बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एयर ट्राफिक कन्ट्रोलर बन्ने सपना बुनेका मनोज बने आईजीपी

एयर ट्राफिक कन्ट्रोलर बन्ने सपना बुनेका मनोज बने आईजीपी

‘प्रहरी देख्दा डर होइन, भरोसा महसुस हुने वातावरण बनाउँछु’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८३, बुधबार

काठमाडौं / एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालिमपछि सोही पेशामा संलग्न हुने योजनाका साथ जीवनका सपनाहरु बुनिरहेका डा.मनोजकुमार केसीको बाटो त्यतिबेला मोडियो, जब उनले नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) को लिखित परीक्षा उत्तीर्ण गरे ।

उनै डा. केसीलाई बुधबार नेपाल सरकारद्वारा प्रहरी संगठनको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।

२०३२ साउन २८ गते नुवाकोटको तुप्चेमा जन्मिएका उनी प्राथमिक तहको पढाई गाउँमै सिध्याएर माध्यमिक तहको अध्ययनका निम्ति काठमाडौँ प्रवेश गरेका थिए ।

उनी मध्यमवर्गीय परिवारका सदस्य हुन् । उनलाई परिवारले त्यसबेला काठमाडौंमा भर्ना पाउन कठिन हुने सिद्धार्थ बनस्थली स्कुलमा पुर्‍याए । त्यहीँबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे ।

त्यसपछि परिवारले अर्को सपना देख्यो, इञ्जिनियर बनाउने । त्यसका लागि उनी अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भए । त्यहाँ फिजिकल साइन्सको अध्ययन गरे ।

उनका एक सहपाठीका अनुसार इञ्जिनियरिङमा पनि एरोनोटिकल इञ्जिनियरिङतिर उनको मन गयो । हवाई क्षेत्रसँग सम्बन्धित उक्त अध्ययनमा रुची भएका विद्यार्थी कि पाइलट बन्छन्, कि एयर ट्राफिक कन्ट्रोल वा जहाजहरुको मर्मत गर्ने दक्षतासहित सोही काममा लाग्छन् ।

डा.केसीले अस्कल पढ्दापढ्दै एटिसी तालिम लिए । तालिम सकिएर त्यही अनुसारको कामका लागि प्रयास गरिरहेका थिए ।

प्रहरीसेवामा सँगै भर्ना भएका उनका एक सहपाठीका अनुसार नेपाल प्रहरीले इन्स्पेक्टर भर्नाका निम्ति गोरखापत्रमा प्रकाशित गरेको सूचना पढेपछि ‘प्रयास गरिहालौँ’ भनेर परीक्षा दिए । त्यसबेला प्रहरी भर्नाका लागि लोकसेवा परीक्षा दिनुपर्ने थिएन ।

आधारभूत स्वास्थ्य परीक्षणपछि प्रहरीकै आन्तरिक परीक्षा उत्तीर्ण गर्नुपथ्र्यो । तर, प्रहरीकै परीक्षा दिनका लागि पनि लोकसेवा जस्तै कठित प्रश्नहरु सामना गर्नुपर्ने अवस्था थियो । त्यसका लागि उनले कतै अतिरिक्त पढाई (ट्युसन) लिएनन् । त्यसरी दिएको परीक्षाको नतिजा २०५४ चैत १८ गते गोरखापत्रमा प्रकाशित हुँदा उनको नाम निस्कियो ।

यहाँबाट उनको सपना त मोडियो, तर परिवारलाई त्यति चित्त बुझिरहेको थिएन । सशस्त्र द्वन्द्वले क्रमशः जटिल रुप लिँदै थियो ।

सुरक्षाकर्मीहरु असुरक्षित हुने क्रम भर्खरै शुरु हुँदा प्रहरीमा जागिर खान दिने कि नदिने ? परिवारमा दोधार थियो । तर, उनले परिवारलाई हिम्मत दिलाए, अनि प्रहरी तालिमका लागि महाराजगञ्जस्थित केन्द्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भित्रिए ।

