तिहार पर्वमा गाउँदेखि सहरसम्म स्वदेशी सयपत्री फूलले बजार र घरआँगन ढकमक्क बनेका छन् । व्यावसायिक खेती विस्तार भएपछि पछिल्ला वर्षमा तिहारका निम्ति आवश्यक फूलको ठूलो हिस्सा स्वदेशी उत्पादनले धान्दै आएको छ ।
स्वदेशी किसानलाई प्रोत्साहन र संरक्षण गर्ने उद्देश्यले सरकारले भारतीय फूलको आयातमा कडाइ गर्दै आएको छ । यही कारण प्राकृतिक तथा कृत्रिम फूलको वैध आयात घटेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३२ लाख चार हजार रुपैयाँबराबरको कृत्रिम फूल आयात गरिएको छ । सयपत्री र मखमलीबाहेक गुलाफलगायत प्राकृतिक फूल ९६ लाख ८५ हजार रुपैयाँबराबरको आयात गरिएको भन्सार विभागले जनाएको छ ।
भारतबाट फूल आयात गर्न क्वारेन्टाइन परीक्षणसहित आवश्यक मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ ।
नेपाली किसानले हाल भारतीय फूलसरह गुणस्तरीय माला उत्पादन गर्न थालेका फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव हिरामणि शर्माले बताए ।
“नेपाली किसानहरू व्यावसायिक रूपमा निकै सक्षम भइसकेका छन् । उनीहरूले भारतीय फूलसरह वा सोभन्दा पनि उच्च गुणस्तरको माला तयार पार्न थालेका छन्,” उनले भने, “फूल भारतीय हो वा नेपाली भन्ने कुरा सिमाना (बोर्डर)मा क्वारेन्टाइन र भन्सार पास भएको कागजातबाट मात्र पुष्टि हुन सक्छ ।”
सयपत्रीको माला अधिकतम १५० रुपैयाँ
यस वर्ष तिहारमा उपभोक्तालाई ठगीबाट जोगाउन एसोसिएसनले फूलको माला बिक्री मूल्य समेत निर्धारण गरेको छ । एक मिटर लामो सामान्य सयपत्री मालाको थोक मूल्य ८० देखि ९० रुपैयाँ तोकिएको छ ।
त्यसको खुद्रा मूल्य अधिकतम १५० रुपैयाँ तोकिएको छ । मखमली मालाको खुद्रा मूल्य ८० देखि १०० रुपैयाँसम्म कायम गरिएको शर्माले जानकारी दिए ।
चितवन, मकवानपुर, काभ्रे, काठमाडौं उपत्यका, दाङ, रुपन्देही, मोरङ र झापासहित मधेस प्रदेशका आठवटै जिल्लामा व्यावसायिक रूपमा सयपत्री खेती भइरहेको एसोसिएसनले जनाएको छ । सबैभन्दा बढी उत्पादन चितवनमा देखिएको छ ।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ व्यावसायिक खेतीको विस्तारसँगै नेपाल फूल उत्पादनमा क्रमशः आत्मनिर्भरतातर्फ अघि बढिरहेको बताउँछन् । आन्तरिक उत्पादनले बजारको ठूलो हिस्सा धान्न सक्षम रहेको उनको भनाइ ।
यस वर्ष तिहारका निम्ति करिब ६ लाख मखमली मालाको माग थियो । स्वदेशी उत्पादनले शतप्रतिशत माग धानेको एसोसिएसनको भनाइ छ । उत्पादित मालामध्ये चार लाखथान आन्तरिक बजारमा खपत र बाँकी विदेश निर्यात हुने अनुमान छ । दुई करोड ७० लाख रुपैयाँबराबरको मखमली मालाको कारोबार हुने अपेक्षा छ ।
यस्तै, ४५ लाख सयपत्री मालाको माग थियो । स्वदेशी उत्पादनबाट करिब ४० लाख माला आपूर्ति हुने अपेक्षा छ । यसबाट करिब ४० करोड ५० लाख रुपैयाँबराबरको कारोबार हुने अनुमान छ ।
यस वर्ष गोदावरीका २० हजार मालाको माग थियो । मिश्रित फूलका ६० हजार मालाको माग रहेको एसोसिएसनले जनाएको छ ।
व्यावसायिक फूल खेतीको विस्तारसँगै नेपाल यसको उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । विशेष गरी मखमलीमा आत्मनिर्भर भइसकेको र सयपत्रीको मागको ठूलो हिस्सा स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था बनेको एसोसिएसनले जनाएको छ ।





