तिहार मिठाई र परिकारको पर्व पनि हो। सेलरोटी, अनरसा, फिनी, लड्डु, रसबरी, बर्फीदेखि चकलेटसम्मले चाडपर्वको रौनक बढाउँछन्।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मिठाई खुवाउनेदेखि आफन्त र साथीभाइलाई कोसेली दिने चलन छ। घरमा पाहुना आउँदा पनि मिठाई खुवाएर स्वागत गरिन्छ।
त्यसैले तिहारका बेला सामान्य दिनभन्दा गुलियो र चिल्लो खानेकुराको मात्रा बढ्नु स्वाभाविक हो।
तर स्वादका लागि खाइने यस्ता परिकार आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा असर पर्न सक्छ।
एकाध दिन मिठाई खाँदैमा गम्भीर रोग लागिहाल्ने होइन। तर अत्यधिक चिनी र क्यालोरी सेवन गर्ने बानी नियमित बनेमा मोटोपन, टाइप–२ मधुमेह, मुटुरोग र दाँत सम्बन्धी समस्या निम्तिन सक्छन्।
धेरै गुलियो खाँदा शरीरमा पर्ने असर :
१. तौल र मोटोपन बढ्ने
चिनीबाट शरीरले ऊर्जा प्राप्त गर्छ। तर चिनी धेरै भएका खानेकुरामा शरीरलाई चाहिने प्रोटिन, भिटामिन, खनिज र फाइबर पर्याप्त हुँदैन।
आवश्यकताभन्दा बढी क्यालोरी शरीरमा पुग्दा अतिरिक्त ऊर्जा बोसोका रूपमा जम्मा हुन सक्छ। यसले तौल बढाउने र मोटोपनाको जोखिम निम्त्याउँछ।
अमेरिकाको हार्वर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थले पनि गुलियो पेय पदार्थलाई अतिरिक्त क्यालोरीको प्रमुख स्रोत मानेको छ।
यस्ता पेय पदार्थ सेवन गर्दा ठोस खाना खाएजस्तो पेट भरिएको महसुस नहुन सक्ने भएकाले थप खाना खाने सम्भावना रहन्छ।
२. टाइप-२ मधुमेहको जोखिम
धेरै गुलियो खाँदैमा तत्काल मधुमेह हुन्छ भन्ने होइन। तर लामो समयसम्म आवश्यकताभन्दा बढी चिनी र क्यालोरी खानु, तौल बढ्नु र शारीरिक गतिविधि कम हुनुजस्ता कारणले टाइप-२ मधुमेहको जोखिम बढ्न सक्छ।
विशेषगरी गुलियो पेय पदार्थको नियमित सेवन र मधुमेहबीच सम्बन्ध देखाउने अध्ययन छन्।
सन् २०२३ मा ब्रिटिस मेडिकल जर्नल (बिएमजे) मा प्रकाशित चिनी सेवन सम्बन्धी विस्तृत समीक्षाले पनि बढी चिनी सेवन र टाइप-२ मधुमेहसहित विभिन्न मेटाबोलिक समस्याबीच सम्बन्ध रहेको देखाएको छ।
३. मुटु र रक्तनलीमा असर
अत्यधिक चिनी सेवनले शरीरमा ट्राइग्लिसराइड बढ्ने, तौल बढ्ने र मेटाबोलिक स्वास्थ्य बिग्रिने जोखिम हुन्छ।
यी सबै मुटु तथा रक्तनली सम्बन्धी रोगका जोखिम कारक हुन्।