२०६६ मंसिर २६ गते डीएसपी बढुवा भए । २०७४ साउन १९ गते एसपीमा बढुवा भए । २०७९ साउन ३ गते एसएसपीमा बढुवा भए ।

२०८१ जेठ १३ गते डीआईजी र २०८२ वैशाख ११ गते एआईजीमा बढुवा भएका थिए । यसअघिका आईजीपी दानबहादुर कार्की र उनी एउटै टोलीका इन्स्पेक्टर थिए ।

बढुवाका मिति पनि समान रहे । एसएसपीसम्मको बढुवामा डा.केसी अगाडि थिए । एसएसपीबाट डीआईजी बढुवाबाट कार्कीले अग्रता लिँदै आइजीपी भए । तर, उनै कार्कीलाई हटाएर उनी आईजीपी हुन सफल भएका छन् ।

नक्कली भूटानी शरणार्थीसम्बन्धी अनुसन्धान उनको प्रहरी जीवनका अन्य अनुसन्धान र सफलताभन्दा बढी चर्चामा रह्यो ।

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा तत्कालीन मन्त्री, सचिवसहितका उच्च पदस्थ तथा समाजका ‘प्रतिष्ठित’ भनिएका मानिसकै संलग्नता रहेको तथ्य उक्त अनुसन्धानबाट उजागर भएको थियो ।

उनले तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौँ (हनुमानढोका) र तत्कालीन उपत्यका अपराध अनुसन्धान शाखामा काम गर्ने क्रममा गुण्डागर्दी नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

प्रहरीलाई कार्यगत स्वायत्तता र दलीय प्रभावबाट मुक्त राख्ने

यसैविच,  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै उनले आफ्नो कार्यकाललाई ‘मैले के पाएँ भन्दा पनि नेपाली जनतालाई के दिन सकेँ’ भन्ने आधारमा मूल्यांकन गर्ने बताए ।

गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा.मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै । तस्वीरः ढोरपाटन

दर्ज्यानी चिन्हलाई काँधमा थपिएको अलंकार मात्र नभई राज्य, जनता र सात दशक लामो इतिहास बोकेको प्रहरी संगठनको भरोसाको रूपमा लिएको केसीको भनाइ छ ।

संगठनभित्रका आन्तरिक चुनौती र समस्यालाई नजिकबाट नियालेको बताउँदै आईजीपी केसीले तल्लो तहका प्रहरी कर्मचारी (जवान र हवल्दार) का गुनासो सुन्न तत्काल छुट्टै संयन्त्र बनाउने घोषणा गरेका छन् ।

‘आधारभूत तह लगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्ने एउटा संयन्त्र सचिवालयमै प्राथमिकताका साथ सञ्चालन गर्नेछौं,’ उनले भने ।

प्रहरीको लामो कार्यघण्टा, स्रोतसाधन र भौतिक पूर्वाधारको अभाव, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्य जस्ता विषयमा प्रणालीगत सुधार गर्दै लैजाने उनले प्रतिवद्धता जनाए ।

प्रहरी संगठन एक्लैको प्रयासले मात्र पूर्ण शान्ति सुरक्षा कायम गर्न सम्भव नहुने भन्दै केसीले सरकार, राजनीतिक दल, मिडिया र नागरिकको सहयोगको अपेक्षा राखेका छन् । आधुनिक प्रहरीको सबैभन्दा ठूलो पुँजी नै जनतासँगको सम्बन्ध भएको उनले बताए ।

उनले भने, ‘म नेपाल सरकारसँग आवश्यक स्रोत साधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता, अनि राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोगको विनम्र आग्रह गर्दछु ।’

सञ्चार जगतलाई पनि प्रहरीका कमजोरीसँगै राम्रा कामलाई पनि स्थान दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->