बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३
  • २५ कार्तिक २०८३ , बुधबार
  • November 11 2026

दाजुभाइ-दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन् ?

दाजुभाइ-दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन् ?

युवावस्थामा साथी, सहकर्मी, जीवनसाथी र छोराछोरीसँगको सम्बन्ध महत्वपूर्ण बन्छ। तर बुढ्यौलीमा छोराछोरी आफ्नै जीवनमा व्यस्त हुन सक्छन्।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८३, बुधबार

आज भाइटीका ।

दिदीबहिनी–दाजुभाइले एकअर्कालाई सप्तरंगी टीका लगाइदिन्छन्। मखमली र सयपत्रीको माला पहिर्‍याउँछन्। एकअर्काको दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्।

भाइटीकाले हरेक वर्ष दाजुभाइ–दिदीबहिनीलाई बाल्यकालका ती दिनहरूमा पनि फर्काउँछ, जब उनीहरू एउटै आँगनमा खेल्थे, सानातिना कुरामा झगडा गर्थे र केही बेरमै सबै बिर्सेर फेरि सँगै रमाउँथे।

समयसँगै जीवन बदलिन्छ।

पढाइ, जागिर, विवाह र आ–आफ्नो परिवारका कारण दाजुभाइ–दिदीबहिनी टाढिन्छन्। कोही देशभित्रै अर्को ठाउँमा पुग्छन्, कोही विदेश जान्छन्। भेटघाट पातलिन्छ। तर सँगै हुर्किएका वर्षहरू, बाँडेका सुखदुःख र बाल्यकालका सम्झनाले उनीहरूलाई जीवनभर जोडिराख्न सक्छन्।

दाजुभाइ–दिदीबहिनीको सम्बन्ध केवल रगतको नाता वा बाल्यकालको सम्झना मात्र होइन। यो मानिसको जीवनभरको भावनात्मक सहारा पनि बन्न सक्छ।

यो सम्बन्धले मानिसको जीवनमा कति गहिरो प्रभाव पार्छ भन्ने कुरा पछिल्ला वर्षहरूमा वैज्ञानिक अनुसन्धानको विषय पनि बनेको छ। विभिन्न अध्ययनले दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता र मानिसको मानसिक स्वास्थ्यबीच महत्वपूर्ण सम्बन्ध देखाएका छन्।

युवावस्थामा दाजुभाइ–दिदीबहिनीबीच राम्रो सम्बन्ध भएका व्यक्तिमा वर्षौंपछि चिन्ता र डिप्रेसनका लक्षण कम देखिएका छन्। बुढ्यौलीमा पनि आत्मीय सम्बन्ध हुनेहरूमा एक्लोपन कम पाइएको छ।

अर्थात्, भाइटीकाले सम्झाउने यो सम्बन्धको महत्व चाडपर्व र पारिवारिक परम्परामा मात्र सीमित छैन। यसको सम्बन्ध मानिसको मानसिक स्वास्थ्य र जीवनको उत्तरार्द्धमा आवश्यक पर्ने भावनात्मक सहारासँग पनि हुन सक्छ।

युवावस्थाको माया, मध्यवयको मानसिक स्वास्थ्य

सन् २०२४ मा जर्नल अफ फ्यामिली साइकोलोजीमा प्रकाशित एउटा अध्ययनले दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता र बढ्दो उमेरको मानसिक स्वास्थ्यबीच रोचक सम्बन्ध देखाएको छ।

अमेरिकाको फ्यामिली ट्रान्जिसन्स प्रोजेक्ट अन्तर्गत गरिएको यो अनुसन्धानमा सहभागीहरू १५ देखि ३१ वर्ष उमेरका हुँदा विभिन्न चरणमा उनीहरूको दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध अध्ययन गरिएको थियो। उनीहरू ४१ वर्षको उमेरमा पुग्दा मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो भन्ने पनि हेरिएको थियो।

अध्ययनको निष्कर्ष रोचक छ।

२३ वर्षको उमेरमा आफ्ना दाजुभाइ वा दिदीबहिनीप्रति बढी आत्मीयता देखाउने व्यक्तिमा ४१ वर्षको उमेरमा चिन्ताका लक्षण कम पाइयो। त्यस्तै, त्यो उमेरमा दाजुभाइ–दिदीबहिनीबाट बढी माया पाउने व्यक्तिमा पछि डिप्रेसनको लक्षण कम देखियो।

मनमुटाव र शत्रुता बढी हुने व्यक्तिमा भने पछि मानसिक स्वास्थ्य सम्बन्धी केही समस्या बढी देखियो।