सन् २०२३ मा बिएमजेमा प्रकाशित ‘डाइटरी सुगर कन्जम्प्सन एन्ड हेल्थ’ शीर्षकको अध्ययनले चिनी सेवन र स्वास्थ्यसम्बन्धी ७३ वटा मेटा–विश्लेषण तथा ८३ वटा स्वास्थ्य परिणामको समीक्षा गरेको थियो।
यसमा बढी चिनी सेवन र मुटुसम्बन्धी १० वटा स्वास्थ्य परिणामबीच हानिकारक सम्बन्ध देखिएको थियो। अध्ययनले चिनीको मात्रा घटाउनु स्वास्थ्यका लागि लाभदायक हुने निष्कर्ष निकालेको छ।
४. कलेजोमा बोसो जम्ने
अत्यधिक गुलियो, विशेषगरी चिनी मिसाइएका पेय पदार्थ र फ्रुक्टोजको बढी खानाले कलेजोमा बोसो जम्मा हुने जोखिम बढाउन सक्छ।
कलेजोमा आवश्यकताभन्दा बढी बोसो जम्मा हुँदा फ्याटी लिभरको समस्या हुन सक्छ। लामो समयसम्म यस्तो अवस्था रहे कलेजो सुन्निन सक्छ। क्षति पुग्ने सम्भावना हुन्छ।
बिएमजेमा प्रकाशित उक्त समीक्षाले पनि बढी चिनी खाने र कलेजोमा बोसो जम्मा हुने समस्याबीच सम्बन्ध देखाएको छ।
५. दाँत बिग्रिने
गुलियो खाएपछि मुखमा रहेका ब्याक्टेरियाले चिनी प्रयोग गरेर अम्ल उत्पादन गर्छन्। यसले दाँतको बाहिरी कडा तह (इनामेल) कमजोर बनाउँदै लैजान्छ।
परिणाम स्वरूप दाँतमा कीरा लाग्ने र प्वाल पर्ने समस्या हुन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार दाँतमा कीरा लाग्नुको प्रमुख जोखिममध्ये गुलियो पदार्थ खानु हो।
सन् २०२५ अगस्टमा प्रकाशित डब्लुएचओको तथ्यपत्र अनुसार विश्वभर करिब दुई अर्ब ५० करोड मानिस दाँतमा कीरा लाग्ने समस्याबाट प्रभावित छन्।
दैनिक कति चिनी खानु उचित ?
डब्लुएचओले दिनभरि शरीरलाई आवश्यक पर्ने कुल ऊर्जाको १० प्रतिशतभन्दा कम हिस्सा चिनीबाट लिन सुझाव दिएको छ। अझ स्वास्थ्य लाभका लागि ५ प्रतिशत वा त्यसभन्दा कम राख्न सिफारिस गरेको छ।
सामान्यतया दैनिक २००० क्यालोरी आवश्यक पर्ने व्यक्तिका लागि १० प्रतिशत भनेको करिब ५० ग्राम र पाँच प्रतिशत भनेको २५ ग्राम चिनी हो। यसमा चिया वा कफीमा हालिने चिनी मात्र होइन, मिठाई, बिस्कुट, सफ्ट ड्रिंक, जुस, मह र सिरपमा पाइने चिनी पनि जोडिन्छ। सिंगो फलफूलमा प्राकृतिक रूपमा पाइने चिनी भने यसमा पर्दैन।
अमेरिकन हार्ट एसोसिएसनले भने महिलालाई दैनिक २५ ग्राम (करिब ६ चम्चा) र पुरूषलाई ३६ ग्राम (करिब ९ चम्चा) भन्दा बढी थपिएको चिनी नखान सुझाव दिएको छ।
तिहारमा गुलियो र चिल्लोबाट कसरी बच्ने ?
