काठमाडौ / मुगुको सोरु गाउँपालिकामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएका छन ।
मंगलबार दिउँसो करिब १२ बजेर ५० मिनेटमा सोरु गाउँपालिका–६ स्थित गजेडी झ्यालेखोलाको भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको हो ।
सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरी चौकी सोरुबर्माले जानकारी दिएको छ ।
जिपमा सवार १२ जनामध्ये पाँच जना घाइते भएका छन् । दुर्घटनामा सोरु गाउँपालिका–९ कालै बस्ने १९ वर्षीय गणेश ऐडीको टाउको र निधारमा गहिरो चोट लागेको छ । बोल्न नसक्ने अवस्थामा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, जिप चालक खत्याड गाउँपालिका–७ बस्ने २९ वर्षीय उपेन्द्र परियारको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने सोरु–९ कालैकी १६ वर्षीया निर्मला ऐडीको कुम र छातीमा चोट लागेको छ । उनीहरू दुवैको अवस्था मध्यम रहेको छ । सोही ठाउँकी १७ वर्षीया करिस्मा ऐडी (कम्मर र छातीमा चोट) र १९ वर्षीय अन्तिम योगी (टाउको र बायाँ खुट्टामा चोट) को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।





