बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३
  • २६ कार्तिक २०८३ , बिहिबार
  • November 12 2026

ऐतिहासिक ठुली एकादशीको महिमा र निरयघाट

ऐतिहासिक ठुली एकादशीको महिमा र निरयघाट

पद्मपुराणको प्रसंगअनुसार तुलसीका वृक्षमा सबै देवीदेवताको वास हुन्छ। तुलसीका पातको मध्यमा विष्णु, पातका टुप्पामा प्रजापति, डाँठमा शिव रहन्छन्।


  • राजु खड्का
  • कार्तिक २६ २०८३, बिहिबार

हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले यसलाई ठूलो एकादशी भनिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

ब्रह्मवैवर्तपुराणको आख्यानअनुसार कृष्णकी प्यारी एउटी गोपिनीलाई राधाले अर्को जन्ममा पनि मानवीरनारी भएर जन्मनुपर्ने र सुदामालाई दानव हुनुपर्ने श्राप दिएकी थिइन्। त्यसैअनुसार ती गोपिनी धर्मध्वज राजाकी पुत्री तुलसीका रूपमा र सुदामा शंखचूडका रूपमा जन्मे। उनीहरूको विवाह भयो।

शंखचूडले ब्रह्माको तपस्या गरेर पत्नीको सतीत्व नाश नभएसम्म कसैबाट नमर्ने वर पाए। उनले देवलोकमाथि पनि अधिकार जमाए। देवताहरू ब्रह्मा, विष्णु र शिवका शरणमा गए। उनीहरूको सल्लाह अनुसार विष्णुले शंखचूडको रूप लिएर तुलसीको सतीत्व भंग गर्ने र शिवजीले शंखचूडको वध गर्ने योजना बन्यो।

त्यसै अनुसार कार्य सम्पन्न गरे। पछि तुलसीले विष्णुलाई चिनेर पत्थर हुनुपर्ने श्राप दिइन्। विष्णुले तुलसीलाई लक्ष्मी समानको स्थान दिने, उनको यो शरीर गण्डकी नदी हुने र उनको केशसमूह तुलसी नामको वनस्पति हुने व्यवस्था गरे। यसरी तुलसीको उत्पत्ति भएको मानिन्छ।

पद्मपुराणको प्रसंगअनुसार तुलसीका वृक्षमा सबै देवीदेवताको वास हुन्छ। तुलसीका पातको मध्यमा विष्णु, पातका टुप्पामा प्रजापति, डाँठमा शिव रहन्छन्। तुलसीका पुष्पमा लक्ष्मी, सरस्वती, गायत्री, चण्डिका, शची आदि देवपत्नी र हाँगामा इन्द्र, अग्नि, यम, निर्ऋति, वरुण, वायु, कुबेर बस्छन्।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन बागलुङ नगरपालिका १ र ४ स्थित निरयघाट लगायतका विभिन्न ऐतिहासिक स्थलहरुमा विशेष मेला लाग्ने गर्दछन ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशी (ठूली एकादशी)को अवसरमा पवित्र कालिगण्डकीको तट निरय (पछिल्लो समय निर्णयघाट पनि भनिने) मा लाग्दै आएको ऐतिहासिक ठूली एकादशी मेलालाई यस वर्ष भव्य र सभ्य रूपमा आयोजना गर्न सबै क्षेत्रबाट आग्रह भै आएकाले मानव सेवा आश्रमका अभिभावक एवं सामाजिक सेवा क्षेत्रका व्यक्तित्वहरुको विशेष पहलमा यहि मंसिर ३, ४ र ५ गते ऐतिहासिक एकादशी मेला व्यवस्थापन समिति गठन गरिएको छ । यो बर्षको ठूली एकादशी मंसिर ४ गते परेको छ ।

यो मेलाले धर्म, सस्कार, संस्कृति, परम्पराको संरक्षणका साथै स्थानीय कला, प्रतिभा, व्यापार र आपसी सद्भाव बढाउँछ भन्ने विश्वास लिइएको छ । एकादशी महिमाको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व को प्रबद्र्धन तथा प्रचार प्रसार गर्दै एकादशीको महिमा जोगाउने र स्थानीय कला, संस्कृति, भजनको संरक्षण र प्रदर्शन गर्ने उद्धेश्य आयोजकले राखेको छ । यसैगरी स्थानीय उत्पादनको बिक्री प्रवर्द्धन गर्ने, ऐतिहासिक कालिगण्डकी नदी, निरयघाट तथा मानव सेवा आश्रमलाई देश विदेशसम्म परिचित गराउने मेलाबाट अपेक्षा लिइएको छ ।

पछिल्लो समय युवाहरुलाई नेतृत्व तथा टिममा समावेश गराई दुब्र्यसनी तथा कुलतबाट जोगाएर खेलकुदमा अग्रसर गराउने उद्धेश्य पनि आयोजकले राखेको छ ।