तिहारमा मिठाई र चिल्लो परिकार खानै हुँदैन भन्ने होइन। चाडपर्वमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारको स्वाद लिनु स्वाभाविक हो। तर कति खाने र कसरी खाने भन्नेमा ध्यान दिन सके स्वास्थ्यमा पर्ने असर कम गर्न सकिन्छ।
मिठाईको मात्रा नियन्त्रण गर्ने
तिहारमा घरमै मिठाई बनाउने र आफन्तकहाँ जाँदा विभिन्न परिकार खाने चलन हुन्छ। यस्तो बेला एउटा मिठाई खाइसकेपछि अर्को पनि चाख्ने र पटक पटक खाने बानीले आवश्यकताभन्दा बढी चिनी शरीरमा पुग्न सक्छ।
त्यसैले थोरै परिमाणमा खाने र एकै पटक धेरै प्रकारका मिठाई नखाने बानी बसाल्नुपर्छ। मिठाईलाई मुख्य खानाको विकल्प बनाउनु हुँदैन।
गुलियो पेय पदार्थ कम गर्ने
मिठाईसँगै कोल्ड ड्रिंक, प्याकेटका जुस, गुलियो लस्सी र चिनी हालेको चिया वा कफी पिउने गर्दा शरीरमा चिनीको मात्रा थपिन्छ। विशेषगरी गुलियो पेय पदार्थले थोरै समयमा धेरै चिनी शरीरमा पुर्याउन सक्छ।
त्यसैले यस्ता पेय पदार्थको सट्टा सादा पानी, चिनी नहालेको पेय पदार्थ वा घरमै बनाइएको कम गुलियो पेय रोज्नु राम्रो हुन्छ।
फलफूललाई विकल्प बनाउने
मिठाई खान मन लाग्दा स्याउ, सुन्तला, अम्बा, मेवा, केराजस्ता सिंगो फलफूल खान सकिन्छ। फलफूलमा प्राकृतिक चिनीका साथै फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छन्। फाइबरले पेट भरिएको महसुस गराउन पनि सहयोग गर्छ।
तर फलफूलको जुसभन्दा सिंगो फल खानु राम्रो हुन्छ।
चिल्लो र तारेका खानेकुरा सीमित गर्ने
तिहारमा सेलरोटी, अनरसा, अरसा, फिनी, खजुरी, मासुका विभिन्न परिकार र अन्य तारेका खानेकुरा बढी खाइन्छ। यस्ता परिकारमा तेल र क्यालोरीको मात्रा बढी हुन सक्छ।
त्यसैले आवश्यकताभन्दा बढी नखाने र एउटै खानामा धेरै तारेका परिकार नराख्ने गर्नुपर्छ। र, पकाउँदा तेलको मात्रा कम गर्नुपर्छ। सम्भव भएसम्म उमालेका, उसिनेका वा कम तेलमा पकाइएका परिकार पनि खानामा समावेश गर्न सकिन्छ।
खानपानसँगै शारीरिक गतिविधि बढाउने
चाडपर्वमा आफन्तसँग भेटघाट, खानपिन र रमाइलो गर्दा शारीरिक गतिविधि कम हुन सक्छ। लामो समय बसेर खाने र आराम गर्ने बानीले शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुने सम्भावना बढाउँछ।
त्यसैले नियमित हिँडडुल गर्ने, घरायसी काममा सक्रिय रहने र सम्भव भए दैनिक केही समय व्यायाम गर्ने गर्नुपर्छ। खाना खाएपछि हल्का हिँड्नु पनि उपयोगी हुन्छ।
दाँतको सफाइमा ध्यान दिने
गुलियो खानेकुरा खाएपछि मुखमा चिनीका अवशेष रहन सक्छन्। त्यसैले मिठाई खाएपछि पानीले मुख कुल्ला गर्ने र दिनमा कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ। विशेषगरी सुत्नुअघि दाँत सफा गर्न छुटाउनु हुँदैन।
बालबालिकालाई पनि गुलियोको मात्रा सिकाउने
चाडपर्वमा बालबालिकालाई मिठाई र चकलेट धेरै दिने चलन हुन्छ। उनीहरूलाई एकै पटक धेरै मिठाई खान दिनु हुँदैन। मिठाईलाई पुरस्कार वा खुसी व्यक्त गर्ने नियमित माध्यम बनाउनु हुँदैन। घरमा मिठाई राख्दा पनि आवश्यकताभन्दा बढी उपलब्ध गराउनु हुँदैन। फलफूल तथा पोषिलो खानेकुरातर्फ आकर्षित गगर्नुपर्छ।
मधुमेह, मोटोपन वा अन्य दीर्घरोग भएका व्यक्तिले भने आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाह अनुसार खानपान मिलाउनुपर्छ।
तिहार खुसी, भेटघाट र मिठास बाँड्ने पर्व हो। तर पर्वको मिठास शरीरलाई बोझ पर्ने गरी लिनु आवश्यक छैन।
मिठाईको स्वाद लिनु र आवश्यकताभन्दा बढी खानु फरक कुरा हुन्। त्यसैले तिहारमा परिकारको विविधता र स्वादको आनन्द लिँदै मात्रा नियन्त्रण गर्न सके चाडपर्वको रमाइलोसँगै स्वास्थ्य पनि जोगाउन सकिन्छ।
(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र स्रोतहरूका आधारमा तयार पारिएको हो।)