यसले युवावस्थामा दाजुभाइ–दिदीबहिनीसँग कस्तो सम्बन्ध छ भन्ने कुराको महत्व त्यही उमेरमा मात्र सीमित नहुने संकेत गर्छ। त्यसको सम्बन्ध झन्डै दुई दशकपछिको मानसिक स्वास्थ्यसँग पनि हुन सक्छ।

सन् २०२५ मा सोसल साइन्स एन्ड मेडिसिनमा प्रकाशित अर्को अनुसन्धानले पनि यस्तै निष्कर्ष निकालेको छ।

अमेरिकाको एड हेल्थ परियोजनाका ५८०४ जना सहभागी यो अध्ययनमा दाजुभाइ–दिदीबहिनीका १२४४ जोडीलाई पनि समावेश गरिएको थियो।

अनुसन्धानकर्ताले किशोरावस्थामा दाजुभाइ–दिदीबहिनीबीच कति माया थियो र करिब २० वर्षपछि उनीहरूको स्वास्थ्य तथा सामाजिक जीवन कस्तो भयो भन्ने अध्ययन गरेका थिए।

आफ्ना दाजुभाइ–दिदीबहिनीलाई बढी माया गर्ने व्यक्तिमा वयस्क भएपछि निद्रा सम्बन्धी केही समस्या कम र भविष्यप्रति आशा बढी देखियो। उनीहरूमा मतदान गर्ने सम्भावना पनि बढी पाइएको थियो।

त्यस्तै, किशोरावस्थामा दाजुभाइ–दिदीबहिनीबाट बढी माया पाउने व्यक्तिमा पछि चिन्ता र डिप्रेसन हुने जोखिम कम देखियो।

तर अध्ययनमा हेरिएका अधिकांश स्वास्थ्य सूचकसँग यस्तो मायाको स्पष्ट सम्बन्ध भेटिएन।

त्यसैले यी अनुसन्धानबाट दाजुभाइ–दिदीबहिनीबीचको मायाले नै मानसिक स्वास्थ्य राम्रो बनाउँछ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर उनीहरूबीचको आत्मीयता पछिल्लो जीवनका केही महत्वपूर्ण मानसिक र सामाजिक अवस्थासँग जोडिएको देखिन्छ।

यो निष्कर्षले परिवारभित्रको सम्बन्धलाई हेर्ने हाम्रो दृष्टिकोणमा एउटा महत्वपूर्ण कुरा थप्छ।

हामी प्रायः बालबालिकाको राम्रो भविष्यका लागि शिक्षा, पोषण र आर्थिक सुरक्षाको कुरा गर्छौं। आमाबुबाले दिने माया र हेरचाहको महत्व पनि बुझ्छौं। तर एउटै घरमा हुर्किने दाजुभाइ–दिदीबहिनीले एकअर्कालाई दिने माया र भावनात्मक सुरक्षाको महत्वबारे त्यति धेरै चर्चा गर्दैनौं।

यी अनुसन्धानले त्यसतर्फ पनि ध्यान दिनुपर्ने देखाएका छन्।

बुढ्यौलीमा एक्लोपन घटाउने आत्मीयता

उमेरसँगै मानिसका सम्बन्ध र जिम्मेवारी बदलिन्छन्।

युवावस्थामा साथी, सहकर्मी, जीवनसाथी र छोराछोरीसँगको सम्बन्ध महत्वपूर्ण बन्छ। तर बुढ्यौलीमा छोराछोरी आफ्नै जीवनमा व्यस्त हुन सक्छन्। साथीहरू टाढिन्छन्। कतिपयले जीवनसाथी गुमाउँछन्।

यस्तो समयमा दाजुभाइ–दिदीबहिनीको आत्मीयता विशेष सहारा बन्न सक्छ।

यस विषयमा सन् २०२० मा जर्नल अफ फ्यामिली साइकोलोजीमा प्रकाशित अनुसन्धानले औसत ६४ वर्ष उमेरका ६०८ जना अमेरिकी नागरिकको दाजुभाइ–दिदीबहिनीसँगको सम्बन्ध, एक्लोपन र मानसिक अवस्थाको अध्ययन गरेको थियो।

अध्ययनमा दाजुभाइ-दिदीबहिनीबीच बढी आत्मीयता भएकाहरूमा एक्लोपनको समस्या कम देखियो।

अर्कोतर्फ, दाजुभाइ–दिदीबहिनीबीच झगडा र मनमुटाव बढी हुने, आरिस गर्ने जस्ता नकारात्मक व्यवहार भएका व्यक्तिहरूमा एक्लोपन, चिन्ता र डिप्रेसनका लक्षण बढी भएको पाइयो।

