बागलुङ / नेपाल संवत् ११४७ को स्वागत तथा नयाँ वर्षको अवसरमा बागलुङमा शुभकामना मोटरसाइकल र्याली भएको छ । नेपाल भाषा मंकाः खल बागलुङको आयोजनामा तथा बागलुङ जेसीज र नेवा ल्याम्ह पुच बागलुङको संयोजनमा कार्तिक २३ गते बिहान मोटरसाइकल र्याली निकालिएको हो ।
लोकतान्त्रिक चोकबाट सुरु भएको र्यालीले बजारका विभिन्न चोक तथा क्षेत्रको परिक्रमा गरेको थियो । नेपाल संवत् को स्वागत, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नेवारी भाषा, कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम नेपाल भाषा मंकाः खल बागलुङका अध्यक्ष तथा मूल समारोहका संयोजक जयराम भारीको अध्यक्षता र सचिव सुदीप राजभण्डारीको सञ्चालनमा भएको थियो ।

साथै, नेपाल संवत् ११४७ को मूल समारोह कार्तिक २४ गते आयोजना हुँदैछ । बिहान ११ बजे नारायण चोकबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालेर हाडेपाखास्थित झिं छेमा मूल समारोह गरिने आयोजक समितिले जनाएको छ ।
मूल समारोहमा नेवारी भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाल संवत् को ऐतिहासिक महत्त्वबारे चर्चा गरिनेछ ।
साथै, नेवारी भवन ‘झिं छे’ पूर्णनिर्माणका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ । बागलुङमा नेपाल संवत् भव्य रूपमा मनाउन नेपाल भाषा मंकाः खल बागलुङका अध्यक्ष जयराम भारीको मूल संयोजकत्वमा समारोह समिति गठन गरिएको छ ।
समितिको सहसंयोजकमा शंखधर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष युक्तजंग राजभण्डारी, नेवा मिसा दबूकी अध्यक्ष अर्चना पालिखे, नेवा ल्याम्ह पुचका अध्यक्ष जय राजभण्डारी र शाक्य कल्याण समाजका अध्यक्ष बाबुलाल शाक्य रहेका छन् । आयोजकले नेपाल संवत् ११४७ को अवसरमा आयोजित मूल समारोहमा सहभागी भई नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक उत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।





