडकै जग्गामै प्रशासनिक भवन निर्माण गर्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । महानगरपालिकाका सबै विभागलाई एउटै स्थानमा व्यवस्थापन गर्न सकिने उपयुक्त जग्गाको खोजी तथा व्यवस्थापनका लागि प्रयास भइरहेको छ ।
न्युरोडको संवेदनशील सहरी क्षेत्रलाई ध्यानमा राख्दै पाँच तलाभन्दा अग्लो भवन निर्माण नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।यो जग्गाको चारैतर्फ सडक रहेकाले प्रचलित मापदण्डहरू लागू गर्दा भवन निर्माण गर्न सकिने क्षेत्रफल निकै कम हुन्छ ।
सम्भावित निर्माण विकल्पबारे स्पष्ट पार्न प्राविधिक प्रतिवेदन तयार हुँदै गरेको मेयर आचार्यले जनाएका छन् । उनले भने, ‘प्राविधिक प्रतिवेदन प्राप्त भएपछि त्यसको निष्कर्ष तथा सम्भावित विकल्पबारे सम्बन्धित सबैलाई आधिकारिक रूपमा जानकारी गराइनेछ ।’





