शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी सरकारले गर्‍यो सदस्य सचिव श्रीधर शर्मालाई बोल्ड आउट

गण्डकी सरकारले गर्‍यो सदस्य सचिव श्रीधर शर्मालाई बोल्ड आउट


  • विजय नेपाली
  • कार्तिक २१ २०८३, शनिबार

पोखरा / गण्डकी प्रदेश सरकारले खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मालाई बोल्ड आउट गरेको छ ।

प्रदेश सरकारले वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ मा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा सरकारले शर्मालाई पदमुक्त गर्ने  निर्णय गरेको हो।

बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको औपचारिक जानकारी शुक्रबार मन्त्रालयमार्फत परिषद् र सम्बन्धित निकायमा पठाइएको श्रोतले जनाएको छ ।

शर्मालाई पदमुक्त गरेसँगै अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। परिषद्को कामकारबाही प्रभावित नहोस् भनेर प्रदेश खेलकुद ऐनअनुसार परियारलाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले वितरण गरेको पदकमा आवश्यक मापदण्ड पूरा नगरी पुरस्कार वितरण गरिएको, पदक सिफारिस समितिको निर्णयबिनै पदक बाँडिएको तथा सिफारिस समितिमा रहेका व्यक्तिहरू र उनीहरू आबद्ध संस्थालाई नै पदक प्रदान गरिएको आरोप शर्मामाथि थियो।

विवादपछि मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले पदक वितरण प्रक्रियामा गम्भीर त्रुटि र लापरबाही भएको निष्कर्षसहित सदस्य सचिव शर्मालाई कारबाही गर्न सिफारिस गरेको थियो। समितिको प्रतिवेदनका आधारमा सरकारले शर्मासँग सातदिने स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको निष्कर्षसहित सरकारले पदमुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

यसअघि नै शर्माले कारबाही प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारसँग सक्कल कागजात र छानबिन समितिको प्रतिवेदन झिकाउन आदेश दिएको थियो। साथै, दुवै पक्षलाई मंसिर २ गते छलफलका लागि बोलाएको छ। पदमुक्त भएपछि शर्माले भने अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा आफूलाई हटाउनु गलत भएको दाबी गरेका छन  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->