पोखरा / पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई मार्न खोज्नेलाई नै टिकट दिएको बताएका छन् । उनले गगन नेतृत्वको कांग्रेस लक्षित गर्दै कांग्रेसमाथि आक्रमण गर्ने र मान्छे मार्न खोज्नेलाई नै प्रतिनिधिसभा सदस्यको टिकट दिएको बताएका हुन् ।
पोखरामा शनिबार आयोजित देउवा पक्षको कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत दोस्रो गण्डकी प्रदेश नियमित अधिवेशनको उद्घाटन सत्रमा बोल्दै देउवाले षडयन्त्रपूर्वक कांग्रेस कब्जा भएको र आफुलाई जेनजी युवाहरुले बचाएको बताएका हुन् ।
‘शेरबहादुरको घरमा हान्नुपर्छ भन्नेलाई टिकट दियो । अनि मलाई धन्नै मारिसक्न लागेको मान्छेलाई नि टिकट दियो चार नम्बर क्षेत्रमा । यो चाँही हाम्रो देशभर नेताज्युहरुको घरमा आगो लगाउने हामीलाई मार्न खोज्ने कोको छ भन्ने कुरा प्रष्ट छ’ देउवाले भने ।

सभापति देउवाले जेनजी आन्दोलनपछि मान्छेलाई कसैले मार्न खोज्दैमा नमर्ने काल आएमा मात्रै मर्ने कुरा बुझेको समेत बताए ।
‘जेन जी हरुले आरजु र मलाई बचाएका हुन् । तर, ५० कटेकाहरुले मेरो घर जाने बाटोमा सारा मान्छे बसेर सेनाले पनि हामी आउन सकेनौं भने । त्यसबेला हाम्रा साथिहरुले पनि हाम्रोमा न आइजा भन्न थाले एउटा घरमा हुन्छ आउनुस भने उ पनि डराएर बसेको’ उनले भने, ‘जेनजीहरुले मलाई बचाएका हुन् फोटोमा देखिन्छन् हेर्नुस । तर, जेनजीको नाममा ५० वर्ष माथिकाले हामीलाई हाने धेरै ठूलो सषयन्त्र थियो ल ठीक छ ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, मेरो श्रीमती मन्त्री थिइन् हाने ठीक छ, गृहमन्त्री थियो लेखक थियो हान्यो भट्टराई निवासमा किन हान्यो? विपिको बाबुको घरमा हान्यो ।’
यस्तै विशेष महाधिवेशनमा समेत किर्ते सहि गरेको आरोप लगाउँदै गगन पक्षलाई विशेष महाधिवेशनको बारेमा केहि थाहा नभएको उनको भनाइ छ ।
‘विशेष अधिवेशन गर्न पाइन्छ । ४० प्रतिशतले सहिछाप गर्नुपर्छ र सभापतिलाई लेखेर दिनुपर्छ तर, थाहै छैन । अर्को कुरा त्यो विशेष महाधिवेशनका व्यक्ति हुन की होइनन् कहाँबाट निर्वाचित भए? सनाखत पनि छैन सिग्नेचर ठीक हो की हैन त्यो पनि छैन पार्टीलाई षडयन्त्रपूर्वक कब्जा गर्ने थियो’ उनले भने ।

आफु सामान्य गाउँमा जन्मिएको व्यक्ति रहेको र बुबाले आर्मी बनाउने चाहाना राख्दा राख्दै राजनितिमा लागि जेल सजाय भोग्दै जाँदा पार्टीले ५ पटक प्रधानमन्त्री दिएको कारण पाउनु सबै पाइसक्दा अब देशलाई दिनुमात्रै रहेको उनको भनाइ थियो ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । सभापति, दुई उपसभापति, दुई महामन्त्री (खुला) र एक महिलासहित तीन सहमहामन्त्री चयन हुनेछन् । त्यस्तै, कार्यसमितिमा प्रदेशका ११ जिल्लाबाट तीनजनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी कोटाबाट १७ जना सदस्य निर्वाचित गर्नेछ ।