ऐतिहासिक एकादशी मेलाको सन्दर्भमा विशेष प्रबचन कार्यक्रम हुनेछ । सोही सन्दर्भलाई जोडेर भजन लगायतका स्थानिय लोक भाका, कला, सांस्कृतिक कार्यक्रमहरु पनि संचालन गरिने तयारी आयोजकले मिलाउदै छ । ठुली एकादशीको मुख्य विशेषता कालिगण्डकीमा तोरण तार्ने कार्यक्रम आयोजकले बनाएको छ । यो दिन विभिन्न स्थानबाट दर्शनार्थिहरुले बाजा गाजा, भजन किर्तन सहित समूह बनेर तोरण ल्याउने र निरयमा विशेष पुजा गरी तोरण बाध्ने वा तार्ने ऐतिहासिक परम्परा रहेको छ ।

ठुली एकादशीकै अवसरमा निरयमा विशेष तुलसी बिवाह कार्यक्रम संचालन हुनेछ । मानव सेवा आश्रमको पहलमा दर्शनार्थिहरुको सहयोगमा निर्मित तुलसीका मोठहरु हालै निर्माण गरिएका छन । दाताहरुकै सहभागिता र उपस्थितिमा तुलसी बिवाह कार्यक्रम राखिएको छ । सांझ कालिगण्डकी नदीमा विशेष आरति गरिने छ ।मेलाको विशेष आकर्षणका रुपमा खुल्ला पुरुष भलिबल प्रतियोगिता समावेश गरिएको छ । यो प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उप बिजेताले १ लाख, तेस्रो हुने टिमले ५० हजार तथा चौथो हुनेले २५ हजार प्राप्त गर्ने छन ।

एकादशी मेलालाई भब्य रुपमा संचालनका लागि करिब ११ लाख खर्च हुने अनुमान आयोजकको छ । मेलामा बागलुङ नगरपालिका, जलजला गाउंपालिका सहित स्थानिय सरकार, संघ,संस्था, दर्शनार्थिहरु आदीबाट सहयोग संकलन गरिने छ । यसरी संकलित रकम मध्ये मेला व्यवस्थापन समापनपछी बचत हुने रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गरिने छ । मेलामा सहभागि दर्शनार्थिहरुलाई प्रसादीको व्यवस्था आयोजकले मिलाएको छ ।

आषाढमा पर्ने हरिशयनी एकादशीमा तुलसीका बिरुवा रोप्ने विधान छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म तुलसीको सेवा गर्ने अवधि हो। आषाढमा रोपेका तुलसी हरिबोधिनी एकादशीसम्ममा वयस्क भइसक्छन्। हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गरिन्छ।

हिन्दुधर्ममा बर्ष भरीमा पर्ने २४ वटा एकादशीहरु मध्ये ठूली एकादशी अर्थात हरिबोधनी एकादशीको निकै महत्वपुर्ण महिमा छ । हरीशयनी एकादशी देखि हरीबोधनी एकादशीसम्मको ४ महिनालाई चतुर्मास भनिन्छ । चर्तुमासमा रोकिएका माङ्गलिक कार्यहरु, बिवाह, ब्रतबन्ध लगायतका शुभ कार्यहरु हरिवोधनी एकादशीदेखि शुरु हुन्छन । चतुर्मासभरि तुलसीको सेवा गर्नुलाई महान् पुण्यकर्म मानिएको छ। हरिबोधिनी एकादशीमा यिनै तुलसीलाई साजसज्जा गरेर दामोदरसँग विवाह गरिन्छ। प्रायः शालिग्रामसँग तुलसीको विवाह गरिदिइन्छ।

तुलसीको बिवाह बिष्णुको प्रतिक शालिग्रामसंग गरिने भएकाले पनि निरयमा ठूली एकादशीको पर्व मनाउनुको विशिष्ठ महत्व रहिआएको छ । जहां कालिगण्डकी र शालिग्रामको वास रहेको छ । तुलसी विष्णुप्रिया र शालिग्राम तथा पीपल विष्णुका रूप भएकाले तिनीहरूको संयोग गराउनुलाई ठुलो पुण्य मानिएको हो। कतै कतै तुलसी र पीपलको विवाह गरिदिने प्रचलन पनि छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।

यो अवसरमा सबैका घर आगनमा रहेका तुलसीको बिवाह गर्ने, लक्ष्मीनारायण तथा बिष्णुको पुजा अर्चना गर्ने गरिन्छ ।हिन्दुपरम्परामा एकादशी ब्रत र पुजाको प्रभावले पापबाट मुक्ति मिल्ने र सुश, शान्ति, मोक्ष प्राप्त हुने जनविश्वास छ । (खड्का बागलुङ नगरपालिकाका नगर उप प्रमुख एवं एकादशी मेला व्यवस्थापन समितिका संयोजक हुन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->