बुढ्यौलीमा दाजुभाइ-दिदीबहिनीसँगको राम्रो सम्बन्धले मानिसलाई आफू एक्लो छैन भन्ने अनुभूति दिने निष्कर्ष पनि अनुसन्धानकर्ताहरूले निकाले।

तर सबै सम्बन्ध आत्मीय नहुन सक्छ। कतिपय परिवारमा सम्पत्ति, आमाबुबाको हेरचाह, पारिवारिक जिम्मेवारी वा पुराना असमझदारीलाई लिएर विवाद हुन्छ। यस्तो सम्बन्ध सहारा बन्नुको साटो तनावको कारण बन्न सक्छ।

सन् २०२५ को जर्नल अफ सोसल एन्ड पर्सनल रिलेसनसिप्समा प्रकाशित अर्को अध्ययनले यही पक्षलाई हेरेको थियो।

औसत ६५ वर्ष उमेरका ७०२ जनामाथि गरिएको अनुसन्धानमा दाजुभाइ–दिदीबहिनीप्रति माया र असन्तुष्टि दुवै मिसिएको भावना बढी हुने व्यक्तिको मनोवैज्ञानिक अवस्था कमजोर देखियो।

यी अध्ययनको साझा सन्देश छ— दाजुभाइ–दिदीबहिनी हुनु मात्र पर्याप्त छैन। उनीहरूबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।

माया, विश्वास, सम्मान र सहयोगले भरिएको सम्बन्ध मानिसका लागि सहारा बन्न सक्छ। तर लामो समयदेखिको मनमुटाव र अपमानले त्यही सम्बन्धलाई तनावको स्रोत बनाउन सक्छ।

दाजुभाइ–दिदीबहिनीबीच कहिल्यै झगडा हुनु हुँदैन भन्ने त हुँदै होइन। बाल्यकालमा खेलौना खोसाखोस गर्नेदेखि आफ्नो कुरा मनाउन खोज्नेसम्मका घटना सामान्य हुन्। तर त्यही क्रममा उनीहरूले बाँड्न, मिलेर बस्न, अरूको कुरा सुन्न र मतभेदपछि फेरि सम्बन्ध जोड्न पनि सिक्न सक्छन्।

उमेर बढ्दै गएपछि भने एकअर्काको बदलिएको जीवन, विचार, जिम्मेवारी र व्यक्तिगत सीमाको सम्मान गर्न आवश्यक हुन्छ। आत्मीयताको अर्थ सबै कुरामा सहमत हुनु वा जस्तोसुकै व्यवहार सहनु होइन।

यी अनुसन्धान अमेरिकी समाजमा गरिएका हुन्। त्यसैले तिनका निष्कर्ष नेपाली परिवारमा पनि ठ्याक्कै उस्तै लागू हुन्छन् भन्न मिल्दैन।

तर ती अध्ययनले उठाएको मूल प्रश्न नेपाली समाजका लागि पनि सान्दर्भिक छ—\-हामीले आफ्ना दाजुभाइ-दिदीबहिनीसँग कस्तो सम्बन्ध बनाएका छौं र त्यसलाई कसरी जोगाइरहेका छौं?

नेपालमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयतालाई विशेष महत्व दिने सांस्कृतिक परम्परा नै छ। भाइटीका त्यसैको उदाहरण हो।

यो पर्वले टाढा भएका दाजुभाइ–दिदीबहिनीलाई भेट्ने अवसर दिन्छ। बाल्यकालका सम्झना ताजा बनाउँछ। एकअर्काप्रतिको माया र सम्मान व्यक्त गर्ने मौका दिन्छ।

तर सम्बन्धको वास्तविक महत्व वर्षमा एक दिन टीका लगाउनुमा मात्र छैन।

टाढा हुँदा गरिने एउटा फोन, दुःख पर्दा दिइने साथ, खुसीका क्षणमा बाँडिने हाँसो र अप्ठ्यारोमा सुनिदिने मनले सम्बन्धलाई जीवन्त राख्छन्।

आज टीका लगाउने दाजुभाइ–दिदीबहिनी भोलि जीवनका फरक बाटामा पुग्न सक्छन्। तर बाल्यकालदेखि जोडिएको माया र अपनत्व जोगाउन सके उनीहरू जीवनभर एकअर्काको सहारा बन्न सक्छन्!

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको सामग्री।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->