स्याङ्जा/नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रशासनले ३ कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रहरीमा पठाएको करिब २ महिनापछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेश विक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईलाई पक्राउ गरेको छ ।प्रशासनले छानबिनकालागि कागजात पठाएको ५० औं दिन र जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको पाँचौ दिन प्रहरीले कर्मचारीलाई पक्राउ गरेको हो ।
यसै घटनामा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि असोज २८ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई पत्र पठाएको थियो भने प्रशासनले कात्तिक ९ गते प्रहरीलाई पत्राचार गरेको थियो । अदालतको पक्राउ पुर्जी र गृहको पत्रसँगै दबाबमा परेको प्रहरीले तीनजना कर्मचारीलाई लामो समयपश्चात पक्रेको हो ।
फेदीखोला४ का प्रयासी गुरुङका २ नागरिकतामध्ये पहिलो स्याङ्जाको नागरिकतालाई बदर गर्ने क्रममा ३ जनाले किर्ते गरेको थिए । गुरुङका २ बालबालिकाको नाबालक परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस भएका कागजातरुजु गर्ने क्रममा गुरुङको नाममा २ नागरिकता रहेको खुलेको थियो ।
प्रयासीले २०५६ चैत ३ गते साविक आरुखर्क–८, स्याङ्जा स्थायी ठेगाना राखेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ५७०६६ नम्बरको नागरिकता पहिलो पटक लिएका थिए । त्यसको ६ महिनापछि २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्की स्थायी ठेगाना राखेर गुरुङले नै १०८५८८ नम्बरको नागरिकता कास्की प्रशासनबाट दोस्रो पटक लिएका थिए ।
कास्की प्रशासनले २ नागरिकता भेटिएपछि पहिलो नागरिकता रद्द भएको भए कानुनी आधार, अपनाइएको प्रक्रिया, निर्णय गर्ने अधिकारी, रद्द गर्नुका कारणसहितका कागजात उपलब्ध गराउन आग्रह गरेको थियो ।कास्की प्रशासनले नागरिकता रद्दको अभिलेख मागेसँगै ३ कर्मचारीलेसरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेका थिए ।
छानबिनका क्रममा ३ कर्मचारीले कागजात लेख्ने, प्रजिअको हस्ताक्षर गर्ने तथा कुनै निर्णय नै नभई निर्णयाअनुसार रद्द भएको किर्ते गरेको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताए । कर्मचारीको किर्ते गरेको भेटिएपछि प्रशासनले भदौ २६ गते आन्तरिक छानबिन गरी नागरिकता ऐनको कसुर तथा सजाय व्यवस्था बमोजिम अनुसन्धानकालागि प्रतिवेदन प्रहरीमा पठाएको थियो ।
घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीसँग आनाकानी गरे । किर्ते गर्ने कर्मचरीलाई मुद्दा कहिले चलाएको भनेर बुझ्न खोज्दा समाचार लेख्नकालागि मुद्धा दर्ता मिति आवश्यक नरहेको जवाफ दिएका छन् । अरु विषयमा पनि पत्रकारलाई सूचना दिन अवस्थीले आनाकानी गर्ने गरेका छन् ।





