संविधानमै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र किटान गरिएको छ । २०७८ सालको जनगणनामा १४२ जातजाति, मातृभाषाको संख्या १२४ र धर्मको संख्या १० छ । २ करोड ९२ लाख जनसंख्यामध्ये तराई (मधेश) मा ५३.६१ अर्थात् १ करोड ५६ लाख ३४ हजार ६, पहाडमा ४०.३१ प्रतिशत अर्थात १ करोड १७ लाख ५७ हजार ६२४ र हिमाली क्षेत्रमा ६.९८ प्रतिशत अर्थात १७ लाख ७२ हजार ९४८ जना नागरिक रहेको सो जनगणनाको हिसाब छ । बसाइँसराइमा भएको तीव्र वृद्धिका कारण पहाडी र हिमाली क्षेत्रको जनसंख्यामा ह्रास आएको अनुमान गरिए पनि माथिका तथ्यले संविधानको मुल मर्मको पुष्टि गरेका छन् । बहुजातीय र बहुधार्मिक मुलुकको संस्कृतिमा विविधता स्वभाविक हो । भौगोलिक विविधताले मधेश, पहाड र हिमाली क्षेत्रलाई पृथक बनाइदिएको छ । भौगोलिक अवस्थितिले तत् क्षेत्रका बासिन्दाको रहनसहन र संस्कृति अन्य क्षेत्रको भन्दा फरक हुनु स्वभाविक हो ।
जाडो र गर्मी ठाउँ वा पहाड र मधेशको हावापानी एकैनासको छैन र त्यसले खानपान अनि रहनसहनमा फरकपन हुनु स्वभाविक हो । भौगोलिक र धार्मिक रुपले नेपाली समाज विविधतापूर्ण भए पनि हरेक जातजातिको संस्कृतिभित्र कयौं अनुकरणीय पक्षहरु विद्यमान छन् । ती सुन्दर सांस्कृतिक पक्षलाई अन्य जातजातिले पनि स्वीकारेका छन् । नेपाल लामो समयसम्म हिन्दु अधिराज्य रह्यो । राज्यको धर्म नै हिन्दु भएपछि स्वतः हिन्दु धर्मसँग जोडिएका चाडहरु राष्ट्रिय पर्व बने । २०७२ सालको संविधानसँगै राज्यले धर्म छाड्यो । तर, त्यति बेलासम्म हिन्दु धर्मसँग जोडिएका चाड सो समुदायको मात्र नभएर सबैको बनिसकेका थिए । दसैं–तिहार लगायतका चाडहरुले राष्ट्रिय स्वरुप ग्रहण गर्नुमा त्यसको सुन्दर पक्षमात्र नभएर त्यसले ग्रहण गरेको व्यावसायिक आयातन अर्को कारण रहन पुग्यो । हिन्दु महिलाले मनाउने तीजमा चुरा–पोते जस्ता सौभाग्यका सामग्रीको व्यापार गर्ने मुस्लिम समुदाय जोडिन पुग्यो । हिन्दु धर्माबलम्बीको बाहुल्यले पनि हिन्दु चाडबाडको व्यापकतामा भरथेग ग¥यो ।
पछिल्लो समय नेपाली समाज तीव्र रुपले परिवर्तन भइरहेको छ । हिमालका मान्छे मधेश र मधेशमका मान्छे हिमाल पुगेका छन् । एउटै जात वा समुदायमात्र अमूक स्थानमा रहने हिजोको सभ्यताका आएको परिवर्तनले फरक समुदायको अस्तित्व स्वीकार उनीहरुका असल संस्कार ग्रहण गर्ने परिपाटी पनि उस्तै गरी विकास भएको छ । सूचना प्रविधिले त्यो प्रवृत्तिलाई तीव्रता दिएको छ । त्यसैले नेपाली समाज सात समुन्द्र पारीको अंग्रेजी नयाँवर्षदेखि अन्य चाडबाडमा पनि रमाउन थालेको छ । देशभित्र एउटा समुदायले मनाउने चाडबाडमा अर्को समुदाय रमाउने प्रचलनले स्वतः व्यापकता पाएको छ । सुदूर पश्चिमा मनाइने गौरा काठमाडौं र मध्यपहाडमा उक्लिएको छ । मध्य पहाडका महिलाले मनाउने तीज मधेशमा झरेको छ । हिमालमा मनाइने चाडबाड काठमाडौं अनि तराइसम्म पुगेका छन् । मधेशको छठ पहाडका खोला र पोखरीसम्म आइपुगेको छ ।
विविधतापूर्ण नेपाली समाजले अर्को संस्कृतिलाई सहज रुपले ग्रहण गर्नाले नै यी चाडले व्यापकता पाएका हुन्÷सर्वस्वीकार्य हुँदै गएका हुन् । विविधता नेपाली समाजको पहिचान हो । यसलाई हामीले जोगाउनैपर्छ । एउटा समुदायले अर्को समुदायको अस्तित्व स्वीकार्दै त्यो संस्कृतिको सम्मानले नै राष्ट्रिय एकता कायम हुन्छ । घृणा र द्वेषले समाजलाई विभाजित गर्छ भने प्रेम र सद्भाव अनि फरक विचारको स्वीकार्यताले नै समाज विविधताको रक्षा गर्छ । मधेशबाट पहाडसम्म उक्लिएको छठले दिएको सन्देश पनि यही नै हो ।